'पार्टी नेतृत्व परिवर्तनमा हाम्रो प्रयास रहन्छ'

|

कैलाली : नेपाली कांग्रेसका असन्तुष्ट नेताहरूले पछिल्लो समय नेतृत्वको कार्यशैलीप्रति आलोचना गर्ने क्रम बढ्दो छ। संस्थापन पक्षले यसको बचाउ गरिरहेको छ। युवा नेताहरू अहिले नेतृत्वविरुद्ध मोर्चाबन्दी नै गरिरहेका छन्। केही दिनअघि मात्र नेतृत्वविरुद्ध युवा नेताहरूले भेला नै आयोजना गरे। नेतृत्वको कटु आलोचकमध्येका एक हुन्, गगन थापा।  कांग्रेसको अहिलेको अवस्था, संसदीय गतिविधि र भावी दिन लिने बाटोबारे थाहाखबरकर्मी भानुभक्त आचार्यले नेता गगन थापासँग गरेको कुराकानी प्रस्तुत छ।

प्रमुख प्रतिपक्षी दलले सरकारका गतिविधिहरूलाई कसरी हेरिरहेको छ?

सरकारले निराश बनायो। सरकारबाट जसले बढी अपेक्षा गर्‍यो, त्यो पंक्ति नै बढी निराश छ। त्यसको प्रभाव फैलिएर आएको छ। 

यसको कारण परिणाम दिन सकेन भनेर होइन, यसले कसैलाई उत्साहित नै गर्न सकिरहेको छैन। मान्छे अर्को चार वर्ष सम्झेर आत्तिएका छन्। अहिले राम्रो भएन, पछि होला भन्ने अवस्था नै छैन। पहिले पहिले अस्थिरता हाम्रो समस्या हो भनिन्थ्यो। अस्थिरता नै समस्या होला जस्तो लाग्थ्यो तर त्यो मात्र होइनरहेछ।

अहिलेको अवस्थामा त कांग्रेसले नै आफ्नो भूमिका निर्वाह गर्न सकेन नि?

प्रमुख प्रतिपक्षी दलको भूमिका संसदभित्र महत्त्वपूर्ण रहनुपर्छ। संसदभित्र मात्रै होइन, समग्र मुलुकभरि यति धेरै विषय छन्, त्यसलाई हामीले उठाउन सकिरहेका छैनौँ। सरकारले नगरे पनि प्रतिपक्षी दलले मुद्दा उठाएर सरकारलाई बाध्य बनाओस् भन्ने नागरिकको अपेक्षा छ तर त्यस्तो हुन सकेको छैन। 

संविधानभित्र रहेको जस्तो लाग्ने तर परिवर्तनमा खुसी नभएका मानिस त यो भत्कियोस् भन्ने चाहन्छन्। हामीले त्यसैमा बल पुर्‍याइरहेका छौँ।

हामी भन्नाले कांग्रेसले?

होइन, हामी सबै। सरकार र प्रतिपक्षी दल। हामी अहिले बाँडिएका छौँ। कोही सरकारमा त कोही प्रतिपक्षमा छौँ। अब दुवै पक्षले राम्रो काम गरे त सबै खुसी हुने भए। एउटाले नराम्रो गर्दा अर्काले राम्रो गरे हुन्छ। त्यो अवस्थामा मानिस त्यही प्रणालीप्रति विश्वास त राख्छन् नि! अहिले दुवैले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेका देखिन्छ।

केही समयअघि छाया सरकारको कुरा गर्नुहुन्थ्यो। अहिले त्यो विषय नै छायामा परिसकेको छ नि?

