|

काठमाडौं : सरकारले झण्डै एक वर्षअघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टिहरू आइरहेका छन्। यसरी असन्तुष्टि जनाउनेमा कर्मचारीका नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म  छन्।

नेपाल समाचारपत्र दैनिकका अनुसार निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाललाई यो मर्यादाक्रमप्रति चित्त बुझेकै छैन। यसमा पुनरवलोकन हुनुपर्ने उनको माग छ। संघीय र प्रदेश सरकारमा कार्यरत कर्मचारीबीच विभेद हुँदा अवहेलना भएको अध्यक्ष ढकालको निष्कर्ष छ। ८६ हजार कर्मचारीको नेतृत्व गरेको आधिकारिक ट्रेड यूनियनको अध्यक्षको मर्यादाक्रम सरकारको सचिवसरह हुनुपर्ने उनको दाबी छ।

गृह मन्त्रालयमा शाखा अधिकृत अध्यक्ष ढकाल कार्यविधि बनाएर श्रम विभागमा पठाइसक्दासम्म जवाफ नआएकोमा चिन्तित छन्। नुवाकोटको शिवपुरी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु केसीको यस्तै गुनासो छ। उनलाई पनि आफ्नो मर्यादाक्रमप्रति चित्त बुझेको छैन। जिम्मेवारीमात्र बढी भएको र मर्यादामा बेबास्ता गरिएको बताउने उपाध्यक्ष केसी आफ्नो मर्यादाक्रम गाउँपालिकाका अध्यक्षसरह हुनुपर्ने जीकिर गर्छिन्।

गाउँपालिकाका अध्यक्षको मर्यादाक्रम २१ र उपाध्यक्षको २२ छ। ‘अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले सम्पूर्ण जिम्मेवारी लिने भन्ने स्पष्ट व्यवस्था भएपछि त्यही हैसियतमा राखिनुपर्दथ्यो’ उपाध्यक्ष केसीको तर्क छ ‘उपाध्यक्ष र उपप्रमुख महिलामात्र हुन्छन् भनेर हेपेको होला।’

२०७४ माघ २६ गते सार्वजनिक गरिएको उक्त मर्यादाक्रमको सङ्ख्या २७ रहेको छ। यसअनुसार राष्ट्रपतिको मर्यादाक्रम एक नम्बरमा हुन्छ भने २७ औँ नम्बरमा सहायक सेनानी पर्दछन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.