|

सुनसरी : सानो कद भएको एउटा ख्याउटे केटो, जो धनकुटा जिल्लाको साविक मारेकटहरेमा आजभन्दा ५० वर्षअघि जन्मेको थियो। जसले युवा अवस्था लाग्नेवितिक्कै ट्रकको सहचालकको काम गर्थ्यो। त्यो बेलाको काम गर्दा उनका धेरै साथीहरू त्यो काम गर्न लजाउँथे तर उनले कसले के भन्छन्, त्यो वास्ता गरेनन्। युवा हुँदा त्यही काम नै उनलाई अहिलेको सफल अवस्थासम्म आउने 'टर्निङ प्वाइन्ट' हुन पुग्यो।

धरान-धनकुटा सडकका विभिन्न ठाउँमा ट्रकबाट सामान लोड अनलोड गर्दै उनी त्यही ट्रकमा बसेर ठाउँ ठाउँमा सामान खसाउँदै तराईका समथर ठाउँदेखि पहाडका डाँडाकाँडा पुग्थे। ट्रकमा धरान-इटहरी-धनकुटा ओहोरदोहोर गरिरहन्थे। उनको दिनचर्या यस्तै गरेर बित्थ्यो। उनको यो कामलाई त्यतिबेला थुप्रैले होच्याए। गाली गरे। कतिले त थुके पनि तर 'काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ' भनेजस्तै उनले कुनै वास्ता गरेनन्। आलोचना गर्दै हिँड्ने सबैको कुरा सहे। कहिल्यै रिसाएनन्। न त लजाए, न थाके।

लोड अनलोड गर्ने काम छोडेनन्। चैत-बैशाखको हावा हुण्डरी भनेनन्। असार-साउनको दर्के झरी पनि भनेनन्। पुस-माघको चिसो सिरेटोको समेत कुनै प्रवाह नै नगरी निरन्तर मिहिनेत गरिरहे। यही मिहिनेतले उनलाई आज एउटा एउटा सफल उद्योगी बनाएको छ। पूर्वमा प्रतिष्ठित व्यवसायीको रूपमा चिनाएको छ। ट्रकको डालामा सामान लोड अनलोड गर्ने तिनै व्यक्ति आज हजार बढीलाई रोजगारी दिने रोजगारदाता भएका छन्। ती सफल व्यक्ति हुन्- सुनसरीको इटहरी निवासी व्यवसायी भीम पौडेल।

पौडेलको बाल्यकाल

धनकुटाको मारेकटहरे- २ मा जन्मेका पौडेलको गाउँमा त्यतिबेला निमावि तहसम्मको स्कुल थियो। सामान्य परिवारमा जन्मिएका पौडेल बिहान-बेलुका खेतीपाती र गोठको काममा घरमा सघाउँथे अनि पढ्नका लागि झोला बोकेर स्कुल हिँड्थे। भीमले त्यसैगरी खेतीपाती र गोठको काम घरपरिवारलाई सघाउँदै निमाविसम्म पढे। मावि स्कुल उनको गाउँमा नभएकाले धनकुटाकै वसन्तपुर बजार पुग्नुपर्थ्यो। भीम सम्झिन्छन्, 'धेरैले निमाविसम्म पढेपछि सामान्य लेखपढ जानिहालियो भनेर खेतीपातीमै लाग्थे।' तर उनी पढ्न भनेर वसन्तपुर हानिए। मारेकटहरे गाउँबाट वसन्तपुर बजार हिँडेका भीमले जसोतसो ९ कक्षा पास गरेर १० कक्षामा पाइला टेके।

उनी १० कक्षा मात्र के पुगेका थिए, वसन्तपुरमा कक्षा १० पढ्दापढ्दै स्कुल छाडेर भारतको आसाम पुगे। आसाममा उनका बडाबा गाई पाल्ने, धान खेती गर्ने गर्थे। १० कक्षा पढ्दापढ्दै पढ्न छाडेर आसाम बरालिएका पौडेलले बडाबालाई नै खेतीपातीमा सघाउन थाले। पढ्दापढ्दैको ठिटो त्यसरी भागेर आसाममा काम गरिरहेको बेला एक जना व्यक्तिले भीमलाई खुब गाली गरेछन्। ट्रकमा धरान–इटहरी–धनकुटा ओहोरदोहोर गरिरहँदा त्यतिबेला कैयौँले होच्याउँदा, गाली गर्दा, कतिले थुक्दा वास्ता नगरेका भीमका लागि त्यो गाली उत्प्रेरक नै भयो। भीमले ती व्यक्तिको गालीलाई उत्प्रेरणाकै रूपमा लिएर नेपाल फर्किए।

टर्निङ प्वाइन्ट

वि.सं. २०४५ साल भदौमा उनी आसामबाट घर आए। आसाममा उनी पाँच महिनाजति मात्र भौँतारिएछन्। १० कक्षा पढ्दापढ्दै पाँच महिना छुटेको पढाइलाई निरन्तरता दिने अठोट गरे। बीचमा छाडेको पढाइलाई उनले निरन्तरता दिँदै गए। पढाइमा लगनशील भएर लागे। केही महिनापछि एसएलसी परीक्षामा सहभागी हुने बेला आयो। त्यो २०४५ सालकै कुरा हो।

