|

पोखरा : राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना तीन दशकअघि जेलमा बसेको कोठामा पुगेर निरिक्षण गरेका छन्। शनिबार पोखरा कारागारको निरिक्षण गर्ने क्रममा उनले २०४२ सालमा जेल पर्दा त्यस जेलमा गरेका गतिविधिहरु पनि सम्झिए।  

सरकारको विरुद्धमा बोलेको आरोपमा पहिलो पटक २०४२ सालमा पक्राउ परेका उनलाई पोखरा कारागारमा ल्याएर राखिएको थियो। कारागारको स्वरुप, रंगरोगन फेरिएकोले उनलाई आफू बसेको कोठा ठम्याउन गाह्रो प¥यो। तर, कारागारको क ब्लकका नाइके अनुप गुरुङले चिनाइदिए। 

अध्यक्ष तिमिल्सीनालाइ देखाउँदै नाइके गुरुङले भने, ‘तपाइँहरु बसेको कोठा यो हो, यहाँ केपी ओली पनि बस्नु भएको। केही समय अघिसम्म प्रधानमन्त्रीज्यूले यही जेलमा बसेर लेखेको कविता यहीँ थियो।’ 

यति सुनेपछि तिमिल्सीनाले पुराना दिनहरु सम्झिए र भने, ‘ए हो पहिले यस्तो थिएन। हामी यहाँ बस्दा गाह्रो थियो । साँघुरो, जेलमा बस्नेहरुले गरेको पिसाब हामी बस्ने कोठा अगाडि जम्मा हुन्थ्यो।  हामी बोत्तले उबाउँदै तरकारीमा लगेर हाल्थ्यौँ ।’ उनले आफू जेल परेको ताकाको मान्छे कोही छ कि भनेर समेत सोधे तर कोही रहेनछन् । 

पहिलो पटक २०४२ सालमा जेल परेका उनलाई छ महिना मात्रै त्यहाँ राखिएको रहेछ। त्यहाँबाट सिधै बिरगंज पठाइएछ। फेरी २०४४ सालमा पोखरा कारागारमा नै फर्कायो। फर्काएर ल्याउँदा पनि उनी सोही कोठामा बस्न पाए। सबैतिर गरेर चार वर्ष जेलजीवन विताएका तिमिल्सीनाले १४ महिना पोखरा कारागारमा नै विताएका थिए। 

कारागार निरिक्षणको क्रममा उनले महिला कैदीबन्दी, बृद्धबृद्धा, युवा, युवती सबैलाई भेटेर गुनासो सुने । एक महिला कैदी बन्दीले मलाइ एउटा कुरा भन्नु छ भनेर भनिन्, ‘हामीलाई जाँच गर्ने नर्स चाहियो । भएका पुरुष छन्। पुरुषलाई हामीले हाम्रो पीडा ब्यथा सबै भन्न सकेनौँ।’ 

कारागारका निमित्त जेलर विष्णु प्रसाद सुबेदीका अनुसार यहाँ एक जना मात्रै स्वास्थ्यकर्मी छन्। दुई सय २५० हाराहारी कैदी बन्दी क्षमता रहेका उक्त कारागारमा ७५८ जना कैदी बन्दिहरु छन्। यी मध्ये १३ जना विदेशी कैदीहरु छन्। 

उनले कारागार सुधार गर्नका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने समेत बताए। उनले कैदीबन्दीका लागि चाउचाउ विस्कुट समेत ल्याएर वितरण गरे।
कारागार भित्र निरिक्षणको क्रममा उनले शौचालय, खानेबस्ने ठाउँ,  स्वास्थ्य उपचार, आफन्तसँगको भेटघाटमा सहज भए नभएको बारे जानकारी लिए। कारागारमा कैदीहरु कोही मुडा बुन्दै कोही तान लगाएर भांग्रा बुन्दै, कोही कारागार भित्रै चटपट बनाउने, कोही पसलमा सामान बेच्दै गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.