१२ मा दुई, ११ मा शून्य विद्यार्थी

|

विराटनगर : कुनै समय मोरङको उत्कृष्ट भनिएको विराटनगरको नमुना माध्यमिक विद्यालय अहिले खराबको नमुना बनिरहेको छ। विगतमा एक हजार बढी विद्यार्थी भएको विद्यालयमा अहिले मुस्किलले १५० जना विद्यार्थी अध्ययनरत छन्। शिक्षक भने २१ जना कार्यरत छन्। शिक्षा र विज्ञान विषय अध्यापन गराइने भए पनि कक्षा ११ मा अहिले एक जना पनि विद्यार्थी छैनन् भने कक्षा १२ मा दुई जना मात्रै विद्यार्थी अध्ययनरत छन्।

विद्यालयमा महिनौँसम्म रुटिन बन्दैन, हाजिर खाताको चरम दुरूपयोग छ, संचयकोष र बीमा रकम निजी काममा लगाइएको छ, स्कुलको बस भाडामा लगाइए पनि त्यसको हिसाबकिताब गायब छ अर्थात् हजारौं बेथितिले गाँजेको छ उक्त विद्यालयलाई।

शिक्षा नियमावालीअनुसार न त व्यवस्थापन समिति चयन गरिएको छ, न समयमा बैठक बसालिएको छ। जिम्मेवारीबोध प्रधानाध्यापकलाई पनि छैन, अभिभावकलाई पनि छैन। बनेको पुरानो व्यवस्थापन समिति राजनीतिको सिकार बनेको छ।

कुनै बेला विराटनगरको सबैभन्दा राम्रो र नमुना भनिएको जनता नमुना माध्यमिक विद्यालय यतिबेला सबैभन्दा अस्तव्यस्त र भ्रष्टारको अखडामा परिणत भएको छ। कुनै पनि संस्था गलत नेतृत्वको हातमा पर्दा कसरी अवसानको बाटोमा जाँदोरहेछ भन्ने एउटा नराम्रो उदाहरण जनता नमुना माध्यमिक विद्यालय बनिरहेको छ।

यतिबेला जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय रौनियारविरुद्ध पाँचवटा मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन्। आयोगले हरेक मुद्दामा छानविन गरिरहेको छ। २०६८ सालपछि हरेक वर्षजसो अख्तियारमा एकपछि अर्को मुद्दा दर्ता भइरहेका छन्।

प्रधानाध्यापक रौनियारविरुद्ध २०६८ सालमा भ्रष्टाचार गरेको पहिलो अभियोग लागेको थियो। उक्त मुद्दा अझै किनारा लागिसकेको छैन। त्यसपछि रौनियारविरुद्ध शैक्षिक प्रमाणपत्र फर्जी भएको अर्को अभियोग अख्तियारमा पुग्यो। त्यसपछि बहिरा विद्यार्थीका लागि छात्रबास भवन निर्माण गर्दा आर्थिक अनियमितता गरेको भन्दै अर्को मुद्दा अख्तियार पुगेको थियो।

आर्थिक वर्ष २०७२/०७३ मा जिल्ला शिक्षा कार्यालयमार्फत प्राप्त ३४ लाख रुपैयाँ बजेटबाट एउटा दुई तले भवन बनाइयो। नजिकै रहेको पोखरिया उच्चमाध्यमिक विद्यालयले समान कन्स्ट्रक्सनको भवन २५ लाख रुपैयाँमा निर्माण गर्दा जनताले भने ३४ लाख रुपैयाँमा थप १४ लाख ५० हजार रुपैयाँ खर्च भएको विवरण देखाएपछि अर्को मुद्दा अख्तियारमा पुगेको थियो।

