|

पर्वत : ‘पहिले केही थाहा भएन, न कोही किन्न आए, लप्सीका बोट काटेर दाउरा बालियो। फलेको लप्सी झरेर धान काट्नै नमिल्ने, पाखाभरी कुहिएका लप्सी हुन्थे। आजभोलि अलीअली भए नि खर्च टरेको छ। नुन तेल बेसाउन हुन्छ।’ जिल्लाको लिमिठानाका नरहरी पौडेलको यो भनाइले लप्सीको महत्व बुझेपछि यसबाटै केही आम्दानी गर्दै गरेका कृषकहरुको प्रतिनिधित्व गर्छ। 

पौडेलजस्तै कुश्मा नगरपालिका २ खुरकोटका हरिप्रसाद सुवेदीको खेतमा रहेका लप्सीका बोटमा लटरम्म फल्ने झरेर सकिने गरेको थियो। तर आजभोलि लप्सीले राम्रो बजार पाउन थालेपछि उनले लप्सीलाई समयमै टिप्छन्। किन्ने व्यापारीहरु घरमै पुगेर किन्छन्। खेरजाने गरेको लप्सीले सामान्य घरखर्ची धान्न सजिलो भएको उनको भनाइ छ। ‘लप्सी बेचेर ठूलै आम्दानी नभए पनि सामान्य खर्च धान्न राम्रो छ। खेतमा झरेर जाने गरेको लप्सी बेचेर जति आए नि राम्रै भो।’ अघिल्लो प्रतिकिलो २५ रुपैयाँका दरले लप्सी बेचेर १८ हजार रुपैयाँ कमाएका उनले यस वर्ष २३ हजार रुपैयाँको लप्सी बेचेका छन्। 

पौडेल र सुवेदी जस्तै पर्वतका ठूलीपोखरी, शंकरपोखरी, भंगरा, मडिकुवा, ठानामौला, लिमिठाना, फलेवास, कुर्घा, खानीगाउँ लगायतका क्षेत्रका कृषकहरूको खेतबारी र पाखामा यतिबेला लप्सी झार्ने र बेच्ने चटारो छ। केही वर्ष अगाडिसम्म पर्वतका धेरै ठाउँमा पाइने लप्सी बोटबाटै झरेर कुहिने गरेको थियो। तर, लप्सीबाट बनाइने विभिन्न परिकारको बारेमा थाहा पाउँदै जान थालेपछि खेरजाने गरेको लप्सी आम्दानीको स्रोत बन्दै गएको छ। 

पर्वतमा फल्ने गरेको लप्सी अन्यत्र जिल्लाको तुलनामा राम्रो भएका कारण सजिलै बजार पाउने गरेको व्यापारीहरू बताउँछन्। त्यही कारण पनि जिल्लाका स्थानीय व्यापारीबाहेक पोखरा, नारायणगढ, दमौली सम्मका व्यापारीहरू पनि पर्वतका लप्सी फल्ने गाउँमा भेटिन्छन्। बोटबाटै लप्सी खरिद गरेपछि अहिले लप्सी झारेर लैजानको लागि नारायणगढबाट फलेवास पुगेका खिलप्रसाद शर्मा भन्छन्, ‘अरू जिल्लाको धेरैजसो लप्सी हाडे छ, तिनमा गुदी कम हुने, बियाँ ठुलो हुने भएका कारण प्रशोधन गर्दा घाटा हुन्छ। तर, पर्वतको लप्सी बोसे छ, साना बियाँ, ठूलो दाना र धेरै गुदी भएकोले माग पनि राम्रो छ।’

जिल्लाको फलेवास नगरपालिका ४ मुडिकुवाका थानेश्वर भुषालले गाउँमा नै सामुदायिक खाद्य प्रशोधन स्थापना गरेर गाउँभरीकै लप्सी खरीद गर्न थालेपछि मात्र पर्वतको लप्सीले बजार पाउन थालेको हो। भुसालले लप्सीबाट जाम, तितौरा, अमिलो, माडा, क्याण्डी लगायतका दर्जनौँ परिकार तयार पारेर स्वदेश विदेशसम्म निर्यात गर्दै आएका छन्।

‘पहिले पर्वतको लप्सीको त्यति चर्चा थिएन, गाउँ-गाउँमा पुगेर सबै लप्सी मैले एक्लै खरिद गर्न थालेपछि महत्व बढेको हो’ भुसालले भने। उनले अघिल्लो वर्ष प्रशोधनपछि ४० टन परिकार उत्पादन गरिएकोमा यसवर्ष ६० टन उत्पादन गर्ने लक्ष्य राखेका छन्। अघिल्लो वर्षको ४० टनमध्ये १० टन उत्पादन त अमेरिकामा मात्र निर्यात भएको थियो।  व्यपारीहरुले लप्सी बाटबाटै करिब २५ देखि ३० रुपैयाँको दरमा खरिद गर्ने गरेका छन्। पर्वतमा वार्षिक करिब १४ हजार मेट्रिक टन लप्सी उत्पादन हुने गरेको अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.