काठमाडौं : अहिलेको नम्बर वान नायक को? यसको उत्तर अनेक तवरबाट दिन सकिन्छ। कसैलाई पारिश्रमिकको हिसाबमा, कसैलाई फिल्मको हिसाबमा, कसैलाई अभिनयको हिसाबमा र कसैलाई व्यापारको हिसाबमा। यी कुराहरूलाई मध्यनजर गर्दा अहिलेको नम्बर वान नायक बन्छन्, दीपकराज गिरी। दीपक अभिनित छक्का पञ्जा, छक्का पञ्जा २ र छक्का पञ्जा ३ को व्यापारलाई अन्य कुनै पनि नेपाली फिल्मको व्यापारले भेट्न सकेको छैन। त्यसैले व्यापारिक हिसाबमा नम्बर वानको दर्जामा दीपकराजलाई राख्न सकिन्छ।
अहिलेका सर्वाधिक सफल कलाकार दीपकराजको डेब्यु फिल्म कुन हो त? धेरैलाई थाहा नहुन सक्छ। दीपकराजको डेब्यु फिल्म 'सुन्दर मेरो नाम' हो। यस फिल्ममा उनी मुख्य भूमिकामा प्रस्तुत छन्। फिल्मको 'हिरो' नै उनै हुन्।
सुन्दर मेरो नाममा काम गर्नुपूर्व दीपकराजले फिल्ममा काम नगरेका भने होइनन्। 'सुन्दर मेरो नाममा काम गर्नुपूर्व मैले केही फिल्महरूमा सानोसानो भूमिकामा काम गरिसकेको थिएँ', दीपक भन्छन्, 'तर एज ए लिड कलाकारचाहिँ सुन्दर मेरो नाम नै पहिलो फिल्म हो।' उनले सानो भूमिकामा काम गरेको पहिलो फिल्म थियो, रक्षक। दीपक सुन्दर मेरो नामलाई नै आफ्नो डेब्यु फिल्म मान्छन्।
हरिवंशले नभ्याउँदा पाएको फिल्म
'सुन्दर मेरो नाम'का लागि दीपकराज पहिलो रोजाइ थिएनन्। यस फिल्मका लागि हरिवंश आचार्यलाई अफर गरिएको थियो तर हरिवंशले नभ्याउने भएपछि निर्माण युनिट दीपकराजसम्म पुगेको थियो। दीपक भन्छन्, 'उहाँहरूले पहिला हरिवंश दाइलाई अफर गर्नुभएको रहेछ। उहाँको समय नमिलेपछि मसम्म आइपुग्नुभएको थियो।'
हरिवंशले फिल्ममा काम गर्न नभ्याएपछि दीपकलाई निर्देशक विजय थापाले फोन गरेर फिल्मको प्रस्ताव गरेका थिए। पछि उनलाई निर्माता उद्धव पौडेलले पनि फोन गरेर फिल्मका लागि ओके गरे।
सानोसानो भूमिकामा काम गरिरहेका दीपकलाई पनि फिल्मको 'हिरो' बन्ने सोच थियो। सुन्दर मेरो नामबाट अफर आउँदा निकै दंग थिए दीपक। उनी सम्झिन्छन्, 'सानोसानो भूमिकामा काम गरेर स्ट्रगल गरिरहेको मलाई मुख्य भूमिकामा अफर आउँदा निकै खुसी भएको थिएँ।'
ओम हस्पिटलमा खिचिएको पहिलो टेक
दीपकराजले पहिलो पटक हिरो भएर काम गर्दै थिए। उनमा छुट्टै उत्साह थियो। उनी भन्छन्, 'पहिलो पटक ठूलो पर्दामा हिरो भएर काम गर्दै थिएँ। एकदमै उत्साहित थिएँ।' दीपकको मनमा डर थिएन। पहिला पनि फिल्म तथा टेलिसिरियलमा काम गरेका कारण गर्न सक्छु भन्ने आँट उनमा थियो। 'काम गर्ने नसक्ने हुँ कि भन्ने डरचाहिँ थिएन। पहिला पनि काम गरेको कारण गर्न सक्छु भन्ने आँट थियो।'
फिल्मको पहिलो टेक ओम हस्पिटलमा खिचिएको थियो। त्यहाँ दीपकराजले खुसी हुँदै लड्डु बाँढ्नुपर्ने दृश्य थियो। त्यो दृश्य गर्न उनलाई खासै गाह्रो भएन। 'पहिलो दिन सजिलो नै दृश्य थियो', उनी सम्झिन्छन्, 'गरिमाको आँखा ठीक भएको कारण खुसी हुँदै लड्डु बाँढ्नुपर्ने दृश्य थियो। एक टेकमै दृश्य ओके भयो।'
पहिलो फिल्मबाट घाटा भएन
दीपकराज अभिनित पहिलो फिल्म असफल भयो तर उक्त फिल्म असफल हुँदा पनि आफूलाई घाटा नभएको दीपक बताउँछन्। भन्छन्, 'त्यो बेला म ठूलो पर्दाको हिरो बन्नका लागि उत्सुक थिएँ। त्यो चाहना सुन्दर मेरो नामले पूरा गरिदिएको थियो।'
यस फिल्मको असफलताले पनि आफूलाई धेरै कुराहरू सिकाएको दीपकको भनाइ छ। 'मान्छे सफलतामा मातिन्छ, असफलताबाट मीठो पाठ सिक्छ', दीपक भन्छन्, 'मलाई पनि सुन्दर मेरो नामले धेरै कुराहरू सिकाएको छ।'
यस फिल्मले आफ्नो करिअरलाई पनि सहयोग गरेको उनी बताउँछन्। भन्छन्, 'त्यो बेला हिरो दीपकराज भनेर चिनिने अवसर पाएको थियो। पोलपोलमा मेरो पोस्टर टाँसिएको थियो। त्यो मेरालागि निकै ठूलो उपलब्धि थियो।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।