|

ललितपुर : कक्षा ८ मा अध्ययनरत रेगन मुल्मी यस वर्षदेखि कात्तिक नाचमा प्रवेश गरेका छन्। नाचमा सहभागी हुन उनी झण्डै तीन महीनादेखि तयारीमा लागे। परिवारमा आफूभन्दा अग्रज सहभागी नभए पनि उनी साथीभाइको लहलहैमा आए।

नाचको महत्व र नाचका चाखलाग्दा कथाले गर्दा उनलाई यसलाई निरन्तरता दिन मन छ। उनले भने, 'सानैदेखि नाच हेरेको भए पनि नाचमा सहभागी भएको यो नै पहिलो पटक हो।' 

गत सातादेखि शुरु भएको कात्तिक नाचमा युवाको आकर्षण बढ्दो छ। चार पाँच दशक पहिलेजस्तो अहिले कलाकारका लागि आकर्षक भत्ता छैन। भत्ता र सुविधा हुँदा पहिले पाका उमेरका मात्रै सहभागी भए पनि अहिले यसमा सहभागी हुने युवाको संख्या बढ्दै छ। 

यस वर्ष नाचमा सहभागी १०० कलाकारमध्ये मुल्मीसँगै सात नयाँ कलाकार भित्रिएका छन्। तीमध्ये सबै २० वर्षमुनिका युवा छन्। विद्यालय वा कलेजमा अध्ययनरत उनीहरू पढाइ सकेर साँझमा कात्तिक डबली पुग्ने गर्छन्। कुनै कुनै वर्षमा कोही परीक्षाका कारण बीचमा रोक्छन् भने कति कलाकार अध्ययन वा रोजगारीका लागि विदेश जाँदा नाचमा नयाँ कलाकारले ठाउँ पाउँछन्।

अर्का युवक रिजन महर्जनले चार वर्ष पहिलेदेखि नाच्न थाले। संगीत सिक्दै गरेका उनी बाबुबाजेले बचाएर ल्याएको नाच युवापुस्ताले संरक्षण गर्नुपर्ने धारणा राखे।उनले भने, 'यो नाच अनौठो भएकाले संसारलाई नै चिनाउन खाँचो छ।' उनी यस वर्ष देवगण र राधिका भएर नाचमा सहभागी हुँदै छन्। कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले कलाकारलाई पारिश्रमिकको व्यवस्था गर्न नसके पनि आफ्नो संस्कृतिप्रतिको मोहका कारण नयाँ पुस्ता आकर्षित भइरहेको बताए। चारपाँच पटक पहिले नाचका दिन मात्रै नभएर तयारीका लागि समेत कलाकारका लागि सुविधाको व्यवस्था थियो। अहिले अर्थ अभावले गर्दा कलाकारलाई नाचको दिनमा तीनचार सय पारिश्रमिक दिइन्छ। 

उनले भने, 'त्यतिबेला ४०/५० रुपैयाँ भनेको अहिलेको हजारभन्दा बढी थियो।' बीस वर्षदेखि कात्तिक नाचमा हिरण्यकश्यपका रुपमा नाच्दै आएका संरक्षण समितिका अध्यक्ष चित्रकार यस वर्ष २१ औँ पटक पनि यही पात्रमा नाचे। उनीभन्दा पहिले उनको हजुरबुबा यो पात्रका रुपमा नाच्दै आए। उनले नाच शुरु गर्दा वर्षमा युवा धेरै हुँदैनथे। नाचमा सहभागी सबै पाका उमेरका कलाकार थिए। उनले भने, 'उतिबेला अहिले जस्तो आउँछु भन्ने पनि थिएनन् । राख्न पनि चाहँदैनथे।' 

कात्तिक नाच उपत्यकाकै समावेशी नाच भएको समितिले बताएको छ। पाटनका नेवारी समुदायका अधिकांश जात नाचमा सहभागी हुन्छन्। कुन पात्रका रुपमा कुन ठाउँका र कुन जातका सहभागी हुने भन्ने तोकिएको छ। नाचमा महिला पात्रको भूमिका भए पनि पुरुष पात्रले नै निभाउने गर्छन्  अघिल्ला केही वर्ष जसरी नै यस वर्ष पनि नाच १२ दिनसम्म चल्नेछ। नाचको पहिलो दिन ‘बाःथ प्याखँ’(बाठोको नाच) नाचअन्तर्गतको ‘ल्यव लायेगु’(नाठो पक्रनु) र दोस्रो दिन ‘खुशी छिकेगु’(नदी तर्नु) देखाइएको थियो। 

बुधबारदेखि उषाहरण लीलाअन्तर्गतकै नाच शुरु भएको छ। यो नाच शृंखलाबद्ध रुपमा पाँच दिन चल्नेछ। पहिलो दिन ‘वाणासुरयात सहस्रभुज वरदान नाच’ देखाइयो। दोस्रो दिन ‘उषा व अनिरुद्ध शृङ्गार’(उषा र अनिरुद्धको शृङ्गार) र तेस्रो दिन ‘देवी प्याखँ’(देवीनाच) देखाइयो। नाचमा आज चौथो दिन ‘युद्ध कला’ र सोमबार ‘वाणासुरया सहस्रभुज त्वाल्हाइगु’ (वाणासुरको हजार हात काट्नु) नाच छन्। 

सोमबार ‘मधु–कैटभ बध’ देखाइनेछ। मङ्गलबार बराह अवतारको ‘हिरण्याक्ष’ देखाइनेछ। अर्को साता बुधबार नाचमा सबैभन्दा धेरै आगन्तुकले रुचाउने नृसिंह अवतारको ‘हिरण्यकश्यप बध’ देखाइने भएको छ।

बिहीबार ‘वस्त्रहरण लीला’ र अन्तिम दिनमा ‘दधि लीला’ देखाइने संरक्षण समितिले जनाएको छ। दशैँतिहार सकिएर र धान थन्क्याएर पाटनवासी फुर्सदमा हुने समयमा मनोरञ्जन दिने उद्देश्यले पाटनका राजा सिद्धिनरसिंह मल्ल ले यो नाच शुरु गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.