|

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक स्थापना गरिएको छ। 

रक्तदान कार्यक्रम गरी ब्लड बैंकको शुरुआत गरिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए। यहाँ ब्लडबैंक नभएका कारण निकै ठूलो समस्या हुने गर्थ्याे। अब रगत अभाव हुन नदिने उनको भनाइ छ। प्रतिष्ठानमा अहिले ‘९० प्याकेट’ रगतसहितको भण्डार क्षमताको यन्त्र र अन्य सामग्री राखिएको ल्याब इञ्चार्ज विवेक पुन मगरले जानकारी दिए। उनकाअनुसार आज पहिलो दिन प्रतिष्ठान परिवारबाटै १२ जनाले रक्तदान गरेका छन्। 

'हामीले रगत संकलन गरी रेफ्रिजेटरमा राखिसकेका छौंँ', उनले भने। बेलुकी अबेरसम्म २० पिण्ट रगत संकलन गर्ने लक्ष्य रहेको छ। ब्लड बैंक मेसिन ९६ लाख र अत्याधुनिक प्रयोगशाला  एककरोड ३६ लाखमा स्थापना भएको जनाइएको छ। 

सेना प्रहरी धाउनु पर्दैन 

प्रतिष्ठानमा कसैलाई रगतको अभाव भएमा यसअघि प्रतिष्ठानका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीलगायत सरोकारवाला निकाय धाउनुपर्ने अवस्था अब रोकिने प्रतिष्ठानको जिकिर छ। यसका लागि सबैले रगत दिएर सहयोग गर्नुपर्ने प्रतिष्ठानले आग्रह गरेको छ। 

प्रतिष्ठानले आरम्भ गरेको ब्लड बैंक सञ्चालन गर्न नागरिक, सामाजिक संघ संस्थाले रगत दिने अभियानका कार्यक्रमसमेत गर्न आवश्यक रहेको बताइएको छ। ब्लड बैंकको शुरुआतको दिन भने अस्पताल निर्देशक धर्मराज गोसाईं, डा. निरेश थापासहित चिकित्सकको टोलीले रक्तदान गरेको छ। 

प्रतिष्ठानले यसअघि सघन उपचार कक्ष सेवा शुरु गरिसकेको छ। यसैगरी सिटिस्क्यान र अक्सिजन प्लाण्टसमेत शुरु गर्ने तयारी भएको छ। यसैगरी पछिल्लो समयमा प्रतिष्ठानमा सेवा प्रवाह समेत बढेको छ। जुम्लासहित साविक कर्णालीका हुम्ला, डोल्पा, कालीकोट, मुगु र जाजरकोटबाट बिरामी प्रतिष्ठानमा बढिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.