|

काठमाडौं : युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनार विश्वकर्माले सरकारले खेलकुदको विकासलाई प्राथमिकतामा राखेको बताएका छन्। भारतीय युवा तथा खेलकुद मन्त्री करनेल राज्यवद्र्धन सिंह राठौरसँग मंगलवार शिष्टाचार भेट गर्दै त्यस्तो बताएका हुन्।

नयाँ दिल्लीस्थित युवा कार्यक्रम तथा खेलकुद मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री विश्वकर्माले दुई देशवीचको आपसी सम्वन्ध र युवा तथा खेलकुदको विकासका वारेमा महत्वपूर्ण छलफल भएको बताए।

नेपाल सरकारले अगाडि सारेको विकास र समृद्धिका योजनाका वारेमा जानकारी दिँदै मन्त्री विश्वकर्माले नेपाल सरकारले युवा तथा खेलकुदको विकासलाई प्रथामिकतामा राखेको जानकारी दिए। निकट भविष्यमा नेपालमा आयोजना हुन लागेको दक्षिण एशियाली खेलकुद (साग) को १३ औँ संस्करणको तयारीका वारेमा जानकारी दिँदै मन्त्री विश्वकर्माले साग सफलतापूर्वक सम्पन्न गर्नका लागि सागका सवै देशहरुको साथ समर्थनको अपेक्षा रहेको बताए।

भेटघाटका क्रममा मन्त्री विश्वकर्माले युवा र खेलकुदको विकासमा नेपाल र भारतवीच यस अघि भएका समझदारीको कार्यान्वनमा जोड दिदैं नेपालको खेलकुदको विकासमा भारतसँग थप समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए।

दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ कसिलो बनाउनका लागि खेलकुद एउटा सशक्त माध्यम हुने धारणा राख्दै उनले मैत्रीपूर्ण खेलकुद आयोजना गर्न नेपाल तयार रहेको बताए।

मोवाइल एप्सद्वारा नयाँ प्रयोग

त्यस अवसरमा भारतीय युवा कार्यक्रम तथा खेलकुद मन्त्री राज्यवद्र्धन सिंह राठौरले भारत नेपालको असल छिमेकी भएको र नेपालका युवाहरुले प्रगती गरेको हेर्न चाहेको बताए। साग सम्पन्न गर्न तथा नेपालको खेलकुदको विकासमा भारतको सक्दो सहयोग रहने विश्वास दिलाउदै मन्त्री राठौरले भारतले खेलमा गरेको विकासको अनुभवबाट नेपाल लाभान्वित हुन सक्ने बताए।

मोवाइल एप्स निर्माण गरी खेलकुदका क्षेत्रमा नयाँ प्रयोग गर्न लागेको जानकारी दिदैँ उनले नेपाललाई एप्सका वारेमा अध्ययन गर्न आग्रह गरे। भारतले हिमालयन गेम गर्न लागेको जानकारी दिदैं मन्त्री राठौरले हिमालयन क्षेत्रका परम्परागत मौलिक खेलहरुको संरक्षण तथा संवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। भेटघाटमा नेपाल र भारत दुवै देशका अधिकारीहरुको उपस्थिति रहेको मन्त्री विश्वकर्माका सचिवालयले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.