|

बाँके : किनमेलका लागि बजार आउँदा नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरका जितु नेपाललाई सधैँ एउटै चिन्ता हुन्थ्यो शौच कहाँ गर्ने? नेपालगन्जका अति ब्यस्त बजारमा समेत सार्वजनिक शौचालय नभएका कारण किनमेलका लागि बजार आउँदा उनलाई सँधै शौच गर्ने समस्याले झस्काउने गरेको थियो, तर अव भने किनमेलका लागि बजार आउने सर्वसाधारणलाई शौच गर्ने समस्या नहुने भएको छ। 

नेपालगन्ज उपमहानगरपालिकाले ५९ लाखको लागतमा चार वटा घुम्ती शौचालय खरिद गरेर नेपालगन्ज ल्याएको छ। शौचालयमा हुने सम्पूर्ण सुविधा भएको उक्त घुम्ती शौचालयलाई नेपालगन्जका अति ब्यस्त बजार क्षेत्रमा राखिने भएको छ। नेपालगन्ज उपमहानगरपालिकाका अनुसार, घुम्ती शौचालयलाई आवश्यकता अनुसार त्रिभुवनचोक, धम्बोझी चोक, विपी चोक, न्यूरोड लगायत क्षेत्रमा सार्वजनिक शौचालय राख्ने योजना छ। ‘नगरका विभिन्न स्थानमा डुलाउने योजना छ। तर जहाँ बढी भिडभाड हुन्छ त्यहाँ अलि धेरैबेर राखिने छ,’ नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले भने। 

सार्वजनिक शौचालय नहुँदा स्थानीय र आगन्तुकले सास्ती खेप्न नपर्ने उनले बताए । उनले घुम्ती शौचालयले सार्वजनिक शौचालयको समस्या हट्ने आशा गरेका छन्। यसको सञ्चालन कसरी गर्ने भन्ने निर्णय भने भइनसकेको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले बताए। ‘कसरी सञ्चालन गर्ने भन्ने कार्ययोजना बनिसकेका छैन,’ उनले भने, ‘नगर कार्यपालिकाको बैठकले केहीदिनमै निर्णय गरेर यसको सञ्चालनका विषयमा निर्णय गर्नेछ।’ उनले आवश्यकता हेरेर थप शौचालय खरिद गर्ने योजना रहेको बताए।

सार्वजनिक शौचालय नहुँदा किनमेल गर्न आउने र यात्रा गर्ने यात्रुका लागि घुम्ती शौचालय प्रभावकारी हुने देखिएको छ। सार्वजनीक शौचालय नहुँदा दिसापिसाव गर्ने समस्या अन्त्य गर्न नेपालगन्जमा पहिलो पटक घुम्ती शौचालय सञ्चालनमा ल्याउन लागिएको उपमहानगरपालिकाले जनाएको छ।

शौचालयबाट संकलित मलमुत्रलाई प्राङगारीक मल बनाएर प्रयोगमा ल्याउने योजना सूचना अधिकारी समेत रहेका कार्यक्रम अधिकृत पौडेलले बताए। ‘खुला दिसामुक्त घोषणा कार्यान्वयनमा यसले ठूलो सहयोग गर्ने छ,’ उनले भने। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.