|

पर्वत : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको ज्ञानप्रकाश माध्यमिक विद्यालयको भवन ९० वर्षीया बेलायती नागरिक काटलिन क्रोकिल स्पिनरको आर्थिक सहयोगमा निर्माण भएको छ।

स्पिनरले आफ्ना दिवंगत श्रीमानको स्मृतिमा विद्यालयको लागि ७२ लाख ११ हजार २१७ रुपैयाँ सहयोग गरेकी हुन्। तीन वर्षअघिको भूकम्पका कारण भवन जीर्ण बनेपछि विद्यालयको भवन पुनर्निर्माण थालिएको थियो। भवन निर्माणका लागि विद्यालयको कोषबाट २५ लाख १० हजार ८७ रुपैयाँ लगानी गरिएको छ। बेलायतको भूतपूर्व गोर्खा सैनिकको पहलमा पहार ट्रस्ट  नेपालमार्फत स्पिनरले आर्थिक सहयोग गरेपछि आठ कोठा भएको दुई तले भवन निर्माण गरिएको हो।

२०७२ बैशाखको भूकम्पका कारण विद्यालयको भवनमा क्षति पुगेपछि पठनपाठनमा समस्या भएको थियो। पानी चुहिने अवस्थाको कच्ची भवनमा जोखिम मोलेर पढ्नुपर्ने बाध्यता हटेकोमा विद्यार्थीहरू खुसी भएका छन्। भवन निर्माण भएपछि कक्षा १ देखि १२ सम्म एकैपटक दिवा कक्षा सञ्चालन गर्न थालिएको छ। प्रधानाध्यापक शान्तबहादुर नेपालीका अनुसार यसअघि कक्षा कोठा अभावमा कक्षा ११ र १२ लाई बिहानी सत्रमा पढाउने गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.