|

जनकपुरधाम : साताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत आइतबार धनुषयज्ञ सम्पन्न भएको छ। रामजानकी विवाह महोत्सवअन्तर्गत तेस्राे दिन जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बाह्रविघा रंगभूमि मैदानमा विधिविधानपूर्वक धनुष यज्ञ सम्पन्न भएको छ।

राजा जनकले बरदानमा पाएको धनुषलाई कसैले उठाउन नसक्ने भएपनि सीताले शिवजीद्वारा बरदानमा प्राप्त धनुष उठाएर स्याहार सुसार गरेको देखेर अचम्म मानी गरेको प्रण अनुरुप त्रेताकालमा आयोजना गरिएको धनुषयज्ञको स्मरणमा आज पनि धनुषयज्ञको आयोजन गर्ने गरिन्छ। मिथिलाका राजा जनकले शिवजीको धनुषमा प्रत्यञ्चा चढाउन सक्ने पुरुषसँग मात्रै छोरीको बिहे गरिदिने प्रणको सम्झनामा धनुषयज्ञको समारोह आयोजन गरिने जानकी मन्दिरका सह-महन्त रामरोशन दास वैष्णवले जानकारी दिए।

सोही धनुषायज्ञमा आकाश तथा पतालका सम्पूर्ण देवी-देवता तथा दैत्य दानवले उठाउन नसकेको धनुषालाई भगवान रामले धनुषमा प्रत्यञ्चा चढाएर खण्डित गरेपछि सीतासँग बिहे भएको पौराणिक मान्यता रही आएको छ। यस अघि शनिवार साँझ विवाहपञ्चमीको दोस्राे दिन फुलबारी लीला सम्पन्न भएको थियो। माता सीताको भगवान रामसँगको पहिलो भेट फूल टिप्न गएकै बेला भएको स्मरणमा फूलबारी लीला मनाइने गरिन्छ।

महोत्सवअन्तर्गत पहिलो दिन शनिबार नगर दर्शन कार्यक्रम गरिएको थियो। यसैगरी चौथो दिन अर्थात भोलि सोमबार रामन्दिरमा तिलकोत्सव विधि हुने सह-महन्थ वैष्णवले जानकारी दिए। महोत्सव अन्तर्गत पहिलो दिन जनकपुर नगर दर्शन, दोस्राे दिन फूलबारी लीला, तेस्राे दिन धनुष यज्ञ,चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन शुभविवाह र सातौँ दिन राम कलेवा आयोजना गरिन्छ।

महोत्सवको अवसरमा जानकी मन्दिरमा धार्मिक कथा वाचन तथा राम लीला र झाँकी पनि प्रदर्शन गर्ने गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.