|

इलाम : इलाम जिल्लालाई मुलतः चिया खेती हुने जिल्लाको रुपमा चिनिन्छ। वि.सं. १९२० मा इलाम जिल्लाका तत्कालीन बडाहाकिम कर्णेल गजराज सिंह थापाले चिया रोप्न लगाएका थिए।

चियाले इलामलाई प्रख्याती दिलाए पनि इलाम आठ ‘अ’ को जिल्लाको रुपमा परिचय दिने गरिएको छ। ‘अ’लाई अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दूध), अम्रिसो, आलु र आतिथ्य भनी परिभाषित गरिएको छ। यसले इलाम कृषि उद्यममा अग्रणी रहेको देखाउँछ।

तर, यहाँ प्रकृतिले दिएको अनुपम उपहार पनि छन्। प्रकृतिले सिँगारेको ती पर्यटकीय क्षेत्रमध्ये पूर्वी इलाममा रहेका श्रीअन्तु पनि मुख्य स्थल हो। यहाँका आदिवासी जनजाति समुदाय लाप्चा भाषामा अन्तुको अर्थ अग्लो डाँडा भन्ने हुन्छ। सूर्योदय नगरपालिकामा पर्ने यो ठाउँ समुद्री सतहबाट २ हजार ३०० मिटर उचाइमा अवस्थित छ। यहाँबाट सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। असोजदेखि मंसिरसम्म सूर्योदय अवलोकन गर्ने उपयुक्त सिजन हो।

मेची राजमार्ग खण्डमा पर्ने फिक्कलबाट १७ किमी र नेपाल भारत नाका पशुपतिनगरबाट २२ किमी को दूरीमा यो डाँडा रहेको छ। २०४३ मा यस डाँडालाई दीपेन्द्र शिखरको नामकरण गरिए  पनि श्रीअन्तु वा अन्तुडाँडाको नामबाटै यो प्रसिद्ध छ। यही श्रीअन्तुबाट देखिएको सूर्योदयको सुन्दर दृश्यलाई यहाँ प्रस्तुत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.