सांसद भन्छन्, दोषी सरकारकै सरंक्षणमा

|

भोजपुर : भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीको मर्‍याङडाँडामा डेढ वर्षअघि तीन बालबालिका हत्या प्रकरणका दोषी अझै पक्राउ नपर्दा पीडित परिवारले न्याय पाउन सकेका छैनन। हत्या गरिएका स्थानीय अाठ वर्षीय प्रदीप फुयाँल, १४ वर्षीया सुष्मा फुयाँल र १५ वर्षीय रञ्जित सापकोटाका परिवारले डेढ वर्ष बित्दा पनि न्याय पाउन नसकेका हुन्।

पीडितलाई सरकारले घटनाका दोषी पत्ता लगाउने र राहत दिने आश्वासन दिए पनि पीडित परिवारले आफूहरूलाई वेवास्ता गरिएको गुनासो गरेका हुन्।छोराछोरीको रहस्यमय हत्या भएपछि सम्बन्धित निकायमा गई पटक पटक न्याय खोज्दा पनि न्याय नपाएपछि पीडित परिवार गाउँबाट विस्थापित भएका छन्।

मृतक प्रदीप र सुष्माका बाबु चेतनाथ र आमा निर्मला फुयाँलले घटनाका दोषीलाई सरकारले संरक्षण खोजेको आरोप लगाए। ‘डेढ वर्ष पुग्दासमेत सरकार न दोषी पत्ता लगाउन सफल बन्यो न त घटनालाई सुल्झाउने प्रयास नै गर्न सक्यो, हामीले सरकारले दिएको त्यो आश्वासनबाट  कुनै पनि किसिमको राहत पाउन सक्यौँ, पिडीत चेतनाथले भने, ‘घटनाको ठोस निर्णय मात्रै थाहा दिए पनि हाम्रा लागि राहत  हुन्थ्यो।’ पुर्ख्यौली बसोबास रहेको गाउँको घरजग्गा त्यसै छाडेर चेतनाथ श्रीमती निर्मला, १३ वर्षीया छोरी सुष्मितालाई लिएर इटहरी उपमहानगरपालिकाको हलगडामा बाबु आमासँगै बसोबास गर्दै आएका छन्। 

घटना घटेको डेढ वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन गृहमन्त्री जनार्दन शर्माको ढोका पटक–पटक घचघच्याउन पुगे पनि सरकारले दिएको आश्वासन पूरा हुन नसकेको पीडित परिवारको गुनासो छ। घरको कान्छो छोरो रञ्जित गुमाएका रवीन्द्र सापकोटाले तत्कालीन प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले न्यायको पहल गरिरहने बताएको भएता पनि अहिलेसम्म कुनै पनि पक्षले यस घटनाको वास्ता नगरेको गुनासो गरे। सापकोटाले भने, ‘घटना घटेकै डेढ वर्ष बितिसक्यो न्याय दिने कुरामा के हुँदै छ भन्ने कुनै अत्तोपत्तो पाउन सकिनौँ हामीले।’

पीडित परिवारले घटनालाई चाँडो भन्दा चाँडो निष्कर्षमा पुर्‍याउन सरकार समक्ष पटक–पटक माग गर्दै आइरहेका छन्। सरकारले दिने न्याय र राहतको प्रतीक्षा कुर्दै बसेका पीडित परिवारहरूले पटक–पटक सम्बन्धित निकायमा गएर बिन्ती बिसाउने गरे पनि सरकार पक्षबाट पटक–पटक बेवास्ता गरिएको गुनासो गरे। आफ्नै स्थानीय निकाय अरुण गाउँपालिकाले पनि घटनाको बारेका चुस्तदुरुस्त ढंगबाट घटनाको निचोड निकाल्दिन माथिल्लो ओहदाको सम्बन्धित निकायसँग पटक–पटक माग राख्दै आएको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले बताए।

‘मैले मेरो गाउँपालिको पक्षबाट घटनाको पुरानै विधिबाट भन्दा फरक खाले नयाँ प्रविधिको प्रयोग गरी सम्बन्धित निकायलाई बृहत अनुसन्धान गर्न पटक–पटक आग्रह गर्दै आएको छु’, उनले भने। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार रहँदा हाल प्रदेश एकका मुख्यमन्त्री शेरधन राईसँग पीडित पक्षलाई न्याय र राहतका लागि केन्द्रमा ५–६ पटक दौडधुप गरे पनि सरकारले खासै चासो नदिएको उनले बताए।

दोषीलाई कानुनी दायरामा ल्याउन छानबिनमा खटिएका सीआईबी टोलीको प्रधान कार्यालयका प्रमुखलाई भेट्न गएको प्रतिनिधिसभा सदस्य तथा संघीय सांसद् सुदन किरातीले बताए। कार्यालयमा गएर सीआईबी टोलीसँग अन्तरक्रिया गर्दा सीआईबीले घटनाको छानबिन भइरहेको र त्यो हत्या नभई पोखरीमा पस्दा पानीमा डुबेर मृत्यु भएको जवाफ दिएको सांसद किरातीले बताए। 

बालबालिकाको शरीर पानीमा ढाडिएर फुलेको तर पेटमा पानी नभएको, तीनै जनाको हात छातीमा रहेको, खुट्टा खुम्चिएको, चप्पल नफुक्लेको  कारण उनीहरूको हत्या भएको प्रस्‍ट हुने उनले बताए। उनीहरू घरबाट बेपता भएको असार १० साँझदेखि ११ गते राति ११ बजेसम्म पोखरी आसपास खोज्दा नभेटिनु, गाउँको सम्पूर्ण घरको खानतलासी लिने भनिएको भोलिपल्ट १२ गते बिहान ५ बजे त्यही पोखरीको छेउमा तीनै जनाको शव भेटिनुले पनि हत्या भएको प्रमाणित हुने किरातीको भनाइ छ। घटनाका दोषीहरूलाई कुनै न कुनै शक्तिशाली गिरोहले संरक्षण गरेर राखेको अारोप उनले लगाए। 

घटनाको मिसिलको आधारमा ६५ जनाको कल डिटेलसहित सोधपुछ, २–३ वटा लेखापढी गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले बताए।

घटनाको अनुसन्धान गर्न तत्कालीन अञ्चल प्रहरी प्रमुख एसएसपी उत्तमकुमार कार्की र जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी काजीकुमार आचार्य नेतृत्वको संयुक्त टोली खटिए पनि प्रमाण जुटाउन भने सकेको थिएनन्। पछि सीआईबीका डीएसपी दधिराम न्यौपानेको नेतृत्वमा गत २०७४ साउन १३ गते टोली खटाइएको थियो। गत २०७४ असार १० गते शनिबार बेपत्ता भएका तीन बालबालिका भोलिपल्ट स्थानीय तोरण कार्कीको पोखरीमा मृत फेला परेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.