|

बैतडी : हिउँद यामको सुरुवातसँगै बैतडीका विद्यालयहरुमा खानेपानीको अभाव भएको छ। सुर्नया गाउँपालिका–४ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडामा खानेपानीको अभाव हुँदा समस्या भएको छ।

करिब ४०० विद्यार्थी रहेको विद्यालयमा खानेपानीको अभावका कारण शौचालय बन्द गर्नुपर्ने बाध्यता रहेका प्रधानाध्यापक गंगादत्त भट्टले बताए। उनले भने, ‘विद्यालयमा चार वटा शौचालय रहेकामा पानीको अभावले एउटा मात्र प्रयोगमा आएको छ।’ त्यही शौचालयमा पनि टाढाबाट पानी बोकेर हाल्नुपर्ने हुँदा धेरै समस्या हुने गरेको विद्यार्थीहरुले गुनासो गरे।

पानी लिन वडा कार्यालय र स्थानीय व्यापारी कहाँ जानुपर्ने बाध्यता छ। पानीको खोजीमा जानुपर्दा पढाइामा बाधा पुगेको कक्षा १० की विद्यार्थी लीलावती भाटले दुखेसो गरिन्। खानेपानीका लागि केयर नेपाल संस्थाले पानी ट्यांकी र धाराको निर्माण गरे पनि बिग्रेकाले करिब आठ वर्ष यता पानीको अभाव छ।

यस्तै, दोगडाकेदार गाउँपालिका–५ स्थित खोदमनाथ प्राथमिक विद्यालयमा पनि खानेपानीको अभाव छ। खानेपानीको अभाव हुँदा समस्या भएको विद्यालयका प्रधानाध्यापक करवीरराम सार्कीले बताए। दलित बालबालिकामात्रै रहेका उक्त विद्यालयमा खानेपानी ल्याउनका लागि कतैबाट पहल हुन सकेको छैन। प्रधानाध्यापक सार्कीले भने, ‘विद्यालयमा खानेपानीको समस्या हुँदा पठनपाठनमा समेत बाधा पुगेको छ।’

९७ जना विद्यार्थी रहेको विद्यालयमा पानीको अभावमा शौचालय समेत प्रयोगविहीन छ। आवश्यक सरसफाइ गर्न नसकिएको प्रधानाध्यापक सार्कीले बताए। उनले भने, ‘कक्षा ३ सम्म पढाइ हुने विद्यालयमा स–साना विद्यार्थीहरु पानी खोज्न भौतारिने गरेका छन्।’

पुर्चाैडी नगरपालिका–३ नकालीमा पनि खानेपानी समस्या सुरु भएको छ। हिउँद सुरु भएसँगै गाउँमा खानेपानीको समस्या सुरु भएको स्थानीय कर्णबहादुर धामीले बताए। वर्षातमा समयमा फुटेका मूलहरु सुकेपछि गाउँभरि खानेपानीको हाहाकार हुने गरेको छ। गाउँमा दुईवटा कुवा मात्रै भएको र कुवाको पानीले स्थानीयहरुको पूर्ती हुन नसकेको स्थानीय अनिरुद्र जोशीले बताए। 

पानीको अभावमा विणेश्वर माविको शौचालय पनि प्रयोगविहीन भएको छ। शौचालय सफा गर्नका लागि हिउँदको समयमा पानी नहुने भएकाले समस्या भएको विद्यालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.