जनप्रतिनिधिसमेत असुरक्षित

|

ओखलढुंगा : ओखलढुंगाका ५ स्थानीय तहका केन्द्रमा अझै प्रहरी चौकी स्थापना हुन सकेको छैन। जिल्लाका ८ स्थानीय तहमै प्रहरी चौकी भए पनि स्थानीय तहका केन्द्रमा प्रहरी चौकी नहुँदा समस्या भएको हो। स्थानीय तहका केन्द्रमा  प्रहरी चौकी नभए पनि सुरक्षा चुनौती भने नरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माको भनाइ छ।

स्थानीय तहहरूले  सुरक्षा माग गरी आएमा गृह मन्त्रालयमा सुरक्षा माग गरी पठाइने र जिल्लामा भएको परिपूर्तिअनुसार स्थानीय तहको केन्द्रमा सुरक्षा पोष्ट स्थापना गर्न सकिने शर्मा बताउँछन्। जिल्लाको लिखु गाउँपालिकाको केन्द्र यसम, मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चा, सुनकोसी गाउँपालिकाको केन्द्र मूलखर्क, चम्पादेवी गाउँपालिकाको केन्द्र ताप्केडाँडा र चिशंखुगढी गाउँपालिकाको केन्द्र सेर्नामा प्रहरी चौकी नभएको प्रहरी नायब उपरीक्षक शर्माले बताए।

उपरीक्षक शर्माका अनुसार ओखलढुंगाका ८ स्थानीय तहमध्ये प्रहरी चौकी नभएका स्थानीय तह लिखु गाउँपालिकाको केन्द्रमा गाम्नाङटार प्रहरी चौकी, चम्पादेवी गाउँपालिकाको केन्द्रमा घोराखोरी र पलापु प्रहरी चौकी, मोलुङ गाउँपालिकामा इलाका प्रहरी कार्यालय रामपुर, सुनकोसी गाउँपालिकामा कोशाहाट प्रहरी चौकी र चिशंखुगढी गाउँपालिकालाई खानीभञ्ज्याङ प्रहरी चौकीले सुरक्षा दिइरहेको छ। स्थानीय तहका केन्द्रमा प्रहरी नहुँदा नजिकका प्रहरी चौकीबाट धाउनुपर्दा नियमित सुरक्षा दिनका लागि प्रहरीलाई समस्या हुँदै आएको नायब उपरीक्षक शर्मा स्वीकार्छन्।

जनप्रतिनिधिसमेत असुरक्षित

जिल्लाका सिद्धिचरण नगरपालिकाको केन्द्र ओखलढुंगा सदरमुकाममा जिल्ला प्रहरी कार्यालय, खिजिदेम्बा गाउँपालिकाको केन्द्र खिजिफलाटेमा इलाका प्रहरी कार्यालय र मानेभञ्ज्याङ गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङमा प्रहरी चौकी रहेको छ।

प्रहरी चौकी नभएका केन्द्रहरुमा नजिकका चौकीहरुबाट धाउनुपर्ने भएका कारण स्थानीय तहमा प्रहरी चौकी नभएको फाइदा लुट्दै ०७४ फागुनमा अज्ञात समूहले लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेलमाथि सांघातिक हमलासमेत गरेको थियो। गाउँपालिकाका केन्द्रलाई सुरक्षा दिनका लागि जिल्लामा ४० जना जनशक्ति आवश्यक रहेको भए पनि जिल्लामा खाली रहेको दरबन्दी पूरा नहुँदा समस्या रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.