|

सिरहा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाकै मध्यविन्दुमा पर्ने गोलबजार सिरहा जिल्लाका तत्कालीन असनपुर, आशोपुर बल्कवा, बेतौना, लालपुर, मुक्सार, जमदह, चन्द्रलालपुर, चन्द्रोदयपुर गाविस समेटेर २०७१ मंसिर १६ गते नगरपालिका घोषणा भएको हो। २०७२ फागुन २२ गते साविकको दुर्गापुर गाविससमेत समेटेर १३ वटा वडा कायम भएको गोलबजार नगरपालिकाको वि.सं. २०६८ को जनगणनाअनुसार ५२ हजार १२७ जनसंख्या रहेको छ। पूर्व-पश्चिम नौ किलोमिटर र उत्तर-दक्षिण १४ किलोमिटर लम्बाइ रहेको गोलबजार नगरपालिकाको क्षेत्रफल १११.९४ वर्ग किलोमिटर रहेको छ। भूगोलको आधारमा जिल्लाको तेस्रो ठूलो नगरपालिका हो यो।

स्थानीय तहको तेस्रो चरणअन्तर्गत २०७४ असोज २ गते सम्पन्न निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित ६९ वर्षीय देवनाथ साह सक्रियताका हिसाबले निकै अगाडि देखिन्छन्। नगर प्रमुख निर्वाचित भएपछि नगरको दैनिक प्रशासनदेखि विभिन्न वडामा संचालित विकास निर्माणका कामको अनुगमन, सेवाग्राही जनतासँग भेटघाट जस्ता काममै व्यस्त रहने प्रमुख देवनाथ साहसँग थाहाखबरका लागि गरिएको कुराकानी प्रस्तुत छ। 

निर्वाचन भएको एक वर्ष पूरा भयो, केके काम गर्नुभयो?

निर्वाचनपछि सुरु गरिएका कामहरू चुनावी घोषणापत्रअनुसार छन्। नगरपालिकालाई सबै वडासँग जोड्ने सडक संजालको विस्तार भएको छ। नगरका १३ वटै वडामा मानव संशाधनको विकास, वडाहरूमा एक लाइन कालोपत्रे गर्ने कामको अन्तिम तयारी गरिएको छ। मानव संशाधनको विकासका लागि सामाजिक संघसंस्थामार्फत् सीपमूलक तालिम, जनचेतना अभिवृद्धि, तालिम सिकेर प्रमाणपत्र पाएकाहरूलाई समूहगत जमानतमा बैंक ऋण उपलब्ध गराउन समन्वय गरी स्वारोजगार बनाउने उद्देश्यसहित काम हुँदै छ। त्यसका लागि नगरपालिकाले आवश्यकताअनुसार समन्वय गरिरहेको छ। केही वडाहरूमा सामूहिक ऋणका लागि समूह बनेका छन्, केहीमा बन्ने क्रम जारी रहेको छ। त्यसका आधारमा नगरपालिकाले बैंकमार्फत् सामूहिक ऋणका लागि समन्वय गर्दै छ। 

नगरको केन्द्रलाई सबै वडाहरूको सडक संजालसँग जोड्न कुन वडामा सडक बन्दै छन्? 

नगरपालिकाका वडा नं. २, ६, १, ३, ४, ८, ११ मा कालो पत्रे गर्नेगरी माटो भर्ने, ग्राभेलिङको काम भएको छ। नगरको ७, ९, १०, २, ८, ६ नं. वडा जोड्ने सडकको विस्तारसहितको काम पिच गर्नेगरी भइरहेको छ। हरेक वडा तहको बजेटबाट पनि २-३ किलोमिटर सडक बनाउने काम जारी छ। निर्वाचनपछि नगरको नीति तथा कार्यक्रम, बजेट विनियोजनलगायतका कामहरू गर्नुपरेकाले गत आ.व.को बैशाखदेखि असार मसान्तसम्म उल्लेखित निर्माणका कामहरू गरिएको छ।

माटो र ग्राभेलिङको काम सम्पन्न भएका सबै वडाका सडकहरू चालू आ.व.मा कालोपत्रे गरिसक्ने लक्ष्यसहित काम हुँदै छ।

नगर क्षेत्रमा भौतिक पूर्वाधार र निर्माणको कामले सन्तुष्ट हुनुहुन्छ? 

