|

सल्यान : दार्मा गाउँपालिका-३ डाँडागाउँका किसानहरू व्यावसायिक तरकारी खेतीमा आर्कषित हुन थालेका छन्। दुई वर्षअघिसम्म बारीमा लगाएको तोरी र रायोको साग सिन्कि बनाएर गर्जो टार्दै आइरहेका यहाँका किसानहरू पछिल्लो समय व्यवसायिक तरकारी खेतीमा आर्कषित हुँदै जान थालेका हुन्। आकासेपानीको भरमा तोरी र रायोको खेती गर्दै आईरहेका यहाँका किसानहरू गाउँमा सिचाई कुलो निमार्ण भएपछि तरकारी खेतीमा आर्कषित हुन थालेका छन्। मौषमी र वेमौषमी तरकारी खेती गरी बजारसम्म पुर्‍याउने सोचका साथ डाँडागाउँका दर्जन बढि किसानहरू तरकारी खेतीमा जुटेका छन्।

जब तरकारी बिक्री गरेर हातमा पैसा आउछ त्यसपछि आफूलाई कामको थकान एकाएक हराएर जाने गरेको किसान ममिता खत्रीले बताइन। उनले भनिन्, 'पहिले हामी तरकारी भनेको वर्षायामको करेला, लौका र हिउदको रायो र तोरीको साग मात्र है भन्ने सोच्थ्यौ तर पोषणयुक्त तरकारी अरु पनि छन गाउली, बन्दा, टमाटर, लगाउन हामीलाई वास्ता नै हुदैन्थो।'

२ वर्ष अघिमात्रै तरकारी खेती सुरु गरेकी खत्रीले यो वर्षको सिजनमा मात्रै झन्डै ६५ हजार बराबरको आम्दानी गरी सकेकी छन्। आफूले तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि कालापहाड, (भारत) गएका पति पनि स्वदेश फर्किएर आफुलाई खेतीमा सहयोग गरी रहेको उनको भनाइ रहेको छ।

‘सबै पुरुष विदेश तथा कालापहाड जाने र हामीलेघर धान्ने प्रचलनले निवार्हमुखी खेती हुदै आइरहेको थियो।’ नमुना कृषक समूहकी कोषाध्यक्ष समेत रहेकी खत्रीले भनिन ‘अहिले तर चलन फेरिएको छ यहाँका १६ घरका महिलाले तरकारी खेती गरी रहेका छौ परदेश गएका पनि फर्किएर तरकारी खेतीमा सहयोग गर्न थालेका छन्।’

आफुहरूले उत्पादन गरेको कृषिजन्य उत्पादनको बजारीकरणका लागि कुनै समस्या नभएको कृषक खिमा केसीले बताइन। फारुला, चम्फुटाकुरा, मौलोहाले, लगायतका स्थानीय बजारमै सिजन अनुसारको तरकारी पुर्‍याउन नसकिएको उनको भनाई छ। उनले भनिन सुरुमा त हामीलाई अन्नखाने बारीमा तरकारी रोपेर के खाना पुग्ला र जस्तो लागेको थियो थोरैबाट खेती सुरु गर्‍यौ त्यसबाट अन्नको भन्दा झन्डै तीनगुणा आन्दानी भयो। अहिले एक रोपनी भन्दा बढिमा तरकारी खेती रहेका छौ।

छोराछोरी पढाउन र घर खर्च चलाउन कालापहाड जानु पर्ने बाध्यता अहिले तरकारी खेतीले तोडिदिएको उनको भनाई रहेको छ। तरकारी खेती नै नगर्ने यहाँको समाजका लागि आफुहरूको यो नयाँ र नुमना काम भएको उनको दावी रहेको छ। उनले भनिन्, ‘टमाटर, काउली, वेमौषमी काँक्रो, करेला बुढापाकाले हुदैन भन्थे त्यहि बुढापाकाको भनाईलाई हो जस्तो लागेर हामीले पनि कोसिस गरेनौ तर सेभ द चिल्ड्रिनको सहयोगमा दलित विकास समाजद्धारा सञ्चालित एकीकृत परियोजनाले मौसमी तथा वेमौषमी तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने बताएपछि थोरैबाट तरकारी खेती सुरु गरेका हामीले अहिले वर्षिक लाखौं आम्दानी गर्दै आइरहेका छौं।’

स्वेदशमा रोजगारी छैन भन्दै हजारौं युवा रोजगारीको खोजीमा विदेश भौतारिएका बेला निता दाहालको मेहनत र आम्दानी देखेर अन्य किसानहरू पनि तरकारी खेती सुरु गरेका छन्। बिहान उठ्ने वित्तिकै तरकारी बारीमै जाने र आजभोलीको चिसोलाई पनि चिसो नभनेर बारीमै रमाउने गरेको दाहालको भनाई रहेको छ। उनले भनिन ‘मेहनत र परिश्रम गरे स्वदेशमै जति पनि पैसा रहेछ। कृषिपेशालाई सम्मानको पेशाको रुपमा हेर्ने र ग्रहन गर्ने बानी परे विदेशमा भौतारिनु पर्दैन।’

डाडाँगाउँमा खेती गरिरहेका १६ घरलाई लक्षित गरी अहिले सिँचाइ कुलोसमेत बनेको छ। परियोजनाको साढे २ लाख र समूहको ७० हजार बराबरको श्रमदानबाट सिँचाइ कुलो निर्माण भएपछि व्यावसायिक तरकारी खेती गर्ने किसानहरूलाई उत्पादनमा सहज भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.