|

सुनसरी : इटहरीको मुख्यचोक आसपासमा शनिबार बिहान एक हुल युवाहरू छरिएर फोहोर खोजी खोजी सफा गरिरहेका थिए। उनीहरू राजमार्ग आसपासमा रहेका बिजुलीको पोल, गमला, सडक किनारका बगैँचा सिँगारिरहेका थिए। केही युवा सडक किनारमा रहेको पर्खाल पेन्टिङ गर्न व्यस्त थिए। केही युवा नालाबाट मरेको बिरालो निकालिरहेका थिए भने केही युवा रोडमा भएको धुलो बढारेर थुपारिरहेका देखिन्थे।

चैत-वैशाखको चर्को घाम नभनी, असार साउनको झरीको प्रवाह नगरी, पुस माघको जाडो नभनी जोसिला युवा विगत दुई वर्षदेखि यसरी नै खटिरहेको देख्दा सडकमा हिँड्दै गरेका यात्रुले आँखा तानी–तानी हेर्छन्। कतिले उनीहरूको प्रशंसा गर्छन्, कतिले टीका टिप्पणी गर्दै हिन्छन्।

यसरी प्रत्येक साताको शनिबार फोहोरसँग खेलिरहने व्यक्तिहरू हुन बुल्स एलभेन क्लबमा आवद्ध जोशिला युवा। ती युवा समूह आबद्ध भएको ‘बुल्स इलेभेन’ क्लब  २०५५ सालमा स्थापना भएको हो। फुटबल खेलप्रेमी पूर्ण राईलगायतले क्लबको सुरुवात गरेका थिए।

राईका अनुसार ‘फुटबल खेलमा ११ जना खेलाडी हुन्छन्। त्यही आधारले क्लबको नाम ‘बुल्स इलेभेन’ रहन गएको हो। स्थापनाको सुरुवातमा फुटबलमा चम्किएको क्लब बीचमा विविध कारणले चलायमान हुन सकेन। क्लबमा आबद्ध केही युवा आ–आफ्नो बाध्यताले अलग–अलग भए। निकै जोस जाँगरले स्थापना गरिएको क्लब बीचमा निष्क्रिय भएपछि इटहरी निवासी राईले क्लबलाई चुस्त रूपमा अगाडि बढाउने योजनाका साथ अघि बढ्ने अठोट गरे। सुरुमा फुटबल खेल्न स्थापना भएको क्लबका युवा २०७३ साल चैत २२ गतेदेखि फोहोरसँग खेल्न थाले। फोहोरसँग खेलेर सफाइ अभियानमा होमिएका युवाको नेतृत्व गर्न कम्मर कसेर लागे पूर्ण राई। उनलाई साथमा साथ दिए स्थानीय व्यवसायी हेमसागर निरौलालगायत अन्य युवाले।

यसभन्दा अघि बेला-बेला नागरिकस्तरमा सरफाइ हुने गरे पनि त्यसले निरन्तरता पाउन नसकेको अवस्थामा बुल्स एलेभेन क्लबको कामलाई बिर्सन नसकिने इटहरीका नागरिक अगुवा राजु थापाको बुझाइ छ। क्लबले नगरको फोहोर सरफाइ गरेर चौतर्फी चर्चा बटुलेको भन्दै इटहरीका युवाको बुल्स एलेभेन क्लबले इटहरीको इज्जत धानेको थापा बताउँछन्। हरेक हप्ता इटहरी तथा आसपासका सामाजिक महत्व झल्किने स्थानमा फोहोर उठाउन पुगिहाल्ने यी युवाको कामलाई दुई वर्षसम्म निरन्तरता दिनू आफैँमा ठूलो सफलता भएको रेडक्रस सोसाइटी इटहरी सभापति विमल पौडेलले बताए।

प्रत्येक हप्ता चोक सफा गर्न आतुर हुने क्लबका अध्यक्ष राई विशुद्ध सामाजिक भावना राखेर यो पवित्र काममा अग्रसर भएको बताउँछन्। उनी आफूहरूको एउटा सामूहिक प्रयासले समाजलाई सकारात्मक परिवर्तन गर्न सकिनेमा ढुक्क भएको बताउछन्। राई भन्छन् 'अहिलेसम्म आइपुग्दा कुनै दातृ निकायसँग आर्थिक सहयोग लिएका छैनन, न कसैसँग चन्दा नै लिएको छ। आफ्नो व्यापार व्यवसायबाट कमाएको आम्दानीको केही प्रतिशत रकमले सरसफाइमा लागेको उनको भनाइ छ। सामाजिक कार्य देखेर स्वतफूर्त सहयोग गर्ने बढिरहेको बताउँदै राई कसैको पनि आर्थिक सहयोग नलिने बताउँछन्। दुई सातापछि औपचारिक कार्यक्रम गरेर इटहरी क्षेत्रको सरसफाइ समापन गर्ने र अन्य क्षेत्रमा सरसफाइ गर्ने राइले बताए।

क्लबका युवाले इटहरीको प्राथमिक स्वास्थ्य केन्द्र परिषरमा भएको झाडी सफाइ गरेर त्यसको रूप परिवर्तन गरिदिएको केन्द्रका अध्यक्ष एवं नागरिक समाज इटहरी राजेश श्रेष्ठले बताए। मुख्य चौकदेखि उत्तरतिर रहेको नेपाल बैंक अगाडिको खुला ठाउँलाई व्यवस्थित बनाएका छन्। नेपाल बैंकको उत्तरतर्फ रहेको सो जग्गालाई बाँसको भाटाले बेरेका छन्। क्लबमा आबद्ध युवाको समूहले सो स्थानलाई चिटिक्क बनाएको छ।

मुख्य बजारको गोल चोकमा रहेको बगैंचा अर्थात पूर्वपश्चिम राजमार्ग र कोशी राजमार्गको दिशा छुट्याउने सो संरचनालाई आकर्षक बनाएका छन्। चुनावका बेला चोकमा टाँगिएका तुल, ब्यानर र टाँसिएका पर्चा पनि उनीहरूले हटाएर रंगरोगन गरेका छन्। यतिमात्र होइन उनीहरूले एक महिनाअघि इटहरीको मुख्य चौकको एउटा घरमा लागेको आगलागी नियन्त्रणमा प्रहरी र नेपाली सेनालाई प्राविधिक सहयोगसमेत गरेर चर्चा कमाएको राष्टिय जागृती क्लब इटहरीका अध्यक्ष संजिव ढुंगाना बताउँछन्। सरकारी निकायबाट गर्नुपर्ने काम युवाबाट भइरहेको ढुंगाना बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.