|

काठमाडौं : नेपालको व्यापार दिन प्रति दिन परनिर्भर हुँदै गएको छ। आयातीत व्यापारमा अर्थतन्त्र केन्द्रित भएको छ। बढी नाफा हुने भएको कारण उद्योगी पनि उद्योगमा कम लगानी गर्दै व्यापारमा बढाउँदै गएको देखिन्छ। ठूला घरानाहरू पनि व्यापारमा केन्द्रित भएका छन्।

थोरै उत्पादन गर्ने केही उद्योग भने निर्यात व्यापारमा केन्द्रित छन्। दशकौँदेखि एकै किसिमका सामग्री निर्यात भए पनि विश्‍व बजारमा आएका नयाँनयाँ सामग्रीको आयातले निर्यात योगदान नगण्य रहेको छ। युवा उद्यमी भरतकुमार आचार्य भने नेपाली बजारमा नयाँ सामग्रीको आयात र त्यसलाई प्रतिस्थापन गर्न सक्ने संभावनाको विषयमा अध्‍ययन गर्छन्।

उनको अबको सपना भनेको प्रत्येक वर्ष एउटा नयाँ उद्योग स्थापना गर्नु हो। 'सानो होस् वा ठूलो तर अब भने प्रत्येक वर्ष एउटा उद्योग स्थापना गर्ने योजनामा छु', आचार्यले भने।

आचार्य पहिलो पुस्ताका उद्यमी हुन्। बुबा सरकारी कर्मचारी भएका कारण उनमा थोरै धेरै जागिरको सोच नभएको भने होइन तर क्‍याम्‍पस पढ्ने बेलामा नै खोलिएको एउटा गैरसरकारी संस्थाले स्वरोजगार बन्न उनलाई प्रेरणा दिएको थियो।

आचार्यसहितको टिमले क्याम्पस पढ्दा खोलिएको संस्थानले म्यानेजमेन्ट कन्सल्टिङसम्बन्धी काम गर्‍यो। उनको भिजनमा सुरुवात पनि त्यही क्षेत्रबाट नै भयो। उनले सन् २००४ बाट स्ट्राटेजिक म्यानेजमेन्ट ट्रेडिङबाट व्यवसाय सुरुवात गरेका थिए। सेवामूलक क्षेत्र भएका कारण लगानी भने कम थियो। 'लगानी बढी गर्नुपर्ने होइन, जति डिमान्ड भयो, त्यति कमाइ थियो, आवश्‍यक थोरै रकम जुटाउनका लागि भने त्यति समस्या भएन।'

यो क्षेत्रमा मात्रै उनी लामो समय रामउन सकेनन्। त्यसपछि भने केही  उनले व्यापार क्षेत्रमा हात हाले। विदेशी बजारबाट औद्योगिक कच्चा पदार्थ मगाउने र नेपाली बजारमा बिक्री गर्ने।

म्यानेजमेन्ट स्ट्राटेजिक ट्रेडिङ पनि चलिरहेको थियो कच्चा पदार्थको व्यापार पनि राम्रै जमेको थियो तर उनी व्यापारमा मात्रै रमाएनन्। अहिले उनका प्याकेजिङसम्बन्धी मात्रै छवटा उद्योग छन्। ट्रेडिङ, हेल्थ केयर, जलविद्युत, शिक्षा, अटो मोवाइललगायत गरी नौवटा प्रतिष्ठानमा आफू केन्द्रित भएको उनी बताउँछन्।

अहिले नौवटा युनिट रहेका छन् भने ३०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। 'अब यसमा सीमित हुने होइन, आजसम्म सिकेको ज्ञानको प्रयोग गर्ने हो', आचार्यले भने।

अब उनी प्रत्येक वर्ष एक नयाँ उद्योग स्थापना गर्ने गरी योजना बनाएको बताउँछन्। 'अब प्रत्येक वर्ष एउटा नयाँ उद्योग संचालनको तयारीमा छु', कस्तो उद्योग? भन्ने प्रश्‍नमा आचार्य भन्छन्, 'प्रत्येक महिना विश्‍व बजारमा उत्पादन भएका नयाँ सामग्री नेपालमा आइरहेका छन्। नेपालमा कस्ता सामग्रीको माग बढी छ, त्यस्ता वस्तुको आयात प्रतिस्थापनमा सहयोग पुग्‍ने उद्योग संचालन गर्छु।'

अहिले देशको स्थिति लगानीमैत्री भएको र सरकारले नीति नियममा सहजीकरण गर्दै आएका कारण पनि सहज हुने उनी बताउँछन्। 'उद्योग संचालन गर्न हिजोका दिनमा समस्या थियो अब हुँदैन भन्ने बुझाइ हो', आचार्यले भने। उनले अबको पाँच वर्षमा कम्तीमा दुई हजार जनालाई रोजगारी दिने लक्ष्य लिएका छन्। प्याकेजिङ उद्योगमा आफूलाई अग्रणि उद्योगीको रूपमा चिनाएमा भरतले अबका केही वर्षमा अन्य क्षेत्रमा समेत अग्रणी उद्योगीको रूपमा आफ्नो परिचय बनाउने लक्ष्य लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.