नवलपरासी : स्थानीय स्तरमा लाग्ने मेला तथा महोत्सवहरू स्थानीय स्तरको पूँजीलाई बाहिर पठाउने माध्यम बन्दै गएको प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले बताएका छन्। तेश्रो बर्दघाट कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन्।
मुख्यमन्त्री पोखरेलले मेला महोत्सवले स्थानीय स्तरका उत्पादन तथा स्थानीयस्तरका हरेक क्षेत्रको प्रवर्द्धन गर्नुपर्नेमा व्यापार गर्ने माध्यम मात्र बनेको समेत बताए। स्थानीय सामान खरिद बिक्री गर्ने माध्यम मेला तथा महोत्सव भए पनि पछिल्ला दिनमा स्थानीयले आफ्नो खल्तीमा भएको पैसा बाहिरबाट आएका व्यापारीहरूलाई बुझाउने काम भएको उनले बताए।
मुख्यमन्त्री पोखरेलले उद्योग वाणिज्य संघहरू खुद्रा पसलहरूको संगठन मात्र बनेको भन्दै उद्यमशिल र उत्पादनमुखी ढाँचाबाट व्यवसाय सञ्चालन गर्न उद्योग वाणिज्य संघलाई सुझावसमेत दिए।
उद्घाटन सत्रमा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्माले बर्दघाट नगरपालिका कृषि, पर्यटनको प्रचुर सम्भावना रहेको र अब उद्योग कलकारखाना स्थापित गरी समृद्ध नगर बनाउनु पर्नेमा जोड दिए।
बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष मीनराज शर्माले जारी मेलाको माध्यमबाट बर्दघाट क्षेत्रमा व्यवसायिक तथा औद्योगिक विकासमा सहयोग पुग्ने बताउँदै महोत्सवलाई साझा बनाउनु पर्ने बताए।
स्थानीय व्यापार, पर्यटन, कृषिसहित स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक बर्दघाट उद्योग वाणिज्य संघले जनाएको छ। बर्दघाट नगरपालिका २ चिसापानीमा सञ्चालित मेलामा बाल उद्यान, स्थानीय उत्पादन, विभिन्न घरेलु उत्पादनका प्रदर्शनीलगायत २१४ स्टल रहेको बर्दघाट उद्योग वाणिज्य संघका महासचिव लेखनाथ न्यौपानेले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।