|

डेढ वर्ष अगाडि म इलाममा कार्यरत थिएँ। घर परिवार सबै झापामा भएकाले प्रायः साप्ताहिक रूपमा झापा झर्थें। त्यस क्रममा एउटा गाडी, जुन गाडीमा म नियमित ओहोर–दोहोर गर्थें, ती गाडीवाला पहिले सहचालक थिए, पछि आफैँ ड्राइभर भएछन्। उनी अवकासप्राप्त सैनिक पनि रहेछन्। एक पटक गफै गफमा उनले मलाई सोधे– ‘हजुरको श्रीमान्चाहिँ के गर्नुहुन्छ म्याडम?’ 

यो प्रश्न मेरा लागि नौलो थिएन। चाहे पहिलेदेखि चिनजान भएका व्यक्ति हुन् वा नयाँ परिचय भएका व्यक्ति हुन्, प्रायःको दोस्रो तथा तेस्रो नम्बरको प्रश्न हुन्थ्यो यो। मैले जवाफ दिएँ– ‘मेरा श्रीमान् घरमै बस्नुहुन्छ।’ उनलाई अझै जान्न मन लागेछ, ‘केमा जागिर गर्नुहुन्छ नि?’ मैले फेरि सामान्य रूपमा सहज तरिकाले जवाफ फर्काएँ– ‘उहाँले घरव्यवहार सम्हाल्नुहुन्छ, छोरीको स्याहारसुसार गर्नुहुन्छ, घरमा गाइबाख्रा छन्, तिनको हेरविचार गर्नुहुन्छ अनि आमाबुबालाई सघाउनुहुन्छ।’

उनले फेरि पनि पत्याएनन् र अझै प्रस्ट हुन चाहे– ‘जागिर खाने महिलाका श्रीमान् पनि बेरोजगार हुन्छन् त?’ गाडीमा अरू यात्री पनि थिए। प्रायः कुनै न कुनै कार्यालयका कर्मचारी भेटिन्थे। एक जना सायद जिल्ला वन कार्यालयका कर्मचारी हुनुपर्छ, उनलाई पनि मेरो जवाफ चित्त बुझेनछ कि क्या हो वा मेरो श्रीमान्को पेसा थाहा पाउन मन लागेर हो, ड्राइभरको कुरा र मेरो कुरालाई व्यालेन्समा राख्दै भने– ‘केही व्यवसायमा लाग्नुभएको छ होला। गाईपालन वा अन्य व्यावसायिक कारोबार सम्हाल्नुभएको होला, होइन र म्याडम?’ 

म छक्क पर्छु– साँचो बोल्दा पनि पत्याउँदैनन्। फेरि उनीहरूलाई किन चासो भएको होला मेरा श्रीमान् के गर्छन्? कति कमाउँछन्? अनि मेरा श्रीमान्को कमाइबारे जानेर उनीहरूलाई के फाइदा हुने हो?

एक दिन कार्यालयकै कामले विभिन्न कार्यालयका कर्मचारी साथीहरूसँग सामूहिक अनुगमनको क्रममा निस्किएका थियौँ। सबै जनाबीच परिचय गरेर हामी गन्तव्यतिर जाँदै थियौँ। एक जनाले अर्कै कार्यालयकी म्याडमलाई सोध्नुभयो– ‘म्याडम, हजुरको साथीचाहिँ केमा इन्भल्भ हुनुहुन्छ?’ सायद म्याडमलाई पनि धेरै जनालाई यसको जवाफ दिँदादिँदा वाक्क भएर होला– ‘हजुरको साथी केमा काम गर्नुहुन्छ भनेर तपाईंलाई कतिको प्रश्न आउँछ सर?’ भनेर उल्टै सोधिदिनुभयो। प्रश्न सोध्ने सरको अनुहारको रङ बदलिएको प्रष्ट देखिएको थियो। 

