|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने दायित्वलाई आत्मसात् गर्दै अगाडि बढ्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडको चौथो वार्षिकोत्सवलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले जनपक्षीय सञ्चारमाध्यमलाई व्यवस्थित बनाएर नागरिकलाई यथार्थ सूचना दिने परिपाटीको विकास गर्न आग्रह गरेका हुन्। उनले भने, ‘जनपक्षीय सञ्चारमाध्यमलाई व्यावसायिक बनाउँदा जनपक्षीय छुट्ने र जनपक्षीय मात्रै बनाउँदा व्यावसायिकता छुट्ने भएकाले त्यसलाई मिलाएर जानुपर्दछ। यो नेपालको मात्रै समस्या होइन, अन्तर्राष्ट्रियस्तरको समस्या हो।‘

अध्यक्ष प्रचण्डले परिवर्तनलाई संस्थागत हुन नदिन विभिन्न कोणबाट प्रहार हुने र अनावश्यक प्रचार र प्रसारसमेत हुने भएकाले जनपक्षीय सञ्चारमाध्यमले जनताको पक्षमा अहोरात्र उभिने सङ्कल्प गर्नुपर्नेमा जोड दिए। ठूलाठूला सङ्घर्षबाट प्राप्त भएका राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसक्दा त्यसको फाइदा जनविरोधी तप्काले लिने गरेको भन्दै उनले राजनीतिक नेतृत्वले पनि विशेष ख्याल गरेर अगाडि बढ्नु जरुरी रहेको बताए।

नेपाली जनताले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनलाई संस्थागत गर्न हरतरहले मिहेनत गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष प्रचण्डले भने, ‘जनताको भावनालाई राज्य सञ्चालन गर्दा असाध्यै सावधानीपूर्वक कार्यान्वयन गर्नुपर्दछ। परिणाम दिने गरी काम गर्नुपर्दछ।‘ उनले वर्तमान सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई कार्यान्वयन गर्न सञ्चारमाध्यमको भूमिका विशिष्ट हुने उल्लेख गरेका थिए। ‘हामीले समाजवादी अभ्यास शुरु गरेका छौँ, परिवर्तनलाई संस्थागत गर्न लागिपरेका छौँ। यस्तो बेलामा जनपक्षीय सञ्चारमाध्यमले पनि त्यस्तै भूमिका निर्वाह गर्नुपर्दछ‘, अध्यक्ष प्रचण्डले भने।

विगतमा जनताले ल्याएको परिवर्तनलाई संस्थागत हुन नदिने ठूला ठूला षड्यन्त्र भएको भन्दै प्रचण्डले संविधानसभाको निर्वाचन, संविधान निर्माण, गणतन्त्रको घोषणा र संविधान कार्यान्वयन हुन नदिने अनेकन षड्यन्त्रलाई पराजित गरेर आफूहरू अगाडि बढेको बताए।

भिडियोः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.