|
फोटोहरु : दिपक केसी

काठमाडौं : तपाई बैंक खातामा रकम छ चाहिएको बेलामा एटिमबाट झिकौंला भनेर ढुक्क हुनुहुन्छ? यदि हुनुहुन्छ भने विचार गर्नुस्, तपाईंको रकम अरु कसैले नै एटीएमबाट झिकेर बैंक खाता रित्तै पारिदिएको पनि हुन सक्छ।

काठमाडौंमा प्रहरीले एटीएमको पिन नम्बर र डाटा चोरी गर्ने चार जना विदेशी नागरिक पक्राउ गरिसकेको छ। कात्तिक दोश्रो हप्ता एक बुल्गेरियन नागरिक पक्राउ परेका थिए भने आइतबार तीन जना रोमानियन नागरिक पक्राउ परेका छन्। प्रहरीले ठमेलको नरसिंह चोकबाट नेपाली नागरिकको रकम निकाल्दै आएका रोमानियन नागरिकलाई तीन दिनको अनुसन्धान पछि पक्राउ गरेको हो। 

प्रहरीले ५२ वर्षीय गिन्ता हुजाम, ४८ वर्षीय ओसिफ मोरारु र ४५ वर्षीय एलेक्से क्रिस्टियन बुगिउरानलाई पक्राउ गरेको हो। उनीहरुलाई प्रहरीले तीन लाख आठ हजार पाँच सय रुपैयाँ, १० हजार नौ सय पाँच युरो र चार सय ७० फिलिपिनो मुद्रासहित पक्राउ गरेको हो। 

विगत डेढ महिनादेखि नेपालमा नै बसेर उनीहरुले नेपाली नागरिकका एटीएम कार्डका डाटा र पिन नम्बर चोरी गरी रकम निकाल्दै आएका थिए। उनीहरुले कार्डको डाटा र पिन नम्बर चोरी गर्नका लागि प्रयोग गर्ने बिभिन्न सामानहरु पनि बरामद गरेको छ। 

कम्प्युटरको सफ्टवेयरको माध्यमबाट उनीहरुले चोरी गर्दै आएको केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक नवराज सिलवालले जानकारी दिए। ‘इस्ट युरोपियन मुलुकका मानिसहरु संगठित रुपमा नै यो धन्दामा लागेको पाएका छौं’ उनले भने। 

लाओस, फिलिपिन्स, कम्बोडिया, भियतनाम, संयुक्त अरब इमिरेट्स हुँदै नेपाल आएका यिनिहरुले डेढ महिनादेखि नेपालमा बसेर डाटा र पिन नम्बर चोरी गरी रकम झिक्दै आएको अनुसन्धानमा खुलेको डिआइजी सिलवालले जानकारी दिए। 

नेपालबाट रकम लान सजिलो होस् भनेर यिनीहरुले एटीएमबाट निकालेको पैसाले मंहगो मूल्यका सामानहरु किन्ने गरेको पनि पाइएको खुलेको छ। ‘उनीहरुले २५ लाख रुपैयाँको स्विस घडी किनेर लैजान लागेका थिए, मंहगो सामान किनेपछि लैजान सजिलो होस् भन्ने नियत देखियो’ डिआइजी सिलवालले भने। 

‘यिनीहरु पहिला पनि २०१५ मा नेपाल आएको खुलेको छ, नेपालमा बसेर चोरी गर्न सजिलो देखेपछि यिनि डेढ महिनाअघि नेपाल आएका हुन्’, उनले भने ‘नेपाल प्राविधिक रुपमा कमजोर ठानेर नै यिनीहरुले काम गरेका हुन्, पक्राउ परिहाले पनि कम सजाय हुने भएकोले नेपाल रोजेको हुनसक्छ।’ 

बाहिर पनि त्यस्तै

नेपालमा जस्तै जापान, भारत, न्युजिल्याण्डमा पनि यस्तै प्रकृतिको घटनाहरु भएको पाइएको डिआइजी सिलवालले जानकारी दिए। ती देशहरुमा पनि रोमानिया र बुल्गेरियाका नागरिकहरु नै पक्राउ परेकोले इस्ट युरोपियन मुलुकका मानिसहरु विश्वभर संगठित रुपमा लागेको पाइएको छ। संयुक्त राज्य अमेरिकामा पनि यस्ता घटनाहरु सार्वजनिक भइरहेको उनले जानकारी दिए। 