साँच्चै मेरो मनमा नि प्रश्न खड्किन्छ– के हामीलाई जस्तै पुरुषहरूलाई नि प्रत्येक मानिसले पहिलो भेटमै तपाईंकी श्रीमती के गर्नुहुन्छ भनी सोध्लान् त?
कति महिलाहरू रहरले काम गर्दै छन् त कति बाध्यताले। कति एकल छन् त कति हिंसापीडित। कति महिलाहरू परिवार र समाजसँग लडेर जागिर खाइरहेका छन्। रहरले जागिर खाएका, घरपरिवार, श्रीमान्को साथ पाएर जागिर खाएका अनि श्रीमान् पनि आफूभन्दा राम्रै पदमा रहेर जागिर खाएका श्रीमतीलाई त ‘मेरो श्रीमान् यो काम गर्नुहुन्छ’ भनी गर्वले छाती फुलाएर जवाफ दिन सजिलै होला तर जसको श्रीमान् नै छैनन्, जो श्रीमानसँग मनमुटाव वा पारापाचुके भएर बसेका छन्, जसको श्रीमान् आफूभन्दा तल्लो पदमा कार्यरत छन् वा जागिरै नखाई बसेका छन् वा यस्तै केही छन् भने उनीहरूले कति जनालाई के भनेर जवाफ दिने होला?

मेरी एउटी साथी छन्, जसको श्रीमानसँग डिभोर्स भएको छ। उनकी एउटी छोरी पनि छन् र छोरीको भविष्य र आफ्नो लागि पनि अर्को विवाह नगरी जागरि खाँदै छन्। यस्तै प्रसंग निस्कँदा मैले सोधेँ– ‘तँलाईचाहिँ यस्ता प्रश्न कतिको आउँछन् र कसरी जवाफ दिन्छेस्?’ उसले दिक्क मान्दै भनी– ‘म त हैरान भइसकेँ यो प्रश्नबाट, कतिलाई भन्नु मेरो आन्तरिक कुरा?’ एक दिन मात्र भेट भएर वर्षौं देखाभेट नहुनेले पनि सोधिदिन्छन् यस्तो प्रश्न। 

एक जना अविवाहित तर अवकाश हुन लागिसकेकी मेरा सहकर्मी पनि यो प्रश्न सुनेर अवाक् भइसकिछन्। एक दिन ठट्टा गर्दै साथीहरूमाझ सुनाइन्– ‘अबदेखि निधारमा सबैले देख्ने गरी मेरो विहे नै भएको छैन, त्यसैले कृपया मेरो श्रीमान्को पेसा के हो भनेर नसोधिदिनुहोला भनी लेखेर टाँसी हिँड्नुपर्ला जस्तो छ।’

हाम्रो समाज विस्तारै परिवर्तन हुँदै छ। वि.सं. २०१० तिर महिलाको साक्षरता दर ०.७ प्रतिशत मात्रै थियो भने २०७० सालमा ६२ प्रतिशत पुगिसकेको शिक्षा विभागको प्रतिवेदनले देखाएको छ। शिक्षामा यति धेरै प्रगति हुँदाहुँदै पनि हाम्रो परंपरागत सोच र धारणाले गर्दा होला, एकातिर अझै पनि अधिकांश पढेलेखेका महिलाहरू कमाउने काम त श्रीमान्को हो भनेर आफू घर भान्छामै सीमित छन् भने अर्कातिर सम्पन्न भनिएका परिवारका महिलाहरू आफू पनि स्वरोजगार हुन चाहने तर घर परिवारको कारणले काममा निस्कन नसक्नेको जमात पनि त्यतिकै छ।

हाम्रा समाजमा केही महिलाका श्रीमानले घर परिवार र बालबच्चा हेरिदिएर श्रीमतीलाई जागिर र घरबाहिरका अन्य कामहरूमा अवसर दिएका छन् भनेर ससम्मान् सबैले स्वीकार गर्ने कहिले होला? अनि माथिल्लो पदमा जागिर खाने श्रीमतीको श्रीमानले गर्वका साथ हीनताबोध नगरी स्वस्थ भएर तल्लो पदमा खुसीखुसी जागिर खाने वातावारण कहिले बन्ला?