नगर प्रमुखको हैसियतले खुुसी नहुने त कुरै भएन। मभन्दा बढी सेवाग्राही जनता खुसी भएका छन्। जनताले अपेक्षा गरेअनुसारको काम गरेको छु। नगरपालिकाको भौतिक निर्माणको कामले जनता खुसी छन्। पूर्वाधारको विकासले मात्र समृद्ध नगर बन्न सक्छ भन्ने कुरा सेवाग्राहीले राम्ररी बुझेकाले जनताको पनि सहयोग पाएका छौँ। 

नगर प्रमुख भएपछि नियम, कानुन, पदीय गरिमा सबैलाई ख्याल गरेर मात्र तौलेर, विचारेर बोल्नुपर्ने रहेछ। नगर प्रमुख भएपछि सबैको कुरा सुन्ने र नगरको निर्णयअनुसार काम गर्ने, त्यस काममा सेवाग्राही नगरबासीको सहयोगले अगाडि बढ्दै छु। 

नगरपालिकाले लगाएको करको विषयमा जनतामा असन्तुष्टि पनि देखिएको छ नि?

नगरपालिकाले कर बढाएको भ्रम छर्ने काम बढी भयो। निर्वाचनभन्दा अगाडिदेखि विभिन्न शीर्षकमा लाग्दै आएको करलाई नगर कार्यपालिकाले व्यवस्थित मात्र गर्न खाजेको हो। स्थानीय हाट बजारमा खरिद बिक्री हुने कृषि, पशुजन्य वस्तुमा कर लिन्थ्यो नगरपालिकाले। निर्वाचनपछि बनेको स्थानीय सरकारले त्यसलाई थप व्यवस्थित र पारदर्शी गर्न खोज्दा घरमा पालिएका पशुपंक्षी र खेतबारीमा रहेका तरकारीमा पनि कर लगाइयो भन्दै भ्रम छरियो। नगरपालिकाको गोलबजार, चोहर्वा जस्ता ठूला साप्ताहिक हाटमा निर्वाचन पहिले ठेकेदारले आफ्नो खुसीले कर (बट्टी) निर्धारण गरेर असुल्थे। निर्वाचनपछि नगरपालिका आफैँले निर्धारण गरेको मात्र हो, बढाएको कुरा सरासर गलत हो। नगरपालिकाले निर्धारण गरेको करको दर पारदर्शिताका लागि बेवसाइटमा राखियो। स्थानीय जनताको आर्थिक अवस्थालाई मध्यनजर गर्दै घर निर्माण कर २५ रुपैयाँदेखि छ हजार रुपैयाँभन्दा बढी नलाग्ने व्यवस्था गरिएको छ। सेवाग्राही जनताले पनि वास्तविकता बुझ्न चाहेनन् तर अहिले क्रमशः बुझ्न थालेका छन्।  

नगरपालिकाले कर बढाएको भन्दै आन्दोलन पनि भयो नि होइन?

आन्दोलनको नाममा भएका गतिविधिहरूलाई लोकतान्त्रिक अधिकारकै रूपमा लिएको छु। लोकतन्त्रमा सार्वजनिक सरोकारका विषयमा सबैले जान्ने, बोल्ने र विरोध गर्ने अधिकार हुन्छ। नगरमार्फत् भएका सबै गतिविधि, काम र बजेट नगरपालिकाले बेवसाइटमार्फत् सार्वजनिक गरेको छ। कर बढाएको भन्दै विरोध गर्नेहरूले बेवसाइटमा राखिएका सूचना, कार्य प्रगति विवरण, बजेटको विषय चित्त बुझेन भन्दै कागजात नै मागेपछि त्यो पनि उपलब्ध गरायौँ। नगरको सम्पूर्ण कामको विवरण, बजेट मिडियामार्फत् पनि सार्वजनिक गरेका छौँ। आन्दोलन गर्ने पक्षसँग छलफल र वार्ता जारी रहेको छ। चाँडै निष्कर्षमा पुग्नेछौँ। 

नगरले गरिव बिपन्नका लागि केके गरेको छ?