अघिल्लो वर्ष जनता नमुना माध्यमिक विद्यालयले एउटा पुरानो भवन ‘स्क्र्याव’मा लैजाने निर्णय गर्दै १४ लाख ५२ हजार ५०० रुपैयाँमा बिक्री गरियो। उक्त रकम अहिले विद्यालयको खातामा छैन। त्यस विषयमा जानकारी माग्दा रौनियारले भवन निर्माणमा रकम अपुग भएकाले त्यसमै खर्च भएको जवाफ दिने गरेका छन्। उक्त रकम खर्च गर्ने सम्बन्धमा विद्यालयले कुनै निर्णयसमेत गरेको छैन। त्यो विषय पनि अख्तियारमा पुगिसकेको छ।

रौनियारकै व्यवहारले गर्दा प्लस टुतर्फ विद्यार्थी आउन बन्द भयो र विद्यालय व्यवस्थापन समितिलाई अनुचित प्रभावमा पारेर त्यहाँका कर्मचारीलाई षड्यन्त्रपूर्वक हटाइयो। उनको भ्रष्टाचारी प्रवृत्तिको विरोध गर्ने जो कोही पनि उनको सिकार बन्ने गरेका छन्।

सात वर्षको अवधिमा रौनियारले १३ जना शिक्षकहरूलाई बिचल्लीमा पारिसकेको त्यहीँका कर्मचारी विजय सापकोटा बताउँछन्। शिक्षकको दरबन्दी बेपत्ता बनाइदिने, रकम लिएर कार्यरत शिक्षककै दरबन्दीमा अन्य शिक्षक नियुक्त गर्ने काममा प्रधानाध्यापकको चरम हस्तक्षेप हुने गरेको बताइएको छ। विद्यालयमा ३५ वर्षदेखि सेवा गर्दै आएका शिक्षक ओजेश भगतको दरबन्दीमा अन्य दुई जना शिक्षकलाई उनले नियुक्ति दिएका छन्। भगत दुई वर्षदेखि बिना दरबन्दी त्यहीँ कार्यरत छन् तर उनको दरबन्दी कतै सारिएको छैन। ‘मेरो दरबन्दी हावा बनेर आकाशमा उडिरहेको छ, दुई महिनादेखि मेरो तलब रोकिएको छ’, भगत भन्छन्, ‘अब कुन दिनदेखि  हाजिरी पनि रोकिने सम्भावना देखिरहेको छु।’

दुई महिनाअघि त्यहाँ कार्यरत शिक्षक भोगेन्द्र खड्काको निधन भयो। अहिलेसम्म उनको ठाउँमा पढाउनका लागि प्रधानाध्यापकले रुटिन परिवर्तन गरेका छैनन्। चार महिनाअघि शिक्षक नेत्र ढकाल अमेरिकातर्फ लागे, उनले अध्यापन गराउने विषयका लागि पनि अर्को शिक्षकलाई खटाइएको छैन। महिनौँ बितिसक्दा पनि दुई जना शिक्षकको रुटिनसम्म मिलाउने काम भएको छैन।

विद्यालयमा हाजिर खाताको चरम दुरूपयोग भएको कर्मचारीहरू नै बताउँछन्। प्रअको पक्षमा रहने शिक्षकहरू विद्यालयमा उपस्थित नभई महिनौँ गयल भए पनि सबै दिनको हाजिर गर्ने अवसर पाउने गरेको बताइएको छ। त्यस्तो विषय अन्य शिक्षकले चाल पाएपछि २०७४ असोज ५ गतेदेखि हाजिरी किताब नै विद्यालयबाट गायव भएको स्रोतको दाबी छ। प्रधानाध्यापकको पक्षमा रहेर अनियमितता, बेथिति र भ्रष्टाचारलाई संस्थागत गर्न शिक्षकहरू कमलदेव मण्डल, सुनिता घिमिरे, शिलाराज नेपाली, शशिकान्त मण्डल, बिनिता यादवले मुख्य भूमिका खेलिरहेको स्रोत बताउँछ।

लेखा सहायक सिर्जन थापाले उक्त टिमको सबै व्यवस्थापन गरिदिने गरेका छन्। बाँकी शिक्षकहरू त्यस प्रवृत्तिको विरुद्धमा संगठित छन्। १० कक्षा उत्तीर्ण गरेका व्यक्तिको पदमा निजी स्रोतबाट नियुक्त भई कार्यरत लेखा सहायक थापालाई मासिक ११ हजार रुपैयाँ मात्र पारिश्रमिक दिन पाइने भए पनि प्रअले २६ हजार रुपैयाँ भुक्तानी गर्ने गरेका स्रोतले जानकारी दियो।