राष्ट्रिय महिला आयोगले प्रकाशन गरेको लैंगिक आधारमा विभाजित तथ्यांक, २०७४ को निश्कर्षमा लेखिएको छ– ‘समानताको दृष्टिकोणबाट समाज अघि बढ्दा अहिले महिलाका लागि मौका र संभावना बढेको छ। धेरै महिला अवसरका लागि घरबाहिर निस्किएका छन्। यो प्रक्रियाले उनीहरूलाई पूर्ण नागरिक हुने बाटोमा डोहो¥याएको छ। हिजोआज गाउँघरमा हुने मिटिङ, बैठकहरूमा महिलाहरू उपस्थित हुन थालेका छन्। समाजका निर्णयहरूमा उनीहरूका कुरा सुन्न र उनीहरूसँग आवश्यक सरसल्लाह लिन थालिएको छ। 

बजारमा किनमेल गर्नेदेखि पैसाको लेनदेनसम्मका व्यवहार महिलाले सम्हालेका छन्। आमा समूहका क्रियाकलाप, विकाससम्बन्धी संघसंस्था, ऋण तथा बचत संस्था, सामुदायिक वन समिति, अन्तरपार्टी महिला संजाल आदिका क्रियाशीलताले महिलाको आत्मबल बढाएको छ। महिलाहरू गाउँका हाटबजारदेखि शहरका सेमिनार हलसम्म पुरुषहरूसँग विकासका सवालमा वैचारिक छलफलमा जुट्न थालेका छन्।’

महिला आयोगको यो निश्कर्ष यथार्थ र समाजमा स्वीकारयोग्य नै छ। त्यति नै स्वीकारयोग्य कुरा के पनि छ भने नीति निर्माण तह र उच्च पदस्थ सबै स्थानमा अझै पनि महिलाहरू समानान्तर रूपमा पुग्न सकेका छैनन्। जति पुगेका छन्, उनीहरू क्षमता, योगदान र संघर्षले नै पुगेका होलान् र त्यसका लागि घर परिवार र श्रीमानको साथ र सहयोगले नै पुगेका होलान्। जति पनि पुरुषहरू समाजमा गर्व गर्न लायकका छन्, पक्कै पनि त्यसमा उनीहरूका श्रीमतीको पनि योगदान रहेकै होला। समाजमा महिलाले प्रगति गरे पनि वा पुरुषले प्रगति गरे पनि प्रगति समाजकै हुने हो।

जागिर महिलाले खाए पनि वा पुरुषले खाए पनि आआफ्नो घरव्यवहार चलाउने नै हो। वैदेशिक रोजगारीमा पुरुष वा महिला जो गए पनि रेमिट्यान्स नेपालमै भित्रिने हो। यो कुरा सबैले बुझेका छन्, जानेका छन् तर आजसम्म मैले कुनै पनि क्षेत्रका अगुवा पुरुषलाई तपाईंकी श्रीमती के गर्छिन् भनेर सोधेको सुनेको छैन। तर प्रत्येक महिलालाई सामूहिक कुराकानीमा होस् या व्यक्तिगत भेटघाटमा पुरुषले होस् या महिलाले नै किन नहोस् एक दिन मात्र भेट हुनेले होस् या नियमित भेट हुनेले किन नहोस् सबैको प्रश्न आउँछ, तपाईंका श्रीमान् के गर्नुहुन्छ? 

हाम्रा समाजमा केही महिलाका श्रीमानले घर परिवार र बालबच्चा हेरिदिएर श्रीमतीलाई जागिर र घरबाहिरका अन्य कामहरूमा अवसर दिएका छन् भनेर ससम्मान् सबैले स्वीकार गर्ने कहिले होला? अनि माथिल्लो पदमा जागिर खाने श्रीमतीको श्रीमानले गर्वका साथ हीनताबोध नगरी स्वस्थ भएर तल्लो पदमा खुसीखुसी जागिर खाने वातावारण कहिले बन्ला?

काम सानो–ठूलो हुँदैन। डिग्री गर्नेले पनि त गाई पालेका छन्। सरकारी जागिर बीचमै छाडेर व्यवसायी बनेका उदाहरण पनि त छन्। प्रख्यात व्यवसायी र सम्पन्न परिवारका व्यक्तिले पनि त महिनावारी तलबमा काम गरेका छन्। हरियो डलर छाडेर सागसब्जी फलाउने पनि त छन्। काम त आफ्नो रुचि र क्षमताअनुसारकै गर्ने हो, चाहे महिलाले होस् या पुरुषले। एउटी महिलाले घरधन्दा, बालबच्चा सबै सम्हालेर आफ्नो श्रीमान्लाई बाहिर जागिर या काम गर्ने अवसर जुटाइदिँदा सामान्य नै लाग्छ तर श्रीमानले घर परिवार र बालबच्चा सबै सम्हालेर आफ्नी श्रीमतीलाई जागिर खान पठाउँदा यो समाजलाई किन आश्चर्य लाग्छ होला?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.