|

तनहुँ : भानु नगरपालिकामा चितुवाको आक्रमणले तीन बालबालिकाको मृत्यु भएपछि विद्यालयमा विद्यार्थीको संख्या घट्न थालेको छ। चितुवाको त्रासले भानुका केही विद्यालयमा बालबालिका अनुपस्थित हुन थालेका हुन्। भानु नगरपालिका–२ ढल्केबरमा घर बाहिर हात धुन निस्किएका बालकलाई चितुवाले आक्रमण गरी ज्यान लिएपछि त्रासका कारण बालबालिका विद्यालय जान छाडेका हुन्। 

सो क्षेत्रका बालबालिका मात्र नभई अभिभावकसमेत चितुवाको त्रासमा छन्। मनकामना सामुदायिक विद्या मन्दिरमा अध्ययन गर्ने केही बालबालिका त्रासले गर्दा विद्यालयमा अनुपस्थित भएका छन्। विशेषगरी कक्षा–२ मा अध्ययनरत विद्यार्थी अनुपस्थित भएको विद्यालयका प्रधानाध्यापक सुकबहादुर गुरुङले जानकारी दिए। ‘कक्षा २ मा पढ्ने बालबालिका बढी मात्रामा विद्यालयमा अनुपस्थित हुन्छन्,’ उनले भने, ‘सहपाठीको चितुवाको आक्रमणबाट ज्यान गएपछि उनीहरू विद्यालय आउन छाडे भने केही आए पनि त्रसित मुद्रामा देखिन्छन्। पढ्नतर्फ उनीहरूको त्यति ध्यान हुँदैन।’

उक्त विद्यालयमा मात्र नभई अन्य केही विद्यालयमा समेत त्रासले विद्यार्थी अनुपस्थित भएका छन्। चितुवाको आक्रमण भएपछि बिहानमा पढाउँदै आएको ‘कोचिङ’ कक्षासमेत बन्द गर्नुपरेको प्रधानाध्यापक गुरुङले बताए। 

भानु २ का अध्यक्ष अर्जुनबहादुर केसीले स्थानीय र सुरक्षाकर्मी दिनरात खटिए पनि चितुवा फेला पार्न नसकेको बताए। अझैसम्म पनि चितुवालाई नियन्त्रणमा लिन नसक्दा अभिभावकहरू त्रसित नै भएको उनको भनाइ छ।  

जंगलमा जडान गरिएको क्यामराले चितुवाको फोटो ट्रयाप गरेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। क्यामराले ट्रयाप गरेको फोटो मान्छे खाने चितुवा हो या होइन पत्ता लगाउन बाँकी रहेको डिभिजन वन अधिकृत केदार बरालले बताए। 

वनका विभिन्न भागमा चितुवाका गतिविधि अवलोकनका लागि प्राविधिकले जडान गरेको क्यामरा कैद भएको छ। चितुवा यसअघि ज्यान गुमाएका बालक सुमन गुरुङ्गमाथि आक्रमण भएकै क्षेत्रको क्यामरामा रेकर्ड भएको डिभिजन वन अधिकृत बरालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.