|

भद्रपुर, (झापा) : भारतीय बालकलाई अपहरण गरी फिरौती मागेको आरोपमा झापा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरिगंज गाउँपालिका ६ का बद्री यादव, सोही गाउँपालिका ४ का बिट्टु मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका अभियुक्तलाई बुधबार पत्रकार सम्मलेनमार्फत सार्वजनिक गरिने प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 
प्रहरी स्रोतका अनुसार भारत बिहार राज्यस्थित सुपौल जिल्ला किसनपुरका मोहम्मद सद्दामका सात वर्षीय छोरा मैफुज आलमलाई उनीहरुले भारतबाट अपहरण गरी नेपाल ल्याएर बन्धक बनाएका थिए।

 गत मंसिर २० गते बिहीबार घर नजिकै खेल्दै गरेको अवस्थामा चकलेट दिई बालक आलमलाई मोटरसाइकलमा चढाएर भारतीयको सहयोगमा ल्याएका थिए। अपहरण गरी नेपाल ल्याएका ती बालकलाई अपहरणकारीले गौरिगंजका बिट्टुको घरमा दुई दिन राखेका थिए।
त्यसपछि ती बालकलाई मंसिर २२ गते शनिबारदेखि दमकस्थित देउराली होटलको कोठा नम्बर १०७ मा बन्धक बनाई राखेको पीडितका परिवारसँग भारतीय १५ लाख रुपैयाँ फिरौती मागेको प्रहरी स्रोतले बताए।

नेपालमा बालक अपहरणमा परेको पीडित परिवारले भारतीय प्रहरीमा उजुरी दिएपछि नेपाल प्रहरीको सहकार्यमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.