|

काठमाडौं : कंचनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका प्रदीप रावल, विशाल चौधरी र दिनेश चौधरीबारे पछिल्लो पटक आएका केही सूचनाले प्रहरी थप आलोचना र शंकाको घेरामा पुगेको छ।

कंचनपुर प्रहरीका अनुसार हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को नियन्त्रणमा रहेका प्रदीप रावल र विशाल चौधरी कुखुरा चोरी गरेको अभियोगमा साउन १० गते प्रहरी थुनामा रहेका थिए।

कंचनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुवेरसिंह कठायतका अनुसार प्रदीप साउन १० गते ८ बजेसम्म कंचनपुरको इलाका प्रहरी कार्यालय सालघारीमा रहेको र सामान्य सोधपुछपछि प्रहरीले रावललाई छाडेको थियो।

त्यस्तै, रावलको बयानका आधारमा कुखुरा चोरी अभियोगमा दिउँसो विशाल चौधरी पक्राउ गरेका थिए। उनलाई भने प्रहरीले १० गते राती थुनामा राखेर ११ गते मात्र थुनामुक्त गरेको थियो।

कुखुरा चोरी आरोपमा पक्राउ परेका प्रदीप र विशाललाई प्रहरीले गलत काममा नलाग्न भन्दै सम्झाएर आफन्तलाई जिम्मा लगाएको एसपी कठायतको भनाइ छ। निर्मला १० गते नै हराउनु र उनीहरू प्रहरीकै निगरानीमा रहनुले निर्मलाको हत्यामा उनीहरूको संलग्नतामा केही शंका उठेको छ।

निर्मला साउन १० गते बिहान साथी रोशनी बमको घर गरेकी थिइन्। सोही दिनबाट हराएकी निर्मला ११ साउनमा उखुबारीमा मृत फेला परेकी थिइन्। निर्मलाको शव ११ गते बिहान ९ बजे नै फेला पर्नु र विशाल चौधरी १० गते पक्राउ परेर ११ गते छुट्नुले निर्मलाको हत्यामा विशाल चौधरीको संलग्नतामा शंका उत्पन्न हुने ठाउँ प्रशस्त रहेको केही पूर्व प्रहरी अधिकारीको भनाइ छ।

त्यस्तै, प्रदीप रावलसमेत १० गते प्रहरी नियन्त्रणमै थिए। प्रहरी नियन्त्रणबाट छुटेलगत्तै बलात्कार र हत्या जस्तो जघन्य अपराधमा उनी कसरी संलग्न भए? यो गम्भीर प्रश्न उठेको छ।

उसो त उनैले निर्मलाको हत्या गर्न सक्ने आधारहरू नभएका होइन। प्रहरीको सोधपुछपछि उनी १० गते दिनभर खुला नै रहेको देखिन्छ। प्रहरीको नियन्त्रणबाट छुटेलगत्तै अपराधमा संलग्न हुन सक्दैन भन्ने आधार गलत भए पनि कति बेला प्रदीप थुनामुक्त भए र निर्मलाको हत्या कति बजे भयो? यसमा भरपर्ने पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारीको भनाइ छ।

सिआइबीले भने हाल उनीहरूलाई निर्मला पन्तको हत्याबारे बयान लिने काम र डिएनए परीक्षण गरिरहेको छ। प्रहरी उनीहरूको बयानबाट निर्मला पन्त हत्याको नजिक पुगेको भन्दै केही हौसिए पनि प्रहरी उनीहरूको डिएनए रिपोर्ट पर्खिरहेको छ।

प्रदीप रावल र चौधरीद्वयको बयान लिन प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल आफैँ सिआइबीको कार्यालय महाराजगन्ज पुगेका थिए। प्रहरी स्रोतका अनुसार प्रदीप रावलले बयानका आधारमा निर्मलाको हत्यामा साविती बयानसमेत दिएको जनाएको छ। प्रदीप गत मंगलबार महाराजगन्जबाट पक्राउ परेका हुन् भने चौधरीद्वय कंचनपुरबाटै पक्राउ परेका थिए।  

डिएनए रिपोर्ट पर्खंदै प्रहरी

प्रहरी प्रदीप रावल, विशाल चौधरी र दिनेश चौधरीको डिएनएको रिपोर्टको नतिजा कुरिरहेको छ। प्रहरीले बुधबार उनीहरूको डिएनए परीक्षणका लागि रगत संकलन गरेको थियो।

उनीहरूको रगत डिएनए परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा र प्रहरीकै विधि विज्ञान प्रयोगशालामा समेत पठाइएको छ।उनीहरूको डिएनए रिपोर्ट यही साता आउने सिआइबी स्रोतको भनाइ छ।

यसअघि, निर्मला हत्यामा दिलीपसिंह विष्टलाई साविती बयानका आधारमा दोषी ठहर्‍याउँदै सिआइबीका प्रहरी नायव उपरीक्षक अंगुर जिसी नेतृत्वको टोलीले सार्वजनिक नै गरेको थियो। स्थानीयको विरोधपछि निर्मलाको यौनांगबाट झिकिएको 'भेजिनल स्वाब'सँग डिएनए परीक्षणमा नमिलेपछि उनी निर्दोष सावित भएका थिए।

यसअघि प्रहरीले तत्कालीन कंचनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलगायत सातजना बढीको डिएनए परीक्षण गरिसकेको छ। डिएनए परीक्षणमा उनीहरू सबैको नेगेटिभ रिपोर्ट आएको थियो।

दिलीप विष्टलाई सार्वजनिक गरेपछि आलोचनाको सिकार बनेको प्रहरीको सिआइबी टोली बयानकै आधारमा अब अभियुक्त सार्वजनिक गर्ने अवस्थामा छैन। त्यस कारण पनि सिआइबी हाल पक्राउ परेकामाथि केही बोल्न चाहँदैन। नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी भने निर्मला हत्यामा अनुसन्धानको घेरा साँघुरिए पनि बाहिर हल्ला भएको जस्तो केही प्रगति नभएको स्वीकार्दैनन्।

निर्मलाका हत्यारा पत्ता लागे : रक्षामन्त्री पोखरेल

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भने निर्मलाको हत्यारा पत्ता लागिसकेको र सार्वजनिक गर्न मात्रै बाँकी रहेको अभिव्यक्ति दिएका छन्। मन्त्री पोखरेलले ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १०औँ मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै निर्मलाको हत्यारा पत्ता लागिसकेको बताएका थिए।

पोखरेलले हाल थुनामा रेहका प्रदीप रावल, विशाल चौधरी र दिनेश चौधरीलाई लक्षित गर्दै हत्यारा पत्ता लागेको अभिव्यक्ति दिएका हुन्। कार्यक्रममा पोखरेलले भनेका थिए, 'विधिसम्मत ढंगले निर्मलाका हत्यारालाई सार्वजनिक गर्छौं तर राजनीतिको ध्येय बोकेकाहरू छाता ओढाउन आउँछन् कि भन्ने डर छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.