|

बागलुङ : अपरेशन गर्नै पर्ने बिरामीबाहेक अधिकांश उपचार गाउँमै गर्न पाइन्छ भन्दा अनौठो लाग्छ तर भीमापोखरा स्वास्थ्य चौकीले यस्तो सेवा दिएको छ।काठेखोला २ स्थित भीमापोखरा स्वास्थ्य चौकीले तुलनात्मक सदरमुकामको अस्पताल जत्तिकै सेवा दिएको हो।

लामो समयदेखि निरन्तर काम गरिरहेका अनमी र अन्य स्वास्थ्यकर्मी नियमित कार्यालयमा बसेर सेवा दिएकोले स्थानीयको बिश्वास समेत बढेको छ। सहजै सेवा पाउने भएकोले बिरामी आवस्यक नपरी सदरमुकाम झर्दैनन्। धौलागिरी अञ्चल अस्पतालमा समेत अपरेशन सेवा नभएकोले अधिकांशले गाउँमै प्रसूतिका लागि लैजाने गरेका हुन्। अपरेशन गर्नै परे पोखरा पठाउँछन्। यहाँ दक्ष प्रसूतिकर्मीको तालिम पाएका शर्मा सहितका तीनजना अनमी कार्यरत छन्। 

अस्पतालमा उपचार हुन नसकेर सास्ती खेपेको खवर सुनेका गाउँलेले प्रसूतिकर्मीको सल्लाह लिएर मात्र अन्यत्र जाने गरेका हुन्। सदरमुकाम पुगेर पनि उपचारको ठेगान नहुँदा गाउँकै स्वास्थ्यचौकी जाने गरेको महिलाले बताए। अञ्चल अस्पतालमा स्त्रिरोग विशेषज्ञ नभएकोले जटिल समस्या आउनेलाई सोझै पोखरा पठाउने गरिन्छ। अनमीले गाउँमा भएका सबै गर्भवतिको सूचीकरण गरेकोले अप्ठ्यारो पर्दा सेवा सहजै दिन सकिएको अनमी विद्यालक्ष्मी शर्माले बताइन्।

केही समययता शर्मासहित प्रवित्रा शर्मा र प्रजिना बिकले पनि प्रसूतिसम्बन्धी तालिम लिएर आएका छन्। नियमित खोप लगाउन आएको वा नआएको रेकर्ड राख्ने, आएकाहरूको गर्भको अवस्था बारे जानकारी राख्ने उनीको दैनिकी हो। दुइवर्ष अघि यो स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना भएको छ। सेन्टरले उनीहरूको जिम्मेवारी थपेको छ।

शर्माले राती वा दिउसो नभनी आएका गर्भवतिको परीक्षण र अवस्थाबारे जानकारी गराउँछिन्। ‘बच्चा उल्टो भएको वा जटिल समस्या भएको खण्डमा अपरेशन गर्ने अस्पताल पठाउँछु’ उनले भनिन्, ‘अन्य काममा उनले सहजै सुत्केरी गराइरहेकी छन्।’ मासिका पदमा प्रवेश गरेपछि उनले अनमी अध्ययन गरिन्। पास गरेपछि उनी अनमी पदमा उत्तीर्ण भएर पनि भीमापोखराकै स्वास्थ्यचौकीमा नियुक्ति भइन्। उमेरले पाको र अनुभव बटुलेकोले अधिकांशले उनलाई नै आफ्नो समस्या देखाउन आउँछन्।

‘दरबन्दी अनुसार सबै जनशक्ति बसेको, दक्ष प्रसूतिकर्मीहरू भएको र व्यवस्थापकीय चुस्तताले गाउँ पालिकाको अब्बल स्वास्थ्य चौकीको रुपमा दर्ज भएका छौं’ स्वास्थ्यचौकी प्रमुख दिया छन्त्यालले भनिन्,‘सुरक्षित प्रसूति सेवा लिनेको संख्या पनि बढ्दो छ।’ कामको बिश्वासले धेरै गर्भवति र अन्य रोगका बिरामी नियमित आएको छन्त्यालले बताइन्।

तालिम प्राप्त अनमीहरू गाउँ मै बसेकोले स्वास्थ्यचौकीप्रतिको विश्वास बढेको उनको भनाई छ। ग्रामीण तहमा भए पनि मासिक ४६ जनाले खोप लगाएका र साउनदेखि २० जनाले प्रसूति सेवा लिएका छन्। गाउँपालिकाले पनि यो स्वास्थ्यचौकीको सेवाबाट धेरैले सन्तुष्टि जनाएकोले आवस्यक उपकरण, जनशक्ति र अन्य सहयोगका लागि चासो राख्ने गरेको छ। यहाँ भीमापोखराबाहेक छिमेकी धम्जा र पालाका बिरामी पनि नियमित उपचारका लागि आउने गरेका छन्।

महिला स्वास्थ्य स्वयंसेविकाले समेत उनको सल्लाह मागेर नियमित काम गर्ने गर्छन्। शर्मा लगायतले घरदैलोमै पुगेर खोप लगाउने, गर्भवतिका लागि पौष्टिक आहार खान सल्लाह दिने र गह्रौ काम नगर्न सुझाव दिने गरेको स्थानीय गीता हमालले बताइन्। लामो समयदेखि सेवारत शर्मालाई स्वास्थ्य कार्यालयले सम्मान गरिसकेको छ।

स्वास्थ्यचौकीमा बिरामी लैजान समस्या भएकोले गाउँपालिकाले सडक मर्मतका लागि लगानी गरेको छ। ‘वडा कार्यालय र स्वास्थ्यचौकी आउन सास्ती खेप्न नपरोस् भनेर सडकमर्मत गरेका छौं’ वडा अध्यक्ष बिद्यापति शर्माले भने, ‘स्वास्थ्य जस्तो संवेदनशील विषयमा कसैले पनि खेलवाड नगरौं भनेर सम्झाउने काम समेत भएको छ।’

हाल चौकीमा हेल्थ असिस्टेन्ट, अहेब, तीनजना अनमी र सहयोगीको व्यवस्था छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.