|

भद्रपुरः झापाको भद्रपुरस्थित बहुप्रतिक्षित मेची पुलको उद्घाटन फेरि अनिश्चित बनेको छ।  मंसीर २६ गते बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पूर्व तयारी अनुसार मेची पुल जोड्ने नेपालतर्फको १६७ मिटर ग्राभेल सडक धमाधम निर्माण गरिएको छ। तर, प्रधानमन्त्री ओलीले मंसीर २६ गते झापा आउने कार्यक्रम रद्द गरेपछि फेरि पुलको उद्घाटन अनिश्चित बनेको छ।
 

६ महिनाअघि पुल तयार भएपनि बल्ल मेची पुलको उद्घाटन हुन लागेको थियो। प्रधानमन्त्री आउने कार्यक्रम रद्दले यहाँका जनतामा फेरि निराश छाएको छ। पुल उद्घाटन नभएसम्म फेरि दुवै देशका नागरिक मेची नदीमा भद्रपुर नगरपालिकाले निर्माण गरि दिएको अस्थायी बाँसे पुलबाटै आवतजावत गर्न बाध्य हुनेछन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा आएको समस्यासँगै नेकपा पार्टीको स्थायी कमिटि बैठक मंसीर २९ गते बस्नु पर्ने भएकाले झापा आउने कार्यक्रम रद्द भएको प्रदेश सांसद बसन्त बानियाँले जानकारी दिए। ‘मेची पुलको उद्घाटनका लागि लगभग तयारी पूरा भइसकेको थियो’, उनले भने, ‘मेची पुलको उद्घाटन प्रधानमन्त्रीकै हातमा हुने हो, ‘तर, कहिले हुने अहिलेसम्म मिति बाहिरीएको छैन।’

‘मेची पुलको उद्घाटनका लागि प्रधानमन्त्री हेलिकप्टरबाट आउने कुरा थियो, हेलिकप्टरबाट आउने नभएपछि पछि हवाई जहाजबाट आउने कार्यक्रम तय भएको थियो, त्योपनि सोमबार दिउँसो रद्द भयो, उनले भने।  

यता मेची पुलको सडकलाई भारतको विहारसंग जोड्नलाई डिपीआर तयार भइसकेको छ । ८ करोड लागतमा पुलको सडकलाई भारतको विहारसंग जोडिनेछ, अब चाँडै विहार सरकारले टेण्डर आवहन गर्दैछ। नेपालतर्फको १६७ मिटर बाहेक १२९० मिटर सडक निर्माणमा पनि मुआब्जा विवाद बल्झिएको छ। सरकारले मुआब्जा नदिए जमिन खाली नगर्ने स्थानीय आन्दोलित बनेका छन्।   

तत्कालीन उपप्रधान एवंम भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६८ माघ २१ गते मेची पुलको शिलान्यास गर्दै तीन बर्ष भित्र पुल निर्माण हुने दावी गरेका थिए। तर, गच्छदारले बोलेको कुरा तीन बर्षमा नभएर बल्ल ८ बर्ष पूरा हुन लागेको छ। पुलको उद्घाटन कार्यक्रममा तत्कालीन मन्त्री गच्छदारलाई पनि ल्याउन यहाँ स्थानीयले जोडदार माग राख्न थालेका छन्। 
भारतको बंगाल तथा बिहार राज्यसंग जोडिने पुलको कुल लागत करिब ३३ करोड रहेको छ। पुलको लम्बाई ५ सय ६० मिटर र चौढाई ११ मिटर रहेको निर्माण कम्पनी अनक एण्ड सूर्य कन्ट्रक्सनका इन्जिनियर सुरेन्द्र खतिवडाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.