'हामीलाई गलाउन खोजियो'

|

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा भाग लिन आएका महासमिति सदस्यहरू बिहीबार दिनभर फुर्सदिला देखिन्थे। सिंहदरबार अगाडि रहेको यगम्बर पार्टी प्यालेसबाट सानेपास्थित पार्टी कार्यालयमा बैठक स्थान सारिएपछि बैठकका लागि पुगेका महासमिति सदस्यहरू दिक्क र निराश देखिन्थे।

बैठकको पाँचौँ दिनसम्म पुगिसक्दा आधा मात्र महासमिति सदस्यहरू बैठक स्थान सानेपा पुगेका थिए। निर्धारित समयभन्दा लामो समय महासमिति बस्ने भएपछि धेरैजसो महासमिति सदस्यहरू काठमाडौं छाडेर जिल्ला फर्किन पनि थालेका छन्। बिहीबार सानेपा पुगेका महासमिति सदस्यहरू कोही घाम तापिरहेका देखिन्थे त कोही पार्टीको चिन्ता गर्न व्यस्त देखिन्थे।

नेताहरूले विधान मस्यौदामा सहमति नगरेका कारण महासमिति बैठक केही दिनदेखि छिनछिनमा स्थगित हुँदै बस्दै आएको छ। बुधबार साँझ ६ बजे स्थगित भएको महासमिति बैठक बिहीबार दिनभर बस्न सकेन। अहिले पनि विधानमा पदाधिकारीलगायत विषय मिल्न सकेको छैन। नेताहरूले साँझ सहमति गर्ने र बिहान भंग गर्ने प्रक्रिया जारी राखेका छन्।

यद्यपि, नेताहरूले भने केन्द्रीय कार्यालयमा सहमतिका लागि धेरै प्रयास गरे तर अहिलेसम्म सफल हुन सकेको छैन। दिउँसो १२ बजेसम्म त महासमितिको बैठक स्थल पनि पूर्ण रूपमा तयार भइसकेको थिएन। कुर्सीहरू जताततै भद्रगोल अवस्थामा देखिन्थे। महासिमिति सदस्यहरू पनि निराश र नेताप्रति निकै आक्रोशित देखिन्थे।

‘नेतृत्वको अक्षमता, पार्टीभन्दा मेरो हित हुनुपर्छ भन्ने र व्यक्तिलाई केन्द्रमा राखेर हेरेका कारणले अहिलेको अवस्था आएको हो’, चितवनका महासमिति सदस्य दिनेश कोइराला भन्छन्, ‘नेताहरूले ढिलाइ गर्दा महासमिति सदस्यलाई त असर परेको छ नै, पार्टीलाई पनि ठूलो क्षति भएको छ।’

काठमाडौंको महँगी, बैठकलाई नेताले अनिर्णयको बन्दी बनाउँदा दिक्क भएर आधासरो महासमिति सदस्यहरू काठमाडौं छाडेर जान थालेका छन्। अव्यवस्थित बसाइका कारण बिरामी हुने अवस्थामा पुगेको महासमिति सदस्यहरू बताउँछन्।

‘नेताहरूले खाना खुवाउने, नास्ता खुवाउने मात्र गरे। बिरामी बनाउने काम गरे। आधाजति घर फर्किसके’, झापाका महासमिति सदस्य रमेश श्रेष्ठ भन्छन्, ‘हामीलाई बिरामी बनाएर यहाँबाट फर्काएर एकलौटी पार्टी कब्जा गर्ने र कम्युनिस्टलाई सरकार बनाउने योजनामा हाम्रा नेता लागे।’

उनी पनि यस्तै अवस्था हो भने घर फर्कने योजनामा रहेको बताए। ‘अब यस्तै अवस्था हो भने कति बस्नु?’, उनले भने, ‘एक दिन सहमति गर्ने, अर्को दिन भाँड्ने। यसले गर्दा नेताको नैतिकता नै हरायो कि जस्तो लाग्न थाल्यो। अन्तिमसम्म कोही नहुने अवस्थामा पुर्‍याउने नेताहरूको चाहना हो। नेताहरू कांग्रेस बनाउन होइन, बिगार्न खोज्दै छन्।’

महासमितिको बैठक लम्ब्याउनुको मुख्य कारण सदस्यहरूलाई गलाउनु भएको कपिलवस्तुका महासमिति सदस्य रवि ठाकुर बताउँछन्। ‘नेताहरूले केन्द्रीय समितिमा विधानलाई रोकिरहने र महासमिति सदस्यहरूको खर्चले धान्न नसक्ने अवस्थामा पुर्‍याएर गलाउने अनि थोरै भएपछि आफ्नो कुरा पास गर्ने योजना बनाएका छन्’, उनले भने, ‘नभए त महासमितिमै वृहत छलफल गराएर निर्णय गराए त भइगयो नि! अब अन्तिमसम्म त काठमाडौं वरिपरिका मात्र होलान् अरू सबै जान्छन्।’

नेताहरू सत्ता र पदमुखी हुँदा अहिलेसम्म पार्टीलाई अनिर्णयको बन्दी बनाएको कास्कीका महासमिति सदस्य सोभियतबहादुर अधिकारी बताउँछन्। ‘नेताहरू सत्ता र पदमुखी भए र कार्यकर्ताचाहिँ पदमुखी भए। जनताचाहिँ प्रमुख प्रतिपक्षीले अब सरकारको गलत कामको विरोध गर्छ भन्नेमा आशामुखी छन्’, उनले भने, ‘पार्टीलाई नयाँ ऊर्जा दिएर जाने भनेको निराशा मात्र देखियो। आमजनता निराश र दुखी छन्।’

पार्टीका लागि संघर्ष गरेकालाई निराश बनाउन लागेको उनी बताउँछन्। ‘पदका लागि होइन, पार्टी र देश जोगाउन विपीको अवधारणामा काम गर्ने अहिले निस्क्रिय र निराश छन्’, उनले भने।

नेताका कारण विचल्लीमा पर्ने अवस्था आएको पर्साका महासमिति सदस्य श्याम पटेल बताउँछन्। ‘अहिले भएको घटना पार्टीका लागि दुखद् हो। पहिला नै केन्द्रीय समितिबाट पास गरेर महासमिति बोलाउनुपर्थ्यो’, उनले भने, ‘आएको एक हप्ता भइसक्यो। अब हामी विचल्लीमा पर्ने अवस्था आयो। सबै फर्किन थाले। सबै फर्किसकेपछि आफूअनुकूलको विधान ल्याउने नेताहरूको लक्ष्य देखियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.