|

सल्यान : सल्यानका युवाहरू संस्कृतिको जगेर्ना गर्न लागेका छन्। पछिल्लो चरणमा मौलिक तथा परम्परागत संस्कृति हराउँदै जान थालेका भन्दै सल्यानका युवा संस्कृति जगेर्ना गर्नेतर्फ लागिपरेका छन्। युवापुस्तामा खासै वास्ता नहुनु तथा बुढापाकाहरूबाट पनि नयाँ पुस्ताका संस्कृति हस्तान्तरण गर्न नसक्दा मौलिक तथा परम्परागत संस्कृति लोप हुँदै जान थालेका छन्। तिनै मौलिक र परम्परागत संस्कृतिभित्र रहेको एक संस्कृति हो मयूर नाच अर्थात् सेरिंगे नाच। 

मयूरको प्वाँख पछाडि राखेर नाचिने नाच समाजमा निकै आकर्षक नाचका रूपमा परिचित छ। मयूरका प्वाख पछाडि राखेर नाचिने भएकाले यसलाई कतिपयले गर्वा नाचबाट पनि चिन्ने गर्दछन्। मयूर नाचको मौलिकता हराउँदै गएको बन्दै सल्यानको दार्मा गाउँपालिका युवा परम्परा र संस्कृति संरक्षणमा जुटेका हुन्। हराउँदै गइरहेको सस्कृतिको संरक्षणसँगै उनीहरूले आम्दानी पनि गर्न थालेका छन्। 

जाजरकोटबाट मयूर नाँच अर्थात् सेरिंगे नाच भनेर चिनिने यो सस्कृतिको विकास भएको पाइन्छ। मयूर नाच सल्यान, रुकुम, रोल्पामा निकै प्रख्यात रहे पनि युवाको संस्कृति संरक्षणमा वास्ता नहुँदा हराउँदै जान थालेको छ। 

गीतबाट नभई मादल र अगुवाको तालमा नाचिने यो नाच संरक्षण गर्नुपर्छ भनेर क्लब नै गठन गरेर अघि बढिरहेको दार्मागाउँपालिका- ३ शिव हमालले बताए। गाउँका अधिकांश युवा विदेशिने, रोजगारका कारणले नयाँ पुस्तामा नाच सिक्ने चाहना नदेखिएको हमालको भनाइ छ। मयूर नाचमा कम्तीमा पनि १५ देखि ३२ जनासम्म युवायुवती चाहिने उनको भनाइ रहेको छ। बुढापाकाहरु मेलापर्वमा कहिलेकाहीँ लट्ठे मार पर्ने र उक्त लट्ठीमारबाट बच्नका लागि छल्ने क्रममा यस नाचको विकास भएको स्थानीय वृद्धहरुको भनाइ छ। 

गाउँका युवा मिलेर बनाएको समूहले मेला, पर्व, चाडवार्ड र विभिन्न कार्यक्रमहरूमा आफ्नो नाँच प्रस्तुत गर्ने उनले बताए। संस्कृतिको संरक्षणसँगै आर्थिक रुपमा सवल बन्दै गइरहेका छौँ हमालले भने। उनले भने, ‘पहिले गाउँका दाईभाईहरू सँग नाचिन्थ्यो, सबै आ आफ्नो पेशामा लागेपछि यो नाच हराउँदै गइरहेको थियो अहिले परिवर्तनशील युवा क्लब बनाएर सेरिंगे नाचलाई निरन्तरता दिँदै आइरहेका छौँ।’ 

संस्कृति जगेर्ना गर्ने उद्देश्यले नै क्लब गठन गरेर जोडिएको राजु केसीले बताए। संस्कृति जगेर्ना गर्नका लागि नै आफूहरूलाई अभिभावकहरूले क्लबमा आबद्ध गराएको गीता रोकायले बताइन्। महिलाहरू मयूर नाचमा नाच्नु हुँदैन भन्ने सोचलाई परिवर्तन गर्न पनि आफूहरू समूहमा आबद्ध भई मयूर नाच नाचिरहेको रोकायको भनाइ छ। 

मयूर चरा लोप हुँदै जानु तथा गरुवा बनाउने सीप भएका व्यक्तिहरूको अभावका कारण थप समस्या हुने गरेको पुष्पा रोकायले बताइन्। उनले भनिन् ‘अवैध चोरी सिकारी कारण मयूर पाउन छाडिसक्यो। मयूरको प्वाँख नहुँदा यस नाचको कुनै अर्थ हुँदैन मयूरको प्वाख पाइहाले पनि गरुवा बनाउने जनशक्ति नहुँदा संरक्षणमा समस्या भएको छ।’ 

पुराना लोक संस्कृति झल्किने परम्परा संरक्षण गर्न गाउँपालिकाले पनि पहल गर्ने गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए। गाउँमा सिकाउनेको अभाव नभए पनि सिक्नेको अभाव रहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.