धनकुटा : देशभर तरकारी तथा फलफूल खेतीमा विषादीको मात्रा बढेको वेला धनकुटाको शहीदभूमि गाउँपालिका छिन्ताङ डाँडागाउँका ३६ वर्षीय एमकुमार राई भने अर्ग्यानिक खेतीमा लागेका छन्। करिब एक करोडको लगानी गरेर बहुबाली अर्ग्यानिक खेती गरिरहेको उनी बताउँछन्।
पाँच वर्षअघि बहुबाली खेती सुरु गरेका राईले हाल ३० रोपनी जमिनमा ५० भन्दा बढी जातका तरकारी, फलफूल, मसला लगाएर गतिलो आम्दनी गरिरहेका छन्। सुरुमा एक लाख रुपैयाँ लगानीबाट खेती थालेका राईले हाल सल्भ नेपाल, गुराँस र जीवन विकास लघुवित्त बैंकबाट दुई लाखका दरले छ लाख ऋणसहित एक करोड लगानी पुर्याएको उनी बताउँछन्।
धनकुटाको उत्तरपानी प्राविधिक शिक्षालयमा कृषि प्रविधि अध्ययनपछि १२ वर्ष विभिन्न गैरसरकारी संस्थामा नोकरी गरे पनि त्यसमा चित्त नबुझेपछि कृषि पेशामा लागेको उनी बताउँछन्। ‘विदेश र स्वदेशमा अरुको चाकडी गर्नुभन्दा आफ्नो कामको आफैँ मालिक बन्नुपर्छ भन्ने सोचले यो पेशामा लागेको हुँ’ उनले भने।
उनले दीर्घकालिन आम्दानीका लागि ४०० बोट सुन्तला, १०० बोट रुद्राक्ष, एक सय बोट एभोकाडो, १०० बोट किवी लगाएका छन। त्यस्तै दीर्घकालीन खेतीबाट आम्दानी नहुञ्जेलका लागि उनले १२ रोपनीमा टमाटर र हरेक एक वा दुई रोपनीमा आलु, सिमी, काउली, साग, मुला, रुख टमाटर लगायतका तरकारी लगाएका छन्। गत वर्षदेखि वालिङ मिश्रित फलफूल नर्सरी फर्म दर्ता गरेका राईका फर्मका हरेक जमिनको भू–भागमा नयाँ बिरुवा, अर्ग्यानिक सब्जी र फलफूल देख्न पाइन्छ। विषदी र बालीसम्बन्धी प्राविधिक ज्ञान समेत लिएका राईको फार्ममा निम, टिमुर, चितेपाती लगायत जडिबुटीबाट बन्दै गरेका प्राकृतिक विषादी देख्न सकिन्छ।
उनले तीन रोपनीमा अलैँची, १६ जातका तरकारी, १३ जातका फलफूल, ६ जातका मसलाबाली र विभिन्न फलफूलका नर्सरी रहेको बताए। बोधिचित्त, अगरउड, सेतो चाँप पाउलोनिया लगायतका अन्य बिरुवासमेत लगाएका उनको बारीमा चिया र कफी खेती समेत देख्न सकिन्छ। सुरुका वर्षमा एक लाख ५० हजारसम्म कमाइ गरेका उनले अहिले पाँच लाखसम्म अाम्दानी गरिरहेको बताए।
गत वर्ष नौ लाखको सब्जी र नर्सरी कारोबार गरेर ६ लाख रुपैयाँ कमाएका उनले यो साल चार लाख मात्र अाम्दानी गरेकाे उनले बताए। ‘यो साल सात लाख कमाउने लक्ष्य थियो’, उनले भने, ‘टमाटरको मूल्यमा अाएको गिरावटसँगै सोचेजस्तो आम्दनी भएन।' उनका अनुसार हाल साताहिक २० हजार रुपैयाँ बराबरको अर्ग्यानिक तरकारी बिक्री हुन्छ। उनले अबको तीन वर्षपछि सबै बालीले आम्दानी दिन थालेपछि वार्षिक १० लाख कमाइ हुने बताए।
जागिर नसक्नेले मात्र खाने बताउने राई अल्पकालीन र दीर्घकालीन रूपमा कृषिलाई स्वतन्त्र पेशाका रूपमा विकास गर्न यो पेशामा लागि परेको बताउँछन्। ‘अहिले सब्जी खेतीबाट लगानी उठिरहेको छ। बिस्तारै उमेर ढल्किँदै जाँदा काम गर्न नसक्ने उमेरमा फलफूल र जडिबुटीबाट आम्दानी हुन्छ’, उनले भने। हाल पाँच जनालाई रोजगार दिएर स्थानीय पिप्ले, पञ्चकन्या, आँखिसल्ला र थलथले बजारमा सब्जी आपूर्ति गरिरहेका उनलाई प्रोत्साहनस्वरुप शहीदभूमि गाउँपालिकाले ५० हजार रुपैयाँ अनुदान समेत दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।