|

काठमाडौं :  स्वर सम्राट नारायण गोपालको २८ औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिएका स्वर सम्राट् नारायण गोपालको स्मृतिमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको थियो।

यसै अवसरमा काठमाडौंस्थित नारायण गोपाल संगीत कोषमा आयोजित  एक कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई ‘नारायणगोपाल स्मृति सम्मान’ले सम्मानित गरिएको थियो। वरिष्ठ संगीतकार कर्म योञ्जन, वरिष्ठ अभिनेता नीर शाह, गीतकार राजेन्द्र रिजाल,  दिनेश अधिकारी, वरिष्ठ चिकित्सक डा. दीर्घसिंह बम र अर्थशाष्त्री विश्वम्भर प्याकुरेललाई सम्मानित गरिएको थियो।

कार्यक्रममा साहित्यकार तथा नारायण गोपाल संगीत कोषकी अध्यक्ष उषा शेरचनले नारायण गोपाल नेपाली सांगितीक क्षेत्रले हरक्षण सम्झीरहने व्यक्तित्व रहेको बताइन्। उनले नारायण गोपालका गीतमा प्रेरणाका अनगिन्ती स्रोत रहेको पनि उल्लेख गरिन्।

वरिष्ठ अभिनेता नीर शाहले स्वर सम्राट् नारायण गोपाल स्वरजस्तै व्यवहारमा पनि सम्मानयोग्य रहेको स्मरण गरे। नारायण गोपालबारे बोल्दै गर्दा भावुक देखिएका उनले नारायण गोपाल गम्भीर अध्येता रहेको पनि बताए। कार्यक्रममा नयाँ पुस्ताका गायक गायिकाले उनको सम्झनामा गीत पनि गाएका थिए।

स्वर सम्राट् नारायण गोपाल १९९६ साल असोज १८ गते काठमाडौंमा जन्मिएका हुन्। उनी संगीतका हरेक विधामा उत्तिकै प्रखर मानिन्छन्। उनका सबै गीत कालजयी र चर्चित रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.