सरकारले एउटा धर्म परिवर्तन गर्ने संस्थालाई साथ पुर्‍यायो : अध्यक्ष राणा

|

काठमाडौं : राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणासँग राज्य संचालनको पटक पटकको अनुभव छ। २००७ सालमा नेपालले राजनीतिक फड्को नमारेको भए उनी श्री ३ महाराज बन्ने थिए। पंचायत र बहुदलीय शासन व्यवस्थामा उनी पटक पटक मन्त्री बने। शासकले के गर्न हुन्छ र के गर्नु हुन्न भन्नेमा उनी धेरै हेक्का राख्छन्।  

भारतसँग सधैँ स्थिर र सुमधुर सम्बन्ध रहेका राणा नेपालको राजनीतिमा भारतलाई मुछ्न नहुने बताउँछन्। हिन्दुको मुद्दा बोकेका अध्यक्ष राणा एसिया प्यासिफिक सम्मेलनले मुलुकमा धार्मिक युद्धको खतरा बढेको बताउँछन्। प्रस्तुत छ सरकारका काम कारवाही, राप्रपा एकतालगायतका विषयमा थाहाखबरले राणासँग गरेको कुराकानीको संक्षेप।

यो सरकारको कामकारवाही कस्तो छ?

राम्रो छैन। अपेक्षित छँदै छैन। मैले चार महिनाअघि नै भनेको थिएँ- सरकार भए/नभएको थाहा भएन।

कसरी?

यो सरकार २०४७ यताको सबैभन्दा शक्तिशाली हो। दुई तिहाइको सरकार हो। यो वाम गठबन्धनको सरकार हो। तर सरकारले के उल्लेखनीय काम गर्‍यो त? केही छैन। प्रधानमन्त्री केपी ओलीले जुन वाम गठबन्धन बनाउनुभयो र सफलता हात पार्नुभयो तर सरकार चलाउँदा केही उल्लेख गर्न लायक काम गर्नुभएको छैन। सबैभन्दा शक्तिशाली सरकार, जसले आफ्नो अस्तित्वबोधसमेत गराउन सकेन।

सरकारी काम त आजको भोलि नै देखिँदैनन् नि?

सरकार एसिया प्यासिफिक समिटको आवरणमा एउटा धर्म गुरुको प्रचार गर्न सरिक भयो। सरकारको सम्पूर्ण संयन्त्र परिचालित भयो त्यो काममा। कुनै न कुनै रूपमा सरकारको संलग्नतामै यो काम भयो। राज्य एउटा धर्म प्रचारका लागि सरिक हुनु अत्यन्तै विडम्बनापूर्ण हो। त्यसले मुलुकमा धार्मिक युद्धको खतरा बढाएको छ।

हो, कतिपय कामको परिणाम ढिलो देखिन्छ तर त्यस्ता काम पनि के भएका छन् र! विकासकै कुरा गरौँ, राष्ट्रिय गौरवका आयोजनाकै बेहाल छ। मेलम्चीको पानी काठमाडौंमा आउने मिति पटक पटक सरेकै छ। माथिल्लो तामाकोसी पनि ढिलै हुँदै गएको छ। अरू ठूला आयोजनाको पनि हालत उस्तै छ। अझ पछिल्ला दिनमा त झन गलत गलत काम गर्दै हिँडेको छ सरकार। धर्मान्तर गराउनेहरूको मतियार बन्दै छ सरकार।

तपाईंले त्यो एसिया प्यासिफिक सम्मेलनको कुरा गर्नुभएको हो?

हो, हेर्दै जानुहोस्। सरकार एसिया प्यासिफिक समिटको आवरणमा एउटा धर्म गुरुको प्रचार गर्न सरिक भयो। सरकारको सम्पूर्ण संयन्त्र परिचालित भयो त्यो काममा। कुनै न कुनै रूपमा सरकारको संलग्नतामै यो काम भयो। राज्य एउटा धर्म प्रचारका लागि सरिक हुनु अत्यन्तै विडम्बनापूर्ण हो। त्यसले मुलुकमा धार्मिक युद्धको खतरा बढाएको छ।

त्यस्ता गतिविधिमा त विगतदेखि नै राजनीतिक दलका नेताहरू सामेल हुँदै आएका थिए नि?

थिए होलान्। कोको थिए, किन त्यसमा सामेल भए, उनीहरू नै जानुन्। म कहिल्यै त्यस्ताको पछि लागिनँ।

तर मुख्य कुरा के भने व्यक्तिगत सहभागिता र सिंगो राज्य संयन्त्र नै लाग्नु धेरै फरक विषय हो। यसमा त सिंगो राज्य संयन्त्र लाग्यो। म त हिन्दु राष्ट्र हुनुपर्छ भन्ने मान्छे। उहाँहरू त राज्यले धर्म विशेषलाई हेर्नुहुँदैन भनेर धर्मनिरपेक्ष राष्ट्र भन्ने मान्छे। संविधानले नै मुलुकलाई धर्मनिरपेक्ष भनिसकेको छ तर एउटा धर्म परिवर्तन गराउने संस्थाका लागि यत्रो नाटक र समर्पण किन? केका लागि?

किन र केका लागि त, तपाईंलाई कस्तो लाग्छ?

