|

कञ्चनपुर :  मानव बेचबिखन रोक्न पश्चिमी सीमा नाका गड्डाचौकीमा निगरानी बढाउन थालेपछि दलालहरूले नयाँ बाटो प्रयोग गर्न थालेका छन्। अधिकांश संस्था गड्डाचौकीमा केन्द्रित भएपछि दलालहरूले झोलुङ्गे पुल, ब्रह्मदेव, जिल्लाको दक्षिणी क्षेत्रका पुर्नवास, बेलौरी लगायतका नाका प्रयोग गर्न थालेका हुन्। 

मानव बेचविखनका लागि दलालहरुले नयाँ नाका प्रयोग गर्न थालेपछि प्रहरीको सहयोगमा ती नाकाहरूमा समेत निगरानी बढाउन थालेको छ। गत वर्षमात्रै वैदेशिक रोजगारीको प्रलोभनमा पारेर २५ भन्दा बढी युवतीलाई भारत लैजान लागेको अवस्थामा दक्षिणी क्षेत्रको खुला सीमा नाकाबाट प्रहरीले उद्धार गरेको थियो ।

वैदेशिक रोजगारीको प्रलोभनमा भारत जाने अधिकांश युवती मकवानपुर, नुवाकोट, स्याङ्जा, सुर्खेत, रोल्पा, रुकुम, पाल्पा र सुदूरपश्चिम लगायत क्षेत्रका हुने प्रहरीले जनाएको छ। किर्गिस्तान, कुवेत, दुवई र ओमान पठाइदिने प्रलोभनमा दलालले युवतीहरूलाई भारत लैजाने गरेका छन्। 

विवाहको प्रलोभनमा पारेर र भारतमै राम्रो रोजगारीमा लगाइदिने प्रभोलनमा युवतीहरूलाई भारततर्फ लैजाने गरेको पाइएको सीमा क्षेत्रमा चेलिबेटी रोकथाम कार्यमा संलग्न संस्थाका प्रतिनिधहरूको भनाइ छ। 

एक वर्षको अवधिमा पश्चिमी नाका  गड्डाचौकीबाट मात्रै माइती नेपालले २४ बालक, ७१ बालिका र १०० महिलाको उद्धार गरेको छ। माइती नेपाल कञ्चनपुरका सयोजक महेश्वरी भट्टले सन् २०१८ को अवधिमा माइती नेपालले जिल्लाको पश्चिमी सीमा नाकाबाट भारत जान लागेका बालक, बालिका र महिलाको उद्धार गरी घरपरिवारको जिम्मा लगाएको बताइन्। 

संयोजक भट्टका अनुसार गड्डाचौकी र दोधाराचाँदनी झोलुङ्गे पुलमा माइती नेपालको सूचना केन्द्रमार्फत उनीहरूको उद्धार गरिएको हो। माइती नेपाल कञ्चनपुरको तथ्याङ्कअनुसार ४९ जिल्लाका महिला, बालबालिकाको  सीमा नाकामा रोकथाम गरिएको छ। उद्धार गरिएका २०० मध्ये ११२ जना सुदूरपश्चिम प्रदेशकै छन्। 

कञ्चनपुरका ३७, कैलालीका ३२, अछामका १९, बैतडी र बाजुराका ६\६, डोटीका एक, बझाङका दुई, डडेल्धुराका चार र दार्चुलाका पाँचजनाको उद्धार गरिएको छ। एक वर्षको अवधिमा सीमा क्षेत्रबाट सबैभन्दा बढी भारत जान लागेका १६७, इरान १५, किर्गिस्थान ११, अस्ट्रेलिया चार, पोल्याण्ड, दुबई, कुबेत एक\एक जना सीमा क्षेत्रमा बेचिनबाट जोगिएका छन्।  

उद्धार गरिएका सबैलाई घरपरिवारको जिम्मा लगाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.