त्यतिबेला एसएलसीको ठूलो महत्त्व थियो। एसएलसी पास गर्ने मान्छे गाउँको ठूलो मान्छे कहलिन्थ्यो। भीमका अनुसार एसएलसी दिएपछि जागिर पाउन त्यति कठिन हुँदैनथ्यो। एसएलसी दिएपछि उनले छिमेकी दाइ लोकेन्द्र रायमाझीलाई जागिर खोजिदिन अनुरोध गरे। भीमका लागि जागिरको पहल गरेका लोकेन्द्रकै सिफारिसमा त्यस बेलाका स्वास्थ्यका निर्देशक कल्याणविक्रम पाण्डेले भीमलाई जागिर दिए। स्वास्थ्यको सामान्य जागिरका लागि भीम ताप्लेजुङको हाङपाङ हानिए। जागिर खान त्यहाँ पुगेका भीमले काम थालेको पाँच महिनापछि उनको विवाह भयो। लीलामाया बिष्टसँग विवाह भएपछि उनले जागिर छाडे। त्यसपछि उनी फेरि वसन्तपुर नै फर्किए।

जागिर छाडेर आइसकेपछि वसन्तपुरमै रहेका श्रीमती लीलामायाका नातेदार रूपनारायण प्रसाईंसँग भीमले व्यापार गर्छु भनेछन। तर व्यापार गर्न भीमसँग पैसा रहेनछ। जागिर खाँदाको पैसा पनि विवाहमा सकेका भीमले आठ-दस हजार रुपैयाँको जोहो गर्न सक्ने प्रसाईंलाई सुनाए। आफूसँग भएको केही र साथीसँग सापटी मागेर लिएर १० हजार रुपैयाँ भीमले जुटाए। त्यही पैसाबाट रूपनारायणसँगको साझेदारीमा २०४६ साल माघदेखि उनले नुन व्यापारको काम थाले। १० हजार रुपैयाँ लगानी गर्दा उनलाई रूपनारायणले २५ प्रतिशत शेयरको कागज गरिदिएको भीम सम्झिन्छन। साल्ट ट्रेडिङको डिलरमा १० हजार रुपैयाँ लगानी गरेर २५ प्रतिशत शेयर लिएर व्यापार थालेका उनी १७ घण्टासम्म काम गर्थे।

साल्ट ट्रेडिङको डिलर भए पनि सबै किसिमका सामान बेच्ने किराना पसल नै थियो। उनी बिहानदेखि रातीसम्म काम गर्थे। निरन्तर यसरी काम गरेर उनले तीन वर्षपछि २०४९ सालमा डिलरको शेयर ५० प्रतिशत बनाए। रूपनारायणले भीमको मिहिनेत देखेर आफैँ शेयर बढाइदिएको उनी सम्झिन्छन्। शेयर बढेपछि उनी झन् उत्साहित भएर मिहिनेत गर्न थाले। यो क्रम चार वर्षसम्म चल्यो। त्यसपछि व्यापारमा मन्दी आउन थाल्यो। त्यसैले वसन्तपुरको व्यापार छाडेर दुवै जनाले विराटनगर गएर काम गर्ने योजना बनाए।

विराटनगर पुगेपछि रूपनारायण र भीम अलगअलग भएर काम गर्ने निर्णय गरे। व्यापारिक सहकार्य टुटेपछि दुवै जनाले व्यापार गर्दाको नौ लाख रुपैयाँ बराबरी बाँडे। पैसा पाए पनि भीमले व्यापार पाएनन्। त्यतिबेला साल्ट ट्रेडिङको डिलर लिन कठिन थियो। भीमले वसन्तपुरमा व्यापार गर्ने सिलसिलामै चिनेका रामप्रसाद खतिवडा मोरङका सिडिअो थिए। खतिवडाले भीमलाई साल्ट ट्रेडिङको विराटनगरमै डिलर मिलाइदिए। पौडेलले विराटनगरमै नुन बेच्न थाले। तर कारोबार वसन्तपुरको जस्तो भएन। करिव डेड वर्ष व्यापार गर्दा पनि खासै उन्नति नभएपछि भीमले इटहरी आउने योजना बनाए।

विराटनगरमा हुँदा पाथीभरा ढुवानीसमेत चलाएका उनी २०५४ सालमा इटहरी आए। इटहरी आएका उनले अर्का व्यवसायी रमेश पौडेलसँगको साझेदारीमा पाथीभरा ढुवानी र साल्ट ट्रेडिङको डिलर चलाउन थाले। 'डेड वर्षजति यो काम गरे पनि सोचेजस्तो सफलता हात लागेन', भीम सुनाउँछन्।

