|

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाका नागरिकले निःशुल्क रूपमा रगत पाउने भएका छन्। नगरवासीलाई नि:शुल्क रगत उपलब्ध गराउन भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरको रक्त सञ्चार सेवा केन्द्रलाई भीमदत्त नगरपालिकाले तीन लाख सहयोग गरेको छ।

सोमबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई तीन लाखको चेक हस्तान्तरण गरेका  छन्।नगरपालिकाको तेस्रो नगरसभाको निर्णयअनुसार रक्त सञ्चार सेवा केन्द्रलाई सहयोग गरिएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताए।

‘नगरवासीलाई निःशुल्क रूपमा रगत उपलब्ध गराउन सहयोग गरेका छौँ, अब कुनै पनि नगरवासीले आर्थिक अभावमा रगत अभावको समस्या भोग्नुपर्दैन,’ उनले भने। रेडक्रस सोसाइटी कञ्चनपुरले सञ्चालन गरेको रक्त सञ्चार सेवा केन्द्रलाई व्यवस्थित गर्न नगरपालिकाले आवश्यक सहयोग गर्दै जाने नगर प्रमुख विष्टले बताए।

पहिलो चरणमा भीमदत्तवासीलाई निःशुल्क रगत उपलब्ध गराइने नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेतीले बताए। ‘अन्य स्थानीय तहबाट पनि सहयोग पाइए सबैलाई निःशुल्क रगत दिन्छौँ, कञ्चनपुरका सबै स्थानीय तहले सहयोग गर्ने बताएका छन्,’ उनले भने।

भीमदत्त नगरपालिकाले गरेको सहयोग रेडक्रस सोसाइटीले सदुपयोग गर्ने सभापति उप्रेतीले बताए। ‘भीमदत्तले गरेको सहयोगले यहाँका नागरिकलाई निःशुल्क रगत दिन्छौँ,’ उनले भने। रेडक्रसका उपसभापति नरबहादुर रानाले निःशुल्क सेवा सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरिएको जानकारी दिए।

 ‘सबै तहमा पत्राचार गरेका छौँ, भीनपाबाट सुरुवात भएको छ’ उपसभापति रानाले भने, ‘यसका लागि नगरपालिकालाई धन्यवाद दिन चाहन्छौँ।’ भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले चेक हस्तान्तरण कार्यक्रममा समृद्ध नगर बनाउन नगरमा रहेका संघसंस्थासँग सहकार्य गरिने बताए। भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरसँग विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा समेत सहकार्य गरेको नगर प्रमुख विष्टले बताए।

भीमदत्त नगरपालिका–१० श्रीलंका टोलमा पुल निर्माण, वडा नं. ९ खल्लामुसेट्टीमा तटबन्ध निर्माण र वडा नं. १९ बागफाँटामा जैविक तटबन्ध निर्माण गर्न रेडक्रससँग सहकार्य गरिएको उनले बताए। ‘हामी नगर क्षेत्रमा रहेका सम्पूर्ण संघ संस्थासँग सहकार्य गरेर अगाडि बढिरहेका छौँ, नगरको विकासमा सबैले लाग्नु आवश्यक छ,’ उनले भने। नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले २०५१ सालमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरेको थियो। केन्द्रबाट बर्सेनि ७ सयदेखि ९ सय जनाले सेवा लिँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.