स्थानीय तहको निर्वाचनपछि बनेको स्थानीय सरकार संचालन ऐन, संघ, प्रदेश सरकारले गरेका विभिन्न निर्णय र निर्देशनअनुरूप चलिरहेका छौँ। नगर क्षेत्रका जनताले आफ्नो सम्पत्तिको स्वयं घोषणा गरी कर तिर्न सक्ने व्यवस्था गरेका छौँ। नगर कार्यपालिकाले व्यक्तिगत घटना दर्तासहित विभिन्न १२ खालका सिफारिस निःशुल्क गरेको छ। नेपाली नागरिकताको सिफारिस, जन्म, विवाह, मृत्यु, बसाइँसराइसहित १२ खालका सिफारिसहरू निःशुल्क दिइएको छ।

तोकिएको समयभित्र सम्बन्धबिच्छेदको सूचना दर्ता, छात्रवृत्ति सिफारिस, अतिगरिव र बिपन्नको सिफारिस, अतिविपन्नलाई औषधि उपचार, उपचार शुल्कमा सहुलियत र दुईवटा नाम भएका व्यक्ति एउटै भएको सिफारिससमेत निःशुल्क दिइएको छ।

नगरपालिकाले आ.व. २०७४/०७५ देखि नै मुसहर र डोमलाई नगरपालिकाबाट उपलब्ध गराउने विभिन्न सिफारिस तथा सेवा पूर्ण निःशुल्क दिइने व्यवस्थालाई निरन्तरता दिनुका साथै मुसहर र डोमबाहेक अन्य जात तथा समुदायका अतिबिपन्न नागरिकलाई वार्षिक रूपमा २५ रुपैयाँ शुल्क तिरेपछि सबै सिफारिस तथा सेवा उपलब्ध गराइएको छ। बढीमा दुईवटा बच्चासम्म हुने सुत्केरी महिलालाई नगरपालिकाले थप दुई हजार रुपैयाँ दिँदै आएको छ। 

समाजसेवाबाट राजनीतिमा फड्को मार्नुभएको छ, कस्तो अनुभव हुँदै छ?

मेरो जीवनको लामो कालखण्ड कुर्सीबिनाको समाजसेवामा बित्यो। कुर्सीमा नरही गरेको समाजसेवामा बोल्ने, टिप्पणी गर्ने छुट थियो तर अहिले नगर प्रमुखको कुर्सीमा छु। नगर प्रमुखको पद पनि समाजसेवाकै अर्को रूप हो तर नियम कानुनले बाँधिएको। नगर प्रमुख भएपछि नियम, कानुन, पदीय गरिमा सबैलाई ख्याल गरेर मात्र तौलेर, विचारेर बोल्नुपर्ने रहेछ। नगर प्रमुख भएपछि सबैको कुरा सुन्ने र नगरको निर्णयअनुसार काम गर्ने, त्यस काममा सेवाग्राही नगरबासीको सहयोगले अगाडि बढ्दै छु। 

नमुना नगर बनाउने केके योजनाहरू छन्?

निर्वाचनको समयमा गरिएका प्रतिबद्धताअनुसार नै नगर क्षेत्रको भौतिक पूर्वाधार र विकासका कामहरू हुँदै छन्। नगरको शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकासमा विशेष जोड दिएका छौँ। पूर्व-पश्चिम सडकदेखि उत्तरतिर पर्ने गाउँ बस्तीमा स्वच्छ खानेपानीका लागि ओभरहेड ट्यांक निर्माणको काम हुँदै छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको लगानीमा १ देखि १० नं. वडासम्म नौवटा ओभरहेड ट्यांक निर्माणको काम भइरहेको छ।

चोहर्वामा संघीय सरकारको लगानीमा ट्रमा सेन्टर बनाउने तयारीमा छौँ। नगर क्षेत्रमा सिटी हल, कवर्ड हल, रंगशाला निर्माणाधीन चरणमा रहेको छ। नगर क्षेत्रभरि रहेका १८ वटा डिप ट्युब वेल सिँचाइ डिभिजनसँगको समन्वयमा पुनः संचालन गरी सिँचाइको समस्या हल गर्ने प्रयास गर्दै छौँ। चालू आ.व.देखि केही वडाहरूलाई निश्चित तरकारी उत्पादन पकेट क्षेत्र घोषणा गर्ने योजना कार्यान्वयन गर्दै छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.