२०४६ सालमा रूपनारायणसँग साझेदारी गरेर वसन्तपुरमा साल्ट ट्रेडिङको डिलरबाट व्यापार थालेका भीमले १० वर्षपछि २०५६ सालमा रमेश पौडेलसँगको साझेदारी पनि छाडे। इटहरीमा उनी एक्लै डिलर गर्न थाले। विराटनगर र इटहरीको व्यापारमा सोचेजस्तो उन्नति नभएपछि साझेदारीबाट अलग्गिएका भीम साझेदारी छाडेर एक्लै काम गर्न थालेको त्यही समय नै उनको जीवनको 'टर्निङ प्वाइन्ट' बन्यो।

'निरन्तर संघर्षले स्थापित गरायो'

सामान लिन आफैँ जाने, ट्रकमा लोड अनलोड पनि आफैँ गर्ने, ताकेतामा पनि आफैँ पुग्ने पौडेलले त्यतिबेला उनीसँग मान्छे राखेर काम गर्ने आम्दानी थिएन। वसन्तपुर छाडेदेखि नै व्यापारले राम्रो आम्दानी नदिएको उनको अनुभव छ। आफैँ मिहिनेत गरेर व्यापारमा स्थापित हुनेबाहेक अरू विकल्प नभएको उनी सम्झिन्छन्। उनी रातदिन खटे। एकाबिहानै भालेको डाकसँगै उठेर ट्रकमा एक्लै नुनका बोरा लोड गर्थे उनी।

त्यही ट्रकमा बसेर धरान-धनकुटा सडकका ठाउँठाउँमा खसाउँदै पहाड पुग्थे। उद्देश्य एउटै थियो- जसरी भए पनि व्यवसायमा स्थापित हुने। व्यापारमा लागेको १० वर्ष बितिसकेको थियो। २५ प्रतिशत शेयरबाट सुरु भएको साल्ट ट्रेडिङको डिलर पनि एकलौटी भइसकेको थियो तर पनि त्यतिबेला व्यापारबाट जति आम्दानी हुनुपर्ने हो, त्यो भएको थिएन। आफूले थालेको व्यापारबाट उच्चतम् आम्दानी गरेरै छाड्ने सोचले अघि बढ्दा यो क्रम तीन–चार वर्षजति चल्यो। तीन–चार वर्षको यही एक्लो मिहिनेतले भीम पौडेललाई कहिल्यै पछाडि फर्केर हेर्नु नपर्ने गरी स्थापित गरिदियो।

अहिले हजार बढीलाई रोजगारी

सफल व्यवसायी हुने उद्देश्यले योजनाबद्ध रूपमा मिहिनेत गरेका पौडेलले नुन बेचेर कमाएको पैसा विभिन्न ठाउँमा लगानी गर्न थाले। २०६० सालदेखि ठेक्कापट्टाको काममा पनि हात हाले। क्रसर उद्योगसमेत सुरु गरेका उनले ढुवानी व्यवसायलाई बढाउँदै लगे। ढुवानीका लागि आवश्यक ट्रक र ट्रिपरहरू किन्दै गए। सुरुमा व्यापार व्यवसायबाट आशातीत प्रगति गर्न नसकेका उनले पछिल्लो समय गरेका हरेक व्यवसायले प्रतिफल दिँदै गए। लाऊँलाऊँ खाऊँखाऊँ भन्ने उमेरमा भाडाको ट्रकमा हिँड्ने उनी आफ्नै महँगो कार चढ्ने भए।

१० हजार रुपैयाँ लगानी गरेर २०४६ सालमा नुनबाट सुरु भएको पौडेलको व्यापारले कोल्टे फेर्‍यो। उनको आम्दानी बढ्दै गयो। अहिले पौडेलका ५० बढी ट्रिपर र एक दर्जनजति निजी गाडी सडकमा गुडिरहेका छन्। इटहरीमा केही व्यवसायीसँग मिलेर थ्री स्टार होटल बनाएका छन्। सुनसरीमा जुस फ्याक्ट्री खोलेका छन्। पूर्वका विभिन्न ठाउँमा क्रसर उद्योग चलाइरहेका छन्। विभिन्न शैक्षिक संस्थामा समेत लगानी गरिरहेका छन्। यी सबै ठाउँमा गरी उनले हजार बढीलाई रोजगारी दिएका छन्।

प्रेरणाको स्रोत पौडेल

निरन्तर संघर्षले छोटो समयमा यति धेरै उन्नति गरेका पौडेल आमयुवा पुस्ताका लागि प्रेरणाको स्रोत भएका छन्। हरेश नखाईकन जोखिम मोलेर व्यापार गरेका पौडेल छोटो समयमै सम्पन्न भएका छन्। समयअनुसार ठीक ठाउँमा लागानी गरेर सफल भएको उनी बताउँछन। सशस्त्र द्वन्द्वको बेलासमेत जोखिम मोलेर सरकारी ठेक्कापट्टाको काम गरेको उनी सुनाउँछन्। आफ्ना नियमित कामलाई उच्च प्राथमिकतामा राखेर दिनरात खटिरहेको बताउँदै पौडेल आज पनि उत्तिकै मिहिनेत गरिरहेको सुनाउँछन्। कुनै पनि कामलाई सानो भनेर लजाएको भए आज यो उपलब्धि नहुने उनको बुझाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.