त्यो त हामी स्वीकार गर्छौं। छाया सरकार त थुप्रै गर्नुपर्ने कामहरूमध्येको एउटा काम हो। छाया सरकारको प्रस्ताव मैले नै लिएर गएको हुँ। त्यो बेला मेरो सोचाइ के थियो भने, अखबारहरूमा आएका, नागरिकले लेख्नुभएका कुराहरूको आधारमा सरकारमा आफूहरूलाई प्रस्तुत गर्ने हो।

हामीले एउटा जिम्मेवारी नै दियौँ भने प्रत्येक मन्त्रालयको एउटा एउटा जिम्मा लिएर बसेको छाया मन्त्री भएर जसले काम गर्छ, त्यसले त संसदभित्र विपक्षीले राख्ने तर्कहरूलाई माथि उठाउँछ नि! त्यसले सरकारको मन्त्रीमाथि दबाब सिर्जना गर्न ठूलो भूमिका खेल्छ। जुन हामी वैकल्पिक सरकार भन्छौँ नि!,  त्यो वैकल्पिक सरकारसँग जोडिएको अपेक्षा त्यसरी पूरा हुन्छ।

मैले कुनै व्यक्तिगत आग्रह राखेर भनेको होइन कि अब त्यो समय आएकै हो। एउटा ‘जेनेरेसन’ले का‌ंग्रेसबाट विश्राम लिनुपर्‍यो। सधैँभरि पछाडि फर्केर यस्तो भएको थियो, उस्तो भएको थियो भनेपछि मान्छे कहिल्यै अगाडि जान सक्दैन। 

कहिले बन्छ त त्यो तपाई‌ंहरूको छाया सरकार?

बनेन।

त्यसो भए अब त्यसको अवश्यकता परेन होइन त?

यस विषयमा अहिले मलाई पनि त्यति जानकारी छैन तर सभापतिज्यूले संसदीय दलको नेताले चासो दिनुभएको छैन। सुरुमा मैले प्रस्ताव गर्दा उहाँ एकदम सकारात्मक हुनुभयो र उहाँले विधानमा राख्न लगाउनुभयो। नभए मैले चाहेर मात्रै विधानमा पर्ने अवस्था थिएन।

मैले बीचमा धेरै पटक संसदीय दलको बैठकमा कुरा उठाउँदै गर्दा उहाँले सुन्नुभएको छ तर उत्तर दिनुभएको छैन। मलाई के लाग्छ भने हामी सरकारमा हुँदै गर्दा ठूलो मन्त्रालय कसलाई दिने भनेझैँ यो छाया मन्त्रालयको विषयमा बेकारमा झन्झट किन लिनु भन्ने लागेको होला तर त्यसले धेरै ठूलो मद्दत पुग्थ्यो। 

तपाईंहरू बेलाबेलामा नेतृत्व परिवर्तनको कुरा गर्नुहुन्छ। अहिले पनि त्यो अभियान जारी छ कि छाया सरकारझैँ छायामा पर्‍यो?

बकाइदा छ नि! त्यो कुनै एक पलमा हुने अर्काेमा हराउने कुरै भएन। नेपाली कांग्रेसमा थुप्रै कुरा बदल्नुपर्नेमा एउटा महत्त्वपूर्ण कुरा नेतृत्व बदल्नुपर्छ। मैले कुनै व्यक्तिगत आग्रह राखेर भनेको होइन कि अब त्यो समय आएकै हो। एउटा ‘जेनेरेसन’ले का‌ंग्रेसबाट विश्राम लिनुपर्‍यो। सधैँभरि पछाडि फर्केर यस्तो भएको थियो, उस्तो भएको थियो भनेपछि मान्छे कहिल्यै अगाडि जान सक्दैन। 

तपाईंहरूले खुलेरै नेतृत्व बदल्ने कुरा गर्नुहुन्छ तर आगामी महाधिवेशनमार्फत् उही नेतृत्वले निरन्तरता पाउने अवस्था आयो भने कांग्रेसको अवस्था कस्तो हुन्छ?

सकेसम्म त्यस्तो अवस्था नआअोस् भन्ने चाहन्छु। हाम्रो पूर्ण प्रयास भनेकै पार्टीको सर्वोत्तम हितका निम्ति हो। किनभने पार्टी ठीक नहुँदै गर्दा त प्रणालीमै प्रश्न आउने हो। त्यसैले नेपाली कांग्रेको नेतृत्व हामीले बदल्न सकेनौँ भने त हामीलाई भोट हाल्ने/नहाल्ने ठूलो पंक्ति नै हामीलाई पार्टीले भविष्य दिनसक्छ भन्ने कुरामा विश्वास गर्न छाड्छन्। त्यसका लागि पनि पार्टीको नेतृत्व परिवर्तनमा लागि ठूलो प्रयास जारी रहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.