यो उहाँहरूले नै जान्ने कुरा हो। यही प्रश्नको जवाफ नेपाली जनताले खोज्दै छन्। होटलमै बस्ने र अवार्डसमेत लिने काम किन भयो? प्रधानमन्त्रीले पनि स्पष्ट पार्नुपर्‍यो।

कुनै संस्थाले अफर गर्दा त्यो स्वीकार गर्ने कि नगर्ने भन्नेमा छलफल हुने गर्थ्यो तर मैले संचार माध्यमबाट सुनेँ, प्रधानमन्त्रीले अवार्ड लिनेबारे मन्त्रिपरिषद्‌मा निर्णय त के छलफलसम्म भएको छैन। कमरेड ओलीले कसरी अवार्ड स्वीकार गर्नुभयो? मैले बुझ्न सकेको छैन।

सरकारले त ४२ देशका प्रतिनिधिलाई होटलमै बसेर भेट्दा प्रधामन्त्री र यातायात व्यवस्थापन पनि सहज हुने भनेर भन्नुभएको छ नि?

होला, तर राजधानीभित्रै होटलमै गएर प्रधानमन्त्री बस्दा कस्तो सन्देश गयो? कूटनीतिक मर्यादा पनि हुन्छ। मेरो स्मरणमा अहिलेसम्म नेपालका प्रधानमन्त्रीले यस्तो काम गरेका थिएनन्। हाम्रा प्रधानमन्त्री कसलाई भेट्न जाने र हाम्रा प्रधानमन्त्रीलाई को भेट्न आउने भन्ने कूटनीतिक मर्यादा पनि हुन्छ। तर अचम्म! प्रधानमन्त्री नै होटलमा बसिदिए।

अनि सुशासन र नेतृत्वसम्बन्धी अवार्डमा किन आपत्ति?

मैले जानेअनुसार सरकार, प्रधानमन्त्री वा मन्त्रीले के अवार्ड वा पुरस्कार लिने र के नलिने भन्ने बुझ्नुपर्छ। शासन सत्तालाई प्रभावित नहोस् वा कुनै चन्दा वा पुरस्कारले राज्यले आफ्नो कर्तव्य नभुलोस् भनेर त्यसको निश्चित विधि र प्रक्रिया तोकिएको हुन्छ। जसले जे मन लाग्यो, त्यही गर्न मिल्दैन। कुनै संस्थाले अफर गर्दा त्यो स्वीकार गर्ने कि नगर्ने भन्नेमा छलफल हुने गर्थ्यो तर मैले संचार माध्यमबाट सुनेँ, प्रधानमन्त्रीले अवार्ड लिनेबारे मन्त्रिपरिषद्‌मा निर्णय त के छलफलसम्म भएको छैन। कमरेड ओलीले कसरी अवार्ड स्वीकार गर्नुभयो? मैले बुझ्न सकेको छैन।

नेपाललाई सांस्कृतिक र धार्मिक उपनिवेश बनाउने षड्यन्त्र भइरहेको छ। त्यसको औजार सरकार बन्यो। ओलीजीले त्यसको चाँजोपाँजो मिलाइदिनुभयो।

यो सम्मेलनपछि नेपाल-भारत सम्बन्धमा केही फरक पर्छ?

यो नेपालको मामिला हो। नेपालमा सम्मेलन भयो। नेपालमै विरोध भएको हो। भारतलाई जोड्न दरकार छैन।

फरक सन्दर्भ, पछिल्लो निर्वाचनयता एउटा प्रश्न आउने गरेको छ। के नेपाल दुईदलीय व्यवस्थातर्फ जान लागेको हो?

मलाई त्यस्तो लाग्दैन।

किन? प्रजातन्त्रवादी र कम्युनिस्टहरूको ध्रुवीकरण हुन सक्दैन र!

नेकपा एउटा दल हो तर त्यो दल नै एक मतले चल्न सकेको छैन। एक रहन सक्छ कि सक्दैन भन्ने छ। कांग्रेसमा पनि अनेक समूह छन्। यो पृष्ठभूमिले नेपालमा दुई दलीय व्यवस्था आउला जस्तो लाग्दैन।

राजनीतिक ध्रुवीकरणमा तपाईं सधैँ कांग्रेसतर्फ उभिनुभयो। अहिले कांग्रेसको भूमिका कस्तो लागिरहेको छ?

सन्तोषजनक छैन। दु:खका साथ भन्नुपर्छ- मुलुक अप्ठेरोमा परिरहँदा कांग्रेस भने आफ्नै एजेन्डामा अलमलिएको छ।

तीन राप्रपा अब नमिल्ने भएका हुन्?

होइन। छलफल जारी छ।

सबै विषयमा सहमति भए पनि राजसंस्थाको बारेमा कुरा मिल्न सक्दैन भन्छन् नि?

त्यो छलफलमै छ। त्यसबारेमा पनि सहमतिको सूत्र निस्किएको छ।

के हो त्यो?

छलफलमै छ। म अर्को अन्तर्वार्तामा भन्नेछु।

कहिलेसम्म टुंगोमा पुग्छ त एकता?

म मिति नै किटान गर्न सक्दिनँ तर राप्रपा पृष्ठभूमिका दल, समूह र व्यक्तिहरू समेतलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ। आशा छ, त्यसले छिट्टै पूर्णता पाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.