आर्थिक अनियमितताको शृंखलाकै क्रममा शिक्षक कर्मचारीको संचयकोष र बीमा रकमको चरम दुरूपयोग गर्ने, हिनामिना गर्ने काम निरन्तर भइरहेको शिक्षकहरूले बताएका छन्। २०७३ सालमा आठ महिनाको बीमा र संचयकोषको रकम जम्मा गरिएको छ तर बाँकी चार महिनाको रकम अहिलेसम्म जम्मा गरिएको छैन। हरेक पटक चार-पाँच महिनापछि मात्र बीमा र संचयकोषको रकम जम्मा गर्ने गरिएको छ। मासिक रूपमा जम्मा गर्नुपर्ने रकम प्रअ र लेखा सहायक मिलेर महिनौँसम्म निजी काममा चलाउने गरेको शिक्षकहरूको आरोप छ।

यस्तै, विद्यार्थी संख्या कम भएपछि विद्यालयले विद्यार्थी ओसार्न प्रयोग गरेको बस नजिकै रहेको आदर्श माध्यमिक विद्यालयलाई दुई वर्षदेखि भाडामा लगाएको छ। बा१क ९७०३ नम्बरको बस भाडावापत आएको चार लाख रुपैयाँको आम्दानी कतै बाँधिएको छैन। चार वर्षदेखि यातायात कार्यालयमा बसको नवीकरणसमेत नगरिएको फेला परेको छ।

जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय रौनियार शिक्षा नियमावलीमा उल्लेख भएका नियम पनि मान्दैनन्। एक वर्षभन्दा लामो समयसम्म विद्यालय व्यवस्थापन समिति निर्वाचन नगराई एकल रूपमा हालिमुहाली गरिरहेका उनले विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहालको दबाबपछि मात्र असार ३१ गते विद्यालय व्यवस्थापन समितिको निर्वाचन गराए। निर्वाचन गराएपछि हरेक दुई महिनामा समितिको बैठक गराउनुपर्ने भए पनि उनले समितिलाई पूर्णता नदिने योजनाअनुसार बैठक बोलाएका छैनन्।

शिक्षा नियमावली, २०५९ को नियम २७ बमोजिम समितिका बहुमत सदस्यले बैठक राखेर दुई जना सदस्य मनोनीत गर्ने निर्णय गरे तर प्रअ रौनियार बैठकमा सहभागी भएर पनि उपस्थितिमा हस्ताक्षर गरेनन् र विवाद यथावत राखे। उनले महानगर प्रमुख भीम पराजुलीले अगाडि सारेका व्यक्ति दुर्गा चुँडाललाई नियुक्त गर्ने भए मात्र सहभागिता जनाउने अडान राखे तर त्यसमा समितिका सदस्य सहमत भएनन्। अहिले फेरि समितिको बैठक अनिश्चित भएको छ।

‘मलाई मधेसी भनेर काम गर्न नदिने प्रयास मात्र भइरहेको छ, यो सबै बिगार्ने यहाँका राजनीति गर्ने शिक्षकहरू हुन्। यहाँ कुनै भ्रष्टाचार भएको छैन बरु विद्यालयलाई अस्तव्यस्त बनाउन मुद्दामाथि मुद्दा हाल्ने र प्रहलाई अख्तियारमै बास गराउने प्रयत्नले गर्दा विद्यालयको अवस्था बिग्रिएको हो’, प्रअ रौनियारको जवाफ छ, ‘विद्यालयको आर्थिक, प्रशासनिक र शैक्षिक वातावरण सबै चौपट भएको छ, शिक्षकहरूले साथ दिएको खण्डमा म सुधार गर्छु नत्र म जागिरे हुँ, जस्तो चल्छ चल्दै जान्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.