|

उदयपुर : उदयपुर सिमेन्ट उद्योगले मंगलबार शतप्रतिशत उत्पादन गरेको छ। उद्योगले उत्पादन सुरु गरेको २६ वर्षपछि ‘फुल फेज’मा उत्पादन गरेको हो। २४ घण्टामा ८०० मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने उद्योगको क्षमता छ।

यसअघि दैनिक ७०० देखि ७६० मेट्रिकटन गर्दै आइरहेको थियो। ‘मंगलबार दिनभर ८०५ मेट्रिकटन उत्पादन गरेको छ,’ उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले भने, ‘विद्युत आपूर्ति र पूर्ण मर्मतपछि क्षमताभन्दा पाँच मेट्रिकटन बढी उत्पादन गरेको हो।’ निरन्तर विद्युत आपूर्ति र मेसिन मर्मतपछि उद्योगको उत्पादन क्षमता बढ्दै गएको महाप्रबन्धक पौडेलको भनाइ छ। 

२०४९ साल मंसिरदेखि उत्पादन सुरु गरेको उद्योगले यसअघि यति ठूलो परिमाणमा उत्पादन गर्न सकेको थिएन। जापान सरकारले नेपाल सरकारलाई उद्योग हस्तान्तरण गरेपछि हालसम्म सबैभन्दा ठूलो परिमाणमा गैँडाछाप सिमेन्ट उत्पादन गर्न सफल भएको उद्योगका नायब महाप्रबन्धक महेश काप्mलेले बताए। विद्युत २४ सैं घण्टा आपूर्ति भएमा दैनिक ८ सय मेट्रिकटन उदयपुर सिमेन्ट उत्पादन हुने काप्mलेको भनाइ छ।

असोजको पहिलो सातादेखि सुरु भएको मर्मत कार्य कात्तिकको पहिलो सातासम्म लागेको थियो। उद्योगको मुख्य भाग मानिने किल्लर (कच्चा पदार्थ पकाएर सिमेन्ट बनाउने अग्नि यन्त्र) लगायत २२ वटा ठूला यन्त्रको पूर्ण मर्मत र पुनः जडान गरिएको उद्योगका मेकानिकल विभागका प्रमुख टीका कुँवरले बताए। उनका अनुसार धेरै सामानहरु खिएर कामै नलाग्ने र केही टुटेर उद्योग बन्द हुने अवस्था आएपछि एक महिना लगाएर मर्मत गरिएको हो।

‘पाँच दशमलब एक मिटर भट्टी (किल्लर) नै चेन्ज गरिएको छ। धेरै पुराना पार्टपूर्जा मर्मत र चेन्ज गर्नु पर्यो,’ उनले भने, ‘उद्योगमा पहिलो पटक ग्राफाइड सिल जडान गरी उत्पादन समेत सुरु गरिएको छ।’ मेकानिकल विभागाका अनुसार २४ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको कुलर, ग्राफभेड वेल्ड फिल्टर, एकपेन्सन जोइन्डको १४ ठाउँमा मर्मत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.