|

काठमाडौं : सधैँ सवारी साधन व्यवस्थापन गरेर घर फर्किने सुमनप्रसाद कँडेल मंसिर १६ गते पनि ट्राफिक व्यवस्थापनको काम सकेर राती १२ बजे घर फर्किंदै थिए। दिनभरिको ड्युटीका कारण गलेको ज्यान हिँडेर घर जाने कुरा थिएन। प्रहरी जवानमा जागिरे भएपछि सुख, दु:ख गरेर जोहो गरेको केही रकमले केही महिनाअघि मात्र किनेको बा९४प ६१७९ नम्बरको स्कुटर स्टार्ट गरेर कालीमाटी,बल्खुचोक, रिङरोड हुँदै एकान्तकुना पुग्दा उनी दुर्घटनामा परे।

दुर्घटनामा परेर गम्भीर घाइते भएका कँडेलको राती नै उपचारका क्रममा अल्का अस्पतालमा मृत्यु भयो। अब उनी ट्राफिक जाम हटाउन कालीमाटी ट्राफिक प्रभागमा कहिल्यै पुग्नेछैनन् तर कँडेललाई ठक्कर दिने सवारी साधनको यकिन पहिचान भने अझै हुन सकेको छैन।

प्रहरीले राती कँडेललाई अल्का अस्पतालसम्म पुर्‍याउने बा१६च ६८०२ नम्बरको कार धनीलाई नियन्त्रणमा लिएको छ। उनको कारमा समेत क्षति पुगेकाले उनैले चलाएको कारको ठक्करबाट प्रहरी जवान कँडेलको मृत्यु भएको ललितपुर प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालका अनुसार उनलाई थुनामा राखेर अनुसन्धान भइरहेको छ।

त्यसैगरी, टेकुको प्रेट्रोल पम्पअगाडि मंसिर १२ गते बिहान ४ बजे एकजना युवा सवारी साधनको ठक्करबाट गम्भीर घाइते अवस्थामा सडकमा फेलापरे। उनलाई प्रहरीले उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाउँदा पठाउँदै बाटोमै मृत्यु भयो। मृत्यु हुनेमा कंचनपुर महेन्द्रनगर नगरपलिका- १८ का १९ वर्षीय जीवन सिंह थिए।

सिंहलाई ठक्कर दिने सवारी साधनबारे भने प्रहरीलाई अत्तोपत्तो थिएन। सावारीधनी ठक्कर दिएपछि फरार थिए। ‘हिट एण्ड रन’ प्रहरीले सवारी साधन खोज्ने कोसिस गर्‍यो। सिसिटिभी फुटेज केलायो। ठक्कर भ्यानले दिएर भागेकोसम्म महानगरीय प्रहरी परिसरले सिसिटिभीबाट पत्ता लगायो तर सवारी साधनको नम्बर पहिचान हुन सकेन।

प्रहरी परिसरले महानगरीय प्रहरी वृत्त कालीमाटीको सहयोग लियो। प्रहरीले कालीमाटी तरकारी बजारमा बिहान तरकारी ल्याउने भ्यानबारे अनुसन्धान सुरु गर्‍यो। सोही अनुसन्धानका क्रममा प्रहरीले काभ्रे बनेपा नगरपालिका- ५ का ३६ वर्षीय कुमार श्रेष्ठले चलाएको भ्यानबारे शंका गर्‍यो। प्रहरी बनेपा पुग्यो। श्रेष्ठले बा१७च ३२९३ भ्यान घरमै पार्किङ गरेका थिए। प्रहरीले उनीमाथि सोधपुछ गर्‍यो तर श्रेष्ठले घटना स्वीकार गर्नै मानेनन्।

प्रहरीले उनकी श्रीमतीको बयान लिए। श्रीमतीको बयानका आधारमा कुमारले नै ठक्कर दिएको खुलेपछि श्रेष्ठलाई ठक्कर दिएको छ दिनपछि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर हिरासतमा राखेको छ।

