|

खोटाङ : नाछिरिङ राई भाषाको पहिलोपटक स्वर वर्ण र व्यञ्जन वर्ण निर्धारण गरिएको छ। राई समुदायमध्येका एक थरी राई नाछिरिङ राईहरूको भाषाको वर्ण निर्धारण गरिएको हो।

विशेषगरी नेपालको पूर्वी भू–भागहरूमा बसोबास गर्दै आएका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्यक्रम निर्माण एवं पाठ्यपुस्तक प्रकाशनलगायतका उद्देश्यका साथ स्वर वर्ण र व्याञ्जन वर्ण निर्धारण गरिएको हो। विभिन्न १० जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरेर नाछिरिङ राईहरूको जातीय संस्था किरात रदु नाछिरिङ साखाम (केन्द्र) को पहलमा वर्ण निर्धारणको कामलाई अन्तिम टुंगो लगाइएको हो।

भाषाविद् डा. तारामणी राईको सहजीकरणमा नाछिरिङ भाषाको २६ व्यञ्जन वर्ण र १३ स्वर वर्ण पहिचान गरिएको किरात रदु नाछिरिङ साखाम (केन्द्र)का महासचिव टेक नाछिरिङले बताए। नाछिरिङ भाषा, संस्कार र संस्कृतिका विषयमा जानकार पुर्खाहरूलाई मंसिर ९ गतेदेखि १३ गतेसम्म सुनसरीको धरानमा भेला गरेर नाछिरिङ राईको जन्मदेखि मृत्युसम्मका संस्कार, संस्कृति, रीतिरिवाज, विभिन्न पराम्परालगायतका बारेमा गहिरो छलफल एवं जानकारीहरू संकलन गरी शुक्रबार वर्ण निर्धारणका काम सम्पन गरिएको केन्द्रले जनाएको छ। नाछिरिङ भाषाको पाठ्यक्रम तयार पारेर सोही भाषामा पठन–पाठनका लागि वर्ण पहिचानको काम गरिएको केन्द्रले जनाएको छ।

किरात रदु नाछिरिङ साखाम केन्द्रका अनुसार भाषविद्को सहयोगमा नाछिरिङ भाषामा ‘क, ख, ग, घ, ङ, च, छ, ज, झ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह र अलाई व्याञ्जन वर्णका रूपमा पहिचान गरिएको छ। यस्तै, यस भाषामा इ, इः, इ, ए, एः, आ, आः, अ, अः, ओ, ओः, उ र उः स्वर वर्णका रूपमा कायम गरिएको छ।

हाल देशका विभिन्न जिल्लामा नाछिरिङ राईको जनसंख्या करिब १२ हजारभन्दा बढी रहेको अनुमान गरिए पनि हालसम्म वर्ण निर्धारणको काम भने गरिएको थिएन। खोटाङ, सोलुखुम्बु, भोजपुर, इलाम, पाँचथर, सुनसरी, झापा, तेर्‍हथुम, मोरङ र काठमाडौंबाट नाछिरिङ समुदायका पुर्खालाई एक ठाउँमा भेला गरी संस्कार, संस्कृति र भाषा संरक्षण अभियानका लागि विचार, विर्मश गरिएको केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.