|

भारतका पाँच राज्यमा विभिन्न चरणमा भएका विधानसभा चुनावको मतपरिणाम मंगलबार बिहानैदेखि आइरहेको छ। प्राप्त मतपरिणाम र रुझान अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लज्जास्पद हार बेहोर्नुपरेको छ। भाजपाले १५ वर्ष राज गरेको छत्तिसगढ राज्यमा राहुल गान्धी अध्यक्ष रहेको कांग्रेसले दुई तिहाई बहुमतसहित जित हालिस गरेको छ। त्यसैगरी भाजपाको सरकार रहेको राजस्थानमा पनि कांग्रेसले जित हासिल गरेको छ। यता १५ वर्षदेखि राज गरिरहेको भाजपालाई कांग्रेसले पछाडि छोडेको छ। भलै उक्त राज्यमा कांग्रेसले बहुमत ल्याउन सकेको छैन। मतपरिणाम आउन बाँकि रहेको छ।

त्यस्तै तेलंगनामा क्षेत्रीय दल तेलंगना राष्ट्र समिति (टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिक मतगणनामा जित्ने देखाएको छ।

यो निर्वाचनमा भारतीय जनता पार्टीले राहुल गान्धीलाई कमजोर आँकेको थियो। उनलाई विभिन्न आक्षेप लगाएको थियो भने उसले निर्वाचनमा राम मन्दिरको मुद्दालाई सबैतिर उठाएको थियो। उता कांग्रेसका अध्यक्ष गान्धीले भने किसान, युवा, पछाडि परेका वर्गका कुरा उठाउँदै भाजपालाई प्रश्न गरेका थिए। रोजगार र किसानलाई ऋण मुक्तका विषयमा गान्धीले चुनावमा बाचा गरेका थिए। यो चुनावलाई सन् २०१९ मा हुन लागेको लोकसभा चुनाव अगाडि भारतीय राजनीतिमा राहुल गान्धीको नेतृत्वलाई कति सफल वा असफल भनी मापन गर्ने कडीका रूपमा लिइएको थियो।

राहुल गान्धीले कांग्रेस अध्यक्षको जिम्मेवारी लिएको ठिक १ वर्ष पुगेको दिन मंगलबार ठूलो सफलता मिलेको छ। उनले यसबीच मंगलबार साँझ पत्रकार सम्मेलन गरेर मोदीको कडा आलोचना गरेका छन्। उनले मोदी प्रधानमन्त्री जनतामा भ्रम छरेर बनेका र पछि गएर भ्रष्ट भएका आरोप लगाएका छन्। उनले यसलाई जनताको र कांग्रेस कार्यकर्ताको जित भएको दाबी गरेका छन्।

प्रारम्भिक मत गणना अनुसार राजस्थानमा कांग्रेसले ९९ सीट, भाजपा ७३ स्थानमा र २७ स्थानमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। मध्यप्रदेशमा दुई पार्टीबीच कडा टक्कर चलिरहेको छ। हालसम्म प्राप्त जानकारी अनुसार कांग्रेस ११३, भाजपा १०९ र अन्यको खातामा ८ सीट पर्ने देखिएको छ।

छत्तिसगढमा कांग्रेस ६६, भाजपा १६ र अन्यको खातामा ८ सिट जाने देखिएको छ।

दक्षिणी राज्य तेलंगनामा क्षेत्रीय दल टिआरएसले ९० सीटमा अग्रता पाएको छ, कंग्रेसले १६ सीटमा नेतृत्व गरेको छ भने टिडिपीले दुई र भाजपाले एक सीटमा नेतृत्व गरेको देखिएको छ।

अर्को एक सानो राज्य मोजिराममा मिजो नेशनल फ्रन्टले २० सीट, कांग्रेसले पाँच र भाजपाले एक स्थानमा अग्रता लिएको देखाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.