|

बागलुङ  : कच्ची सडकले गर्दा सर्वसाधारणले प्रयोग गर्ने गाेरेटो बाटाहरू मासिँदै गएका छन्। जिल्लाका अधिकांश गाउँमा गाडी गुडाउन मिल्ने कच्ची सडक पुगेपछि गाेरेटो बाटाहरु मासिँदै गएका हुन्। तर, कच्ची सडक वर्षामा  हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा सर्वसाधारणलार्इ समस्या भएको छ। 

सडक निर्माणका क्रममा स्थानीय सर्वसाधारणले प्रयोग गर्दै आएका गोरेटाहरु मासिएका छन्। कतै गोरेटाहरुलाई नै आधार बनाएर सडक निर्माण गर्ने त कतै गाडी गुड्ने फराकिला सडक बनाउँदा बगेका ढुंगा माटोका कारण गोरेटा बाटोहरु मासिएका हुन्। सर्वसाधारणको दैनिक क्रियाकलाप संचालन गर्न कठिन हुने गरी मासिएका गोरेटा बाटोहरुको पुनःनिर्माण हुन सकेको छैन। गोरेटा बाटोको पुनःनिर्माणमा कसैको ध्यान नजाँदा स्थानीयले मर्कामा परेको गुनासो गर्न थालेका छन्।

‘छोराछोरी विद्यालय जाने बाटो छैन्, मेलापत गर्न र एक गाउँबाट अर्को गाउँमा जाने बाटो समेत सडक निर्माणका क्रममा मासिए’ बागलुङ नगरपालिका–५ मालिकाका खिम बहादुर कँवरले भने ‘नयाँ बनेका सडक सबै कामका लागि पायक पर्ने ठाउँमा छैनन्, पुराना गोरेटाबाटो मासिँदा हामीलाई ठुलो मर्का परेको छ।’ गोरेटो मासिएका कारण खेतबारीबाट घाँसपात गर्न समेत कठिन भैरहेको कुँवरले बताए।

जिल्लाभर यतिनै गोरेटा बाटोहरु छन् भन्ने तथ्याङक नभएपनि अधिकांश ठाउँका बाटोहरु ठुला सडक निर्माणको बहानामा मासिएका छन्। ‘बागलुङ बजारदेखी कुश्मीशेरा बजारसम्म जोड्ने मालढुंगा लहरेबर गिठे कुश्मीशेरा सडक निर्माणका क्रममा हाम्रा धेरै बाटोहरु मासिए’ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेराका बुद्धि प्रसाद शर्माले भने ‘घाँस बोकेर हिँड्ने गोरेटो नभएका कारण खरवारीमा घाँस सुकाएर खेतबारीमा घाँस किनियो।’ सडक निर्माणका क्रममा फालिएको माटोका कारण नयाँ बनेको सडकदेखी तलमाथि गर्न समेत नसकिने उनको भनाई थियो।

भिरालो जमिनमा सडक बनाउनमा माथिल्लो भागमा अग्लो कान्लो बनाउने र तल्लो भागमा माटो थुपार्ने गरेकाले आसपासका गोरेटो प्रयोग गर्न समेत कठिन हुने गरेको शर्माको भनाई थियो। ‘यो बर्ष नयाँ सडक निर्माण गर्दा तिन वटा गोरेटो मासियो’ जैमिनी नगरपालिका–८ छिस्तीका वडा अध्यक्ष विजय शर्मा अधिकारीले भने ‘नयाँ बनेका सडकलाई नै गोरेटोको रुपमा प्रयोग गर्न मिल्ने गरी सडक बनाएका छौं।’ गोरेटो मासिएको भएपनि नयाँ बनेका गाडी गुड्ने सडक प्रयोग गर्न मिल्ने उनको भनाई थियो। गाडी गुड्ने गरी नयाँ बनाईएका सडक सबै कामको लागि उपयोगी नभएको सर्वसाधरणको गुनासो छ।

बागलुङमा केही वडाहरुले गत बर्षदेखी सर्वसाधरणको गुनासोलाई सम्बोधन गर्न गोरेटो बाटोको पुनःनिर्माण थालेका भएपनि अधिकांश वडाहरुमा भने बाटोको कारण सर्वसाधरणले सास्ती खेपीरहेका छन्। ‘हाम्रो संकार अनुसारका घाटहरु छन् मान्छेको मृत्यु हुँदा दाहुसंस्कार गर्न लैने बाटोहरु समेत मासिएका छन्’ बागलुङ नगरपालिका–९ का वडा अध्यक्ष गणेश थापाले भने ‘कम्तिमा जन्ति मलामी र खेतीपाती गर्नको लागि भएपनि गोरेटोको पुनःनिर्माण आवश्यक छ।’ गत आर्थिक बर्ष ३ सय मिटर गोरेटो पुनःनिर्माण गरेरका थापाले यो बर्ष चारवटा बिद्यालय जाने गारेटो बाटा र ३ वटा खेतबारी तथा घाटजाने गोरेटो निर्माण गर्ने योजना रहेको बताए।

नयाँ बनेका सडक प्रयोग गर्न सवारी साधनको आवश्यकता हुने भएकाले सबैको पहुँचमा सडकहरु हुन नसकेको थापाको भनाई थियो। कच्चि सडकहरुमा पैदयात्रा गर्न बर्षातमा हिलो र हिउँदामा धुलोका कारण निकै समस्या हुने गरेको बागलुङ मालिकाका कृष्ण प्रसाद शर्माले बताए। गोरेटोबाटो नभएका कारण सबैभन्दा धेरै खेतीपातीको काम गर्ने किसान र विद्यालय जाने बालबालिका समस्यामा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.