|

काठमाडौं : महासमिति बैठक नजिकिएसँगै नेपाली कांग्रेसका युवा नेताहरू सक्रिय भएका छन्। पार्टीको नेतृत्व तहमा हस्तक्षेप गर्न सक्ने भूमिका खोज्दै आएका युवा नेताहरू महासमिति बैठक नजिकिएसँगै सक्रिय भएका हुन्।

उनीहरू महासमिति बैठकमा अब कसरी प्रस्तुत हुने भन्नेबारे धारणा तय गर्न गोप्य छलफलमा जुटेका छन्। पछिल्लो केही दिनमै दुई पटक उनीहरू छलफलमा जुटेका हुन्। शुक्रबार पनि कांग्रेसका आठ युवा नेताहरू छलफलमा जुटे। उक्त छलफल महासमिति बैठकबारे केन्द्रित थियो।

युवा नेताहरूले महासमिति बैठकमा आफूहरूले पार्टी समक्ष पेस गरेको प्रतिवेदन प्रस्तुत नगरिए आफैँ प्रस्तुत गर्ने निष्कर्ष निकालेका छन्।

‘पार्टी सुधारका निम्ति’ भन्दै गत चैत र बैशाखमा पार्टीको केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदन महासमिति बैठकमा प्रस्तुत नगरे युवा नेताहरूले आफैँ प्रस्तुत गर्ने निष्कर्ष निकालेका हुन्।

शुक्रबार तीनकुनेस्थित सिद्धार्थ कटेजमा बसेको युवा नेताहरूको बैठकमा पार्टीले बनाएको समितिले कस्तो प्रतिवेदन ल्याउँछ भन्ने अध्ययन गरेर महासमिति बैठकमा आफूहरू कसरी प्रस्तुत हुने भन्ने तय गर्ने निर्णय गरेको युवा नेता गुरुराज घिमिरेले जानकारी दिए।

‘हामीले यसअघि पार्टीलाई दिएको प्रस्तावलाई पार्टीले कसरी ल्याउँछ? पहिला अध्ययन गर्छौँ’, उनले भने, ‘पार्टीले बनाएको समितिले कति कुरा समेटेर ल्याउँछ। यो विषयलाई केन्द्रीय समिति बैठकमा पनि छलफलमा ल्याउँछौँ। चित्त बुझेन भने महासमितिमा हामी आफैँ प्रस्तुत गर्छौं।’

यसअघि कांग्रेसका युवा नेताहरूले ५१ पृष्ठ लामो प्रतिवेदन निर्वाचनको समीक्षाका लागि बसेको केन्द्रीय समितिको बैठकमा पेस गरेका थिए। यस्तै, तीन प्रस्ताव अघि सार्दै युवा नेताहरूले गत असारमा हेटौँडामा भएको जिल्ला सभापतिहरूको भेलामा समेत जिल्ला सभापतिलाई पत्र लेखेका थिए। उक्त पत्रमा उनीहरूले आगामी महाधिवेशनमा पार्टी नेतृत्व चयन गर्दा ध्यान दिनसमेत आग्रह गरेका थिए।

यस्तै, केन्द्रीय समिति बैठकमा बुझाइएको ५१ पृष्ठ लामो प्रतिवेदनमा हारका कारणदेखि इतिहासको समीक्षासमेत गरिएको थियो। उक्त प्रतिवेदनमा कांग्रेसको हारको कारण टिकट वितरणमा भएको मनोमानी, आन्तरिक र सांगठनिक कारण, दुई ठूला कम्युनिस्टको एकतालगायत विषय समेटिएको थियो।

युवा नेताहरूले कांग्रेसको इतिहास, २०४८ देखि हालसम्मको सरकारको समीक्षा, निर्वाचनको समीक्षालगायत विषय उल्लेख गर्दै पार्टी केन्द्रलाई प्रतिवेदन बुझाएका थिए। यी विषयलाई पार्टीले महासमिति बैठकमा कसरी प्रस्तुत गर्छ भन्ने हेरेर आफूहरू अघि बढ्ने निष्कर्षमा पुगेको युवा नेता घिमिरेले बताए।

युवा नेताहरूले अब लोकतान्त्रिक समाजवादलाई पनि पुनव्र्याख्या गरेर छलफलमा लैजाने निष्कर्ष निकालेको घिमिरेले जानकारी दिए। युवा नेताहरूले यसअघि पार्टीभित्र ‘अर्ली’ महाधिवेशनको माग गर्दै आएका थिए। तर अहिले भने उनीहरूले समयमा महाधिवेशनको माग गर्ने निष्कर्ष निकालेको नेता घिमिरेले बताए। ‘अहिलेको प्राथमिकता भनेको समयमा महाधिवेशन गर्नुपर्छ भन्ने हो’, उनले भने, ‘यसलाई हामी केन्द्रीय समिति र महासमितिमा पनि उठाउँछौँ।’

कांग्रेसमा अहिले निकै तातेको विषय भनेको नेविसंघको महाधिवेशन हो। मंसिर २ गते अर्थात् आइतबार कांग्रेसको भ्रातृ संगठन नेविसंघको दुई वर्षे कार्यकाल सकिँदै छ। अब नेविसंघलाई कसरी अघि बढाउने भन्ने विषयमा भने युवाहरूको तीन घण्टा लामो छलफलमा खासै कुरा भएन। तर उनीहरूले यो विषयलाई शनिबार बस्ने केन्द्रीय समिति बैठकभन्दा अघि नै टुंगो लगाउने निर्णय गरेको छ।

‘नेविसंघको विषयमा गम्भीर रूपमा छलफल हुन पाएन’, नेता घिमिरेले भने, ‘तर यो विषयलाई भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकभन्दा अघि टुंग्याएर एकै धारणा बनाएर बैठकमा जाने कुरा भएको छ। हामीबीचमा कुनै पनि विषयमा विवाद हुँदैन। हामी सल्लाह गरेर साझा धारणा बनाएरै अघि बढ्छौँ।’

नेविसंघका विषयमा उनीहरूले अब विधानअनुसार नै अघि बढ्नुपर्ने गरी छलफल अघि बढाएका छन्। ‘नेविसंघलाई अब विधानअनुसार नै अघि लैजानुपर्छ भन्ने हाम्रो कुरा हो। तर अब अर्को समिति बनाएर कति जान्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ’, उनले भने, ‘यसअघि छ महिनाका लागि बनाएको समिति पनि चार वर्ष गएको हो। अब यस्तो नहोस्।’

यस्तै, युवानेताहरूबीच पार्टीको सैद्धान्तिक, आर्थिक–सामाजिकल आन्दोलनलाई लिएर अभियन चलाउनेबारेमा समेत छलफल भइरहेका अर्का युवा नेता प्रदीप पौडेलले बताए।

बैठकमा चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, बद्रीप्रसाद पाण्डे, जीवन परियार, रामकृष्ण यादव र कमला पन्त सहभागी थिए। युवा नेता प्रदीप पौडेल भने छलफलमा सहभागी भएनन्। उनी पोखराबाट ढिलो आएका कारण बैठक सकिएपछि सिद्धार्थ कटेजमा पुगेर नेताहरूलाई भेट गरेको नेता घिमिरेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.