३५ लाख एटीएम प्रयोगकर्ता जोखिममा

नेपालमा ३५ लाख जनाले एटीएम कार्ड प्रयोग गर्ने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। नेपालका कार्डले भारत र नेपालबाट मात्र रकम निकाल्न मिल्छ, तर डेविड र क्रेडिट कार्डबाट भने जहाँबाट पनि निकाल्न मिल्छ। नेपालमा सबैजसो कार्ड म्याग्नेटिक स्ट्रिप कार्ड प्रयोग हुने गर्छ तर इएमभी चिप्स कार्डबाट चोरी गर्न असजिलो हुन्छ। 

नेपालमा प्रयोग भएका म्याग्नेटिक स्ट्रिप कार्ड पुरै परिवर्तन गर्न अहिले तत्काल नै असम्भव भएको नेपाल इन्भेष्टमेन्ट डेभलपमेन्ट बैंक नायब महाप्रबन्धक विजेन्द्र सुवालले जानकारी दिए। ‘बैंकले त्यसैले ग्राहकहरुलाई पिन कोर्ड परिवर्तन गर्न सबैलाई फोन गरेर भनिरहेका छौं’, उनले भने– ‘बैंकले पनि सबै एटीएम बुथहरुमा सिसिटिभी क्यामराबाट निगरानी बढाइरहेका छौं।’

कसरी चोरी हुन्थ्यो रकम?

पूर्वी युरोपियन मुलुकका मानिसहरु पर्यटकीय भिसामा नेपाल आउने र पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्गमा उनीहरु बस्ने गर्छन्। भिडभाड हुने क्षेत्र, सुरक्षागार्ड नराखिएको क्षेत्र पहिचान गरेर त्यहाँ पैसा निकाल्ने बहानामा उनीहरुले त्यहाँ निगरानी बढाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

एटीएम बुथहरुमा विद्युतीय कार्ड रिडिङ डिभाइस, हिडन क्यामराहरु जडान गर्ने गर्छन्। त्यसपछि डिभाइस र क्यामरामा रेकर्ड भएका डाटा र पिन नम्बरहरु खाली कार्डहरुमा कार्ड स्क्रिमिङको माध्यम हाल्ने गरेको पाइएको डिआइजी सिलवालले जानकारी दिए। 'नक्कली कार्ड स्लटमा ग्राहकले आफ्नो कार्ड हाल्दा पैसा निस्कदैन तर कार्डको रेकर्डहरु स्लटमा बस्दछ, त्यहीबाट उनीहरुले डाटा भेट्टाउँछन् र नयाँ कार्डमा डाटा हालेर पैसा झिक्ने गरेका रहेछन्', उनले भने। 

त्यसैगरी ग्राहकले ध्यान नदिई आफ्नो कार्डको पिनकोड नम्बर हान्दा त्यहाँ उनीहरुले जडान गरेको सानो क्यामराबाट पिन नम्बर समेत लिने गरेको अनुसन्धानमा देखिएको उनले जानकारी गराए। त्यसरी पाएको डाटा र पिनकोडबाट रकम झिकेको पाइएको ब्युरोका डिआइजी सिलवालले जानकारी दिए।

यसअघि पनि

टर्किस नागरिक मेहमेट गुलिनलाई पक्राउ गरेपछि यसरी नेपालीको पैसा एटीएमबाट विदेशीले चोरी गर्दै आएको रहस्य खुलेको थियो। उनलाई २०७१ मंसिर १ गते ४२ वटा नक्कली एटीएमसहित २६ लाख रुपैयाँ, पाँच हजार डलरसहित प्रहरीले पक्राउ गरेको थियो।

त्यसपछि प्रहरीले २०७१ चैत्र ५ मा बुल्गेरियन नागरिक, २०७३ साउन १७ गते रोमानियन नागरिक र २०७३ कार्तिक ११ गते बुल्गेरियन नागरिक नै पक्राउ गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.