|

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लबले सातौं जित निकालेको छ। सब्सटिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका ओलावाले आफिजले ८५ औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्दा मनाङको लगातार जित निकालेको हो।

मनाङले मछिन्द्रविरुद्ध सुरुवातबाटै खेल आफ्नो नियन्त्रणमा राखेका थियो। तर, मछिन्द्रको बलियो रक्षापंक्ति र गोल लाइन तोड्न नसक्दा पहिलो हाफमानै केही राम्रा मौका चुकाएको थियो। अञ्जन विष्टले गरेका केही राम्रा प्रहारलाई गोलरक्षकले क्लियर गरे भने केही प्रहार पोस्टभन्दा केही इन्चबाट बाहिरिंदा मनाङ पहिलो हाफको सुरुवाती अग्रताबाट चुकेको थियो। जारी लिगमा प्रतिष्पर्धात्मक खेलका वावजुत जित निकाल्न असफल रहेको मछिन्द्रले पनि गोल गर्ने केही सीमित मौका सदुपयोग गर्न सकेन।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको मनाङ दोस्रो हाफमा थप आक्रामक बन्यो तर एकपछि अर्को मौका चुकाउँदा दबाबमा परेको थियो । मछिन्द्रका डिफेन्डर साहिदले ७१ औं मिनेटमा मनाङका फर्वाड अडिलाजालाई लडाएपछि मनाङले पेनाल्टीको मौका पायो। पेनाल्टी अञ्जन विष्टले प्रहार गरे पनि मछिन्द्रका गोलरक्षक दीपक कार्कीले आकर्षक बचाउ गरेपछि मनाङ थप दबाबमा परेको थियो।

रोमाञ्चक बन्दै उपाधि होड

सोमबारनै भएको खेलमा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा जारी राखेको छ। दुई खेलमा बराबरी र पाँच खेलमा जित निकालेको आर्मी मनाङको हारको प्रतिक्षामा रहेको छ। कुनै एक खेलमा मनाङ पराजित भएमा आर्मीसँगै थ्रीस्टार र संकटा पनि उपाधि होडमा अघि बढ्ने छन्। जसले गर्दा उपाधि होड खुल्ला हुने छ।

आर्मीलाई महत्त्वपूर्ण जित आवश्यक रहेको खेलमा ६७ औं मिनेटमा जित निकाल्यो। चलाखीपूर्ण गोलमा सन्तोष तामाङको पासलाई टेकबहादुर बुढाथोकीले सटिक मिलाइदिंदा उक्त मौकालाई टंक बस्नेतले खेर जान दिएनन्।

पहिलो हफमा ब्रिगेड ब्वाइजले बलियो आर्मीलाई रोकेपनि दोस्रो हाफमा रोक्न असफल भयो। पाँचौं जितपछि आर्मी १७ अंकसहित चौंथो स्थानमा रहेको छ। आर्मीले ब्रिगेडमाथि एकपछि अर्को गोलको मौका चुकाएको थियो। ब्रिगेडले भने आर्मीका पोस्टमा सीमित प्रहार गरेको थियो।

रोमाञ्चक बन्दै गएको लिगमा मनाङ सात खेलबाट सतप्रतिशत जित निकाल्दै २१ अंकका साथ शीर्ष स्थानमा रहँदा मनाङसँग पराजित थ्रिस्टार अन्य ६ खेलमा जित निकल्दै १८ अंकका साथ दोस्रो र समान ६ जित निकालेको संकटा पनि गोलअन्तरमा थ्रिस्टारसँग पछि रहँदै तेस्रो स्थानमा रहेका छ। आर्मी १७ अंकका साथ चौंथो स्थानमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.