बसका चालक र कर्मचारी पक्राउ

|
लुटपाटपछि बेहोस बनाइएका खगेन्द्र लिम्बू नोबल अस्पतालमा उपचार गराउँदै

विराटनगर : के तपाईं काठमाडौंबाट सार्वजनिक यातायातमा रात्रि यात्रा गर्दै हुनुहुन्छ? होसियार हुनुहोस्। वैदेशिक रोजगारबाट घर फर्किएर काठमाडौंबाट इटहरीका लागि रात्रि बसमा यात्रा गरेका धनकुटाका एक युवालाई बेहोस पारेर लुटपाट गरेको खुलेको छ।

दुबईबाट शनिबार नेपाल आइपुगेका धनकुटा साँघुरीगढी–३ का खगेन्द्र लिम्बू लुटपाटमा परेका हुन्। शनिबार बिहान ८ बजे अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर साँझ रात्रि बसमा चढेका उनलाई बेहोस पारेर लुटपाट गरेको खुलेको हो। लिम्बूलाई बेहोस मात्रै पारिएन काठमाडौंबाट इटहरीका लागि बस चढेका उनलाई विराटनगर बसपार्कमा ल्याएर बेवारिसे अवस्थामा बसका कर्मचारीले छोडिदिए। आफन्तले सम्पर्क गर्दा सँगै यात्रा गरेका एक व्यक्तिले अवस्थाबारे बताएपछि भेट्न आएका आफन्तले आइतबार बिहान लिम्बूलाई अचेत अवस्थामा फेला पारेका थिए। ‘हामीले आइतबार बिहान भेट्दा चिसो र कठ्यांग्रिएको अवस्थामा फेला पार्‍यौँ, उनी पूरै बेहोस थिए,’ खगेन्द्रका दाजु प्रेमकुमार लिम्बूले भने, ‘त्यसपछि कोशी अस्पतालमा लग्यौँ र अहिले नोबेल अस्पतालमा उपचार गराइरहेका छौँ।’

गत वैशाखमा दुबई गएका उनी भतिजीको विवाहका लागि केही पैसा लिएर घर फर्किएका थिए। तर, बीचैमा उनी लुटपाटमा परे। नोबेल अस्पतालमा उपचार गराइरहेका उनले आफ्नो १ तोलाको औंठी, २६ हजार रुपैयाँ नेपाली रुपैयाँका साथै ५ सयभन्दा बढी दिराम लुटिएको बताएका छन्। ‘राति साढे ३ बजेको थियो होला,’ नोबेल अस्पतालको आइसियु कक्षमा उपचाररत उनले भने, ‘त्यसपछिको अवस्था मलाई थाहा छैन, अहिले पनि म कसरी र किन यहाँ आइपुगे भन्नेबारे जानकारीमा छैन।’

प्रहरीले बसका सहचालक तथा १ जना कर्मचारीलाई पक्राउ गरेको जनाएको छ। ना६ख १५६१ नम्बरको कोशी पशुपतिमा यात्रा गरेका उनी लुटिनु भनेको यात्रुहरु असुरक्षित हुनु भएको उनका आफन्त सन्तोष लिम्बूको भनाइ छ।

बसपार्कमा बेहोस भेटिएका उनलाई कोशी अस्‍पताल भर्ना गरिएको थियो। उक्त अस्पतालमा उपचार हुन नसक्ने बताएपछि नोबेलको आइसियुमा राखेर उनको उपचार भइरहेको छ। डाक्टरले उनलाई विष सेवन गरेको बताएको आफन्तको दाबी छ। यो घटनाले बसमा यात्रा गर्ने यात्रुलाई जतिसुकै बेला पनि जो कसैले लुटपाट गर्ने अवस्था देखिएको खगेन्द्रका आफन्त सन्तोषको भनाइ छ। खानामा मिसाएर विष दिएको हुनसक्ने उनको दाबी छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। घटनामा बसका चालक तथा कर्मचारीको मिलेमतोमा लुटपाट भएको आशंका रहेको आफन्त बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.