|

काठमाडौं : एटीएम कार्डबाट डाटा र पिन नम्बर चोरी गरी अवैध रुपमा रकम निकाल्ने तीन जना रोमानियन नागरिक पक्राउ परेपछि नेपालका बैंक खातामा रहेको रकम एटीएम बुथबाट हराउने खतरा देखिएको छ।

कात्तिक दोश्रो हप्ता प्रहरीले एटीएम कार्डबाट पिन नम्बर र डाटा चोरी गरेर अरुको बैंक खाताको रकम निकाल्ने एक बुल्गेरियन नगरिकलाई पक्राउ गरेको थियो भने आइतबार तीन जना रोमानियन नागरिक पक्राउ गर्‍यो। 

लगातार रुपमा यसरी एटीएमबाट विदेशीले नेपाली नागरीकको रकम चोरी हुन थालेपछि प्रहरीले सबै एटीएम प्रयोगकर्तालाई सचेत हुन आग्रह गरेको छ। पहिला विदेशी नागरिकको एटीएमबाट चोरी हुने गरेको थियो तर अहिले नेपाली नागरिककै रकम चोरी हुन थालेपछि यो समस्या जटिल बन्दै गएको ब्युरोका निर्देशक डिआइजी नवराज सिलवालले बताए।

‘यो समस्या जटिल खालको निस्किएको छ, त्यसैले अब एटीएम प्रयोगकर्ताहरुले सचेत हुनुपर्ने अवस्था आएको छ’, डिआइजी सिलवालले भने ‘एटीएम प्रयोगकर्ताले रकम चोरिनबाट जोगिनको लागि २४ घण्टामा एकचोटी पिनकोड फेर्नको लागि आग्रह गर्दछु।’ 

उनले हाम्रो बैंकका ग्राहकहरुको डाटा र पिन नम्बर लिएर इस्ट युरोपियन मुलुकका मानिसहरुले रकम चोरी गरिरहेकोले उनले जानकारी दिए। उनका अनुसार एटीएम कार्डको डाटा र पिन नम्बर चोरिनबाट कसरी बच्ने त? 

कसरी बच्ने एटीएमबाट पैसा चोरिनबाट बच्ने?

  • एटीएमको बुथबाट रकम निकाल्दा वरपर कतै एटीएममा प्रयोग हुनेभन्दा बाहेकका उपकरणहरु जोडिएको छ कि छैन चेक गरेर एटीएम मेसिनमा कार्ड हाल्ने।
  • एटीएमको बुथमा भएको कि–प्याड नजिकै प्वाल पारिएको छ कि छैन चेक गर्ने, यदी छ भने त्यहाँ क्यामरा हुन सक्छ, त्यसको विचार गर्ने।
  • कार्डको रहेको डाटालाई चोर्नको लागि एटीएम बुथमा हुनेभन्दा अन्य कुनै कार्ड स्लट जोडिएको हुन सक्छ, यदी एउटा भन्दा बढी कार्ड स्लट भएमा त्यस बुथमा कारोबार नगर्ने।
  • एटीएम बुथबाट कारोबार गर्दा पिन नम्बर हाल्दा पनि पैसा निस्किएन भने तपाईले नक्कली कार्ड स्लटमा कार्ड हाल्नुभएको हुन सक्छ, तत्कालै अर्को बुथमा गएर पिन नम्बर परिवर्तन गर्नुपर्दछ।
  • कि–प्याड अन्यको भन्दा फरक लाग्यो या मेशिन राम्रोसँग फिट नभएको जस्तो लागेमा त्यसमा पिन कोड नहान्नुहोला।
  • पिन नम्बर हाल्ने बेला कसैले नदेख्ने गरी हातले छेकेर मात्र पिन नम्बर हान्नुहोला।

यो पनि गर्नुहोला

  • बैंकबाट एसएमएस अलर्टको सुविधा लिनुहोला, आफुले गर्दै नगरेको कारोबारको एसएसएस अलर्ट आएमा तत्काल बैंकलाई खबर गर्नुहोला।
  • २४ घण्टाभित्र एक चोटी पिन नम्बर परिवर्तन गर्नुहोला।
  • एटीएम बुथभित्र वा बाहिर कसैले शंकास्पद गतिविधी गरेको देखिएमा प्रहरीलाई वा बैंकलाई खबर गर्नुहोला।

एटीएम कार्डबाट डाटा र पिन नम्बर चोरी भई जुनसुकै बेला तपाईको पैसा चोरिन सक्छ, त्यसैले आफू सुरक्षित हुन यी उपायहरु अपनाउनुहोस्। कुनै शंका लागेमा नजिकको प्रहरी चौकीमा वा सम्बन्धित बैंकमा खबर गर्नका लागि प्रहरीले आग्रह गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.