|

पाँचथर : भाषा आयोगले पाँचथर र काभ्रेपलाञ्चोकमा मातृभाषामा आधारित बहुभाषिक शिक्षा कार्यक्रम कार्यान्वयनको तयारी गरेको छ। मातृभाषाहरूको विकासको स्तर मापन गरी शिक्षामा प्रयोगको सम्भाव्यताका लागि सरकारलाई सिफारिस गर्न जिम्मा पाएको आयोगले नमूनाको रूपमा पाँचथरमा फिदिम नगरपालिकाको तीन विद्यालयमा लिम्बू भाषा र सिरिजङ्गा लिपि र काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिकाको तीन वटा विद्यालयमा तामाङ भाषामा कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको हो।

सिकाई उपलव्धि अभिवृद्धिका लागि शिक्षण सिकाइमा मातृभाषाको प्रयोग विस्तार गर्न र भाषिक दक्षता अभिवृद्धि गर्न मातृभाषामा आधारित बहुभाषिक शिक्षा कार्यक्रमले टेवा पुर्‍याउने आयोगले विश्वास लिएको छ। यसका लागि आयोगले पाँचथरको फिदिम नगरपालिका–५ को महाकवि देवकोटा आधारभूत विद्यालय,वडा नम्बर–१० को याङ्नाम आधारभूत विद्यालय र वडा नम्वर–१२ को बुधुक आधारभूत विद्यालयमा लिम्बू भाषा र सिरिजङ्गा लिपीमा आगामी शैक्षिक सत्रदेखि पठनपाठन गरिने भएको छ। उता काभ्रेपलाञ्चोक जिल्लाको तिमाल गाउँपालिकाको वडा नम्बर ५ को नारायणस्थान मा.वि.,वडा नबर ८ को सेतीदेवी आधारभूत विद्यालय र वडा नम्बर २ को वालकल्याण प्रा.वि.मा भने तामाङ भाषाको माध्यमबाट पठनपाठन गरिने भएको भाषा आयोगको मातृभाषा शिक्षा शाखा प्रमुख (उपसचिव) लोकबहादुर लोप्चनले बताएका छन्। तर शिक्षाको माध्यम तामाङ भाषा भएपनि लिपिको निर्कोल नभएको बताए । ‘सम्भोटा कि तामयिग प्रयोग गर्ने निक्र्यौल भएको छैन।’ उनले भने, ‘माध्यममा लिपि आवश्यक नहोला  ऐच्छिक तामाङमा लिपि छँदै छ।’

यता, पाँचथरमा पहिलो वर्ष तीनवटै विद्यालयको कक्षा–१ मा सामाजिक विषय र वाल विकास केन्द्रहरूमा पनि लिम्बू भाषा र सिरिजङ्गा लिपिमा पाठ्यपुस्तक तयार गरी पठनपाठन गरिने भएको हो। त्यसपछि कक्षा तीनसम्म थपिँदै लगिने भएको छ। फिदिम १२ को बुधुक आधारभूत विद्यालयका प्रधानाध्यापक टेकबहादुर तावाहाङ यसरी बुहभाषिक शिक्षा प्रणालीमा गएपछि विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुनेमा विश्वस्त छन्। ‘आगामी शैक्षिक सत्र २०७६/०७७ देखि सामाजिक विषयलाई कक्षा १ मा बहुभाषिक शिक्षा प्रणालीमा लाने भन्ने कुरा छ। यो चाँही अत्यन्तै राम्रो महसुस गरेको छु।’ उनले भने, ‘यसपछि शैक्षिक गुणस्तर अवश्‍य पनि वृद्धि हुन्छ नै भन्ने विश्वास छ।’ 

चालू शैक्षिक सत्रमा पाठ्य सामग्रीदेखि बहुभाषिक शिक्षक निर्देशिकालगायतका आवश्यक सम्पूर्ण शैक्षिक सामग्रीहरू तयार गरिने भएको छ। स्थानीय सरकारहरू र भिएसओ नेपालको सहयोगमा भाषा आयोगले सम्बन्धित भाषिक शिक्षासँग जोडिएका सरोकारवालाहरूको सहभागितामा शैक्षिक सामग्रीहरू बनाएर पठनपाठनमा लैजाने भएको हो । चुनौतिपूर्ण जस्तो देखिएपनि कार्यक्रम कार्यान्वयन सहजतापूर्ण ढंगले हुने याङ्नाम स्रोतकेन्द्रका स्रोतव्यक्ति श्यामप्रसाद जबेगू बताउँछन् । ‘पर्याप्त मात्रामा मानव संशाधन छ। पठनपाठनका लागि आवश्यक पाठ्यपुस्तक सहितका पाठ्यसामग्रीहरू पनि छन् ।’ जबेगूले भने, ‘त्यसले गर्दा मातृभाषामा आधारित बहुभाषिक कार्यक्रम कार्यान्वयन गर्न सहज छ।’

सरकारलाई २१ भदौ २०७५ मा दोश्रो वार्षिक प्रतिवेदन बुझाउँदै भाषा आयोगले विद्यमान शिक्षा ऐनमा पुनरावलोकन गर्दै राष्ट्रभाषाहरूको पाठ्य सामग्रीमा स्थानीय ज्ञान,सीप,अभ्यास र वातवरणलाई समावेश गराउनु पर्ने सुझाव दिएको थियो। यसले मातृभाषामा आधारित बहुभाषिक शिक्षा कार्यक्रम प्रभावकारी हुने आयोगको ठम्याई छ। यससँगै आयोगले मातृभाषी बालबालिकाहरूलाई सुरूवातमा मातृभाषा हुँदै नेपाली–अंग्रेजी माध्यममा शिक्षा दिन सकिने जनाएको छ।

कार्यक्रमलाई प्राविधिक सहयोग गर्दै आएको भिएसओ नेपालका शिक्षा शाखा प्रमुख डा.आनन्द पौडेल भने विद्यार्थीहरू आफ्नो मातृभाषामा पढ्न पाउने भएकोले विद्यालय सहज ढंगले जाने र कक्षाकोठामा हुने शिक्षण सिकाई क्रियाकलाप अन्तरक्रियात्मक हुने भन्दै विद्यार्थीहरूमा सिकाई उपलब्धि हुने बताउँछन्। यससँगै गुणस्तरीय शिक्षा पनि हुने र सीमान्तकृत समुदायका बालबालिकाहरूको शिक्षामा पहुँज पनि बढ्ने दाबी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.