त्यसैगरी अभिनेता विपीन कार्की मंसिर ४ गते दुर्घटनामा परे। चलचित्र ‘जात्रै जात्रा’को सुटिङमा जान घरबाट हिँडेका उनी कालीमाटीमा दुर्घटनामा परेका थिए। बाइकमा सवार कार्कीलाई अर्को बाइकले ठक्कर दिएको थियो। बाइकको ठक्करबाट उनको दाहिने खुट्टा फ्र्याक्चर भयो। हाल उनी उपचारका क्रममा छन्।

उनको दुर्घटनाले फिल्मको छायांकनमा समेत असर परेको छ तर कार्कीलाई ठक्कर दिने मोटरसाइकल चालक भने फरार थिए। घटना भएको केही दिनमा कालीमाटी प्रहरीले सिसिटिभीको अाधारमा चालकलाई नियन्त्रणमा लिएको थियो।

त्यस्तै, कार्तिक २६ गते टोखामा सन्तोषी थापा चढेको बा९८प ९४३४ नम्बरको सक्कुटरलाई तीब्र गतिमा हुइँकिएको डुक मोटरसाइकलले ठक्कर दियो। मोटरसाइकल चालक फरार भए। स्थानीले नम्बर ४२८७ त टिपे तर लट यकिन हुन सकेन। स्कुटर चालक महानगरीय ट्राफिक प्रहरी महाशाखामा निवेदन दिन पुगे।

महाशाखा प्रहरीले डुक मोटरसाइकल शो रुमको सहयोगमा टोखाका रितेश डंगोलको बा८४प ४२८७ पहिचान गरेर मंसिर ११ गते नियत्रणमा लिएर मिलापत्र गराएको छ।

'हिट एण्ड रन'का माथिका केही प्रतिनिधि घटना मात्र हुन्। यसरी 'हिट एण्ड रन'का घटना उपत्यकामा बढ्दो मात्रामा रहेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ।

एकातिर सवारी साधन बढ्दो छ। सडकको अवस्था राम्रो छैन। त्यसमा चालकहरूले लापरवाही गर्दा दुर्घटना बढ्ने गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तको भनाइ छ। 'ठक्कर दिएर सवारी चालक लुक्न खोज्छन्, त्यो अर्को समस्या हुँदै गएको छ', पन्तले भने। सिसिटिभीमार्फत् काठमाडौंका धेरै ठाउँको निगरानी ट्राफिक प्रहरीले रानीपोखरी कार्यालयमार्फत् गर्ने हुँदा केही घटनामा फरार हुने सवारी नियन्त्रण गर्न सजिलो हुने भए पनि कतिपय 'हिट एण्ड रन'का घटनामा फरार चालकलाई पहिचान गर्न नसकिने प्रहरीको भनाइ छ। 

यस्तो छ तथ्यांक

ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा उपत्यकाका विभिन्न ठाउँमा गरी ६३० वटा 'हिट एण्ड रन'का निवेदन परेका छन्।

त्यसमध्ये ट्राफिक प्रहरीले सिसिटिभी र अन्य अनुसन्धानबाट ४४९ सवारी चालकलाई नियन्त्रणमा लिएर पीडित पक्षलाई क्षतिपूर्ति दिलाएको महाशाखाले जनाएको छ।

त्यसमध्ये आठवटा मिलापत्रको क्रममा रहेको र १७३ सवारी चालकको अझै अनुसन्धान प्रक्रियामै रहेको प्रहरीको भनाइ छ। त्यस्तै, चालू आर्थिक वर्ष २०७५/०७६ को पाँच महिनामै २०० 'हिट एण्ड रन'का निवेदन परेका छन्।

त्यसमध्ये १०० बढी सवारी चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ। कुनै सवारीको विवरण यातायात कार्यालयमा समेत नहुँदा पहिचान गर्न गाह्रो हुने महाशाखाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.