निकास निकाल्न शनिबार कांग्रेस बैठक

|

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दुई वर्षे कार्यकाल सकिन दुई दिन मात्र बाँकी छ। नेविसंघको कार्यकाल गत भदौ २ गते नै सकिएको हो। तर विधानमा उल्लेख भएको व्यवस्थाको सदुपयोग गर्दै मंसिर दुई गतेसम्म समय अवधि थपिएको थियो। उक्त अवधिमा पनि नेविसंघको महाधिवेशन नहुने भएपछि अब नेविसंघ के हुने भन्ने दुविधा बढेको छ। 

विधानत् नेविसंघ अब आइतबारबाट स्वतः विघटन हुन्छ। त्यसपछि के गर्ने भन्ने निर्णय पार्टीले लिनुपर्ने हुन्छ। नेविसंघलाई अब कसरी अघि बढाउने भन्ने विषयमा कांग्रेसले शनिबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। उक्त बैठकमा नेविसंघलाई अब कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन्। 

तर नेविसंघका नेताहरूले भने नेविसंघलाई विघटन गर्न नहुने तर्क राख्दै आएका छन्। आफूहरूका कारण नभई पार्टी कै कारण संगठनको महाधिवेशन हुन नसकेको भन्दै उनीहरूले नेविसंघको महाधिवेशन यही समितिले गर्नुपर्ने माग गर्दै आएका छन्। ‘हाम्रा कारण महाधिवेशन नभएको होइन’, नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले भन्छन्, ‘नेविसंघ पार्टीको विवादको सिकार भयो। विधान रोकिदियो र महाधिवेशन गर्न सकेनौँ। त्यसकारण यो समितिकै कार्यकाल थप्नुपर्छ र हामी महाधिवेशन पनि गरेर देखाउँछौँ।’

नेविसंघको कार्यकाल थप्ने विषयमा अध्यक्ष नैनसिंह महरको पनि धारण काफ्लेको जस्तै छ। ‘नेविसंघमा महाधिवेशनको विकल्प महाधिवेशन मात्रै हो। हामी निर्वाचित समिति हो। निर्वाचित समितिले निर्वाचित समितिलाई नै संगठन हस्तान्तरण गर्छ’, अध्यक्ष महरले भने, ‘पार्टीले भोलि यही निर्णय गर्छ भन्ने हाम्रो विश्वास छ।’
अहिले नेविसंघमा दुई विकल्प बाँकी छ। पहिलो विकल्प नेविसंघ विघटन गर्ने र तदर्थ समिति बनाउने। त्यस्तै अर्को विकल्प केन्द्रीय समितिबाट यो समितिको महाधिवेशनसम्मका लागि कार्यकाल थप्ने। नेविसंघको यो समितिको कार्यकाल थप्ने गरी तयारी भइरहेको कांग्रेस स्रोतले जनाएको छ। तर यसै भन्न नसकिने कांग्रेस प्रवक्ता शर्मा बताउँछन्। 

‘यो विषयमा निर्णय गर्नका लागि नेताहरू छलफलमा हुनुहुन्छ। बैठकअघि केही भन्न सकिन्न’, उनले भने, ‘तर अब दुई विकल्पअघि छन्। कार्यकाल सकिएपछि नेविसंघ भ्याकुममा रहन्छ। खाली भएको ठाउँमा अर्को भर्न पनि सकिन्छ। जसले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सकिएको तीन महिनाभित्र महाधिवेशन गर्छ वा दुई वर्षे कार्यकाल भएको विधानको धारालाई पार्टी निलम्बन गरेर स्ववियुपछि महाधिवेशन गर्ने सर्तमा यही समितिलाई निरन्तरता दिन पनि सकिन्छ।’

पार्टी जसरी अघि बढे पनि नेविसंघको महाधिवेशन गर्नै पर्ने विद्यार्थी नेता सुशील भट्ट बताउँछन्। ‘यसअघि पनि ६ महिनाका लागि बनाइएको समितिले छ वर्षमा मात्र महाधिवेशन गरेको हामीलाई थाहै छ’, उनले भने, ‘अब यस्तो हुनुहुँदैन। भोलिको बैठकमा पार्टीले नेविसंघको महाधिवेशन समयमै हुने गरी निर्णय गर्नुपर्छ।’

शनिबार बस्ने बैठकमा पनि पार्टीका संस्थापन समूह र संस्थापनइतरका समूहबीच विवाद देखिने सम्भावना छ। यसअघि कांग्रेसका चार शीर्ष नेताहरूले नेविसंघको विधान पार्टीले गलत प्रक्रियाबाट ल्याएर बहुमतको पारित गरेको भन्दै फरक मत राखेका थिए। नेविसंघमा विशेष गरेर उमेर हदमा विवाद देखिएको छ। 
शीर्ष चार नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुनरसिंह केसीले बैठकमा गलत प्रक्रियाबाट विधान प्रस्तुत गरिएको भन्दै ‘नोट अफ डिसेन्ट’ लेखे पनि मुख्य विवाद भने उमेर हद कायम गरिएको मै रहेको स्रोतले बताएको छ। 

सभापति शेरबहादुर देउवा समूहले बहुमतको बलमा नेविसंघमा ३२ वर्षे उमेर हद लगाउँदै आंशिक रूपमा विधान पारित गरेपछि नेताहरू संस्थापनइतर असन्तुष्ट छन्। उनीहरूले उक्त विधानलाई विधिसंवत् ल्याए मात्र पारित गर्ने बताउँदै आएका छन्। शनिबारको केन्द्रीय समिति बैठकमा पनि यही रणनीति अपनाउने उनीहरूको  भनाइ छ। 

तर संस्थापन समूह भने असोज २१ को बैठकले पारित गरेको विधानलाई पुनः छलफलमा ल्याउने पक्षमा छैन। ‘उमेर हद लगाएर पारित भएको विधान नौलो हैन। नेविसंघको ११ औँ महाधिवेशनले पारित गरिसकेको हो’, प्रवक्ता शर्माले भने,‘ त्यो अब पारित भइसक्यो। भोलि छलफलमा आउँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.