|

काठमाडौं : महासमिति बैठकमा पेस हुने मुख्य दस्तावेज विधान मस्यौदा धेरै प्रयासपछि अन्ततः केन्द्रीय समितिबाट सर्वसम्मत पारित भयो। पटक कटक सहमति हुँदै र भाँडिँदै आएको विधान मस्यौदामाथि यस पटक पनि सहमति हुने सम्भावना निकै कम थियो। मुख्य गरी पदाधिकारीमा देखिएको विवाद मिलाउन अन्त्यमा चार नेताहरू मियो बने र सहमति जुट्यो।  

उपसभापति विमलेन्द्र निधिले १४ पदाधिकारीको प्रस्ताव गरेको थिए। अन्तत: यही प्रस्तावलाई केन्द्रीय समितिले पारित गर्‍यो। उपसभापति निधिले सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्षको प्रस्ताव गरेका थिए। 

यसमा कोषाध्यक्षबाहेक सबै निर्वाचित गर्ने र सहमहामन्त्रीलाई समानुपातिक बनाउने निर्णय भएको छ। कोषाध्यक्ष र एक प्रवक्ता निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचनकै माध्यमबाट चुनिनेछ। कांग्रेसको विधान मस्यौदाअनुसार अब १६७ जनाको केन्द्रीय समिति हुनेछ।

महाधिवेशनबाट निर्वाचित पदाधिकारी १३, समावेशीमा दलित नौ, मधेसी नौ, आदिवासी १५, खसआर्य १३, थारू चार, मुस्लिम तीन र अल्पसंख्यक एक गरी ५४ जना समावेशी हुनेछन्। यस्तै, पेसाकर्मीका तर्फबाट एक र विपन्न वर्गका तर्फबाट एक रहनेछन्। सभापतिले ३३ जना (२० प्रतिशत) मनोनीत गर्न पाउनेछन्। 

३५ जना खुला सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित तीन गरी २१ जना, खुलातर्फ महिला नौ जना रहनेछन्। यसअघि पनि पटक पटक सहमति तोडिएको भन्दै शीर्ष नेतामा भएको आन्तरिक सहमति पनि लिखित रूपमै भएको थियो। देउवा समूहका उपसभापति निधिको प्रस्तावमा असन्तुष्ट समूहका नेता प्रकाशमान सिंहले समर्थन गरेका थिए। ‘यो समझदारीमा मलाई आपत्ति छैन, संसदीय बोर्ड केन्द्रीय समिति भन्दा छुट्टैबाट बनाइनुपर्छ’, सिंहले लिखित सहमतिमा भनेका छन्। 

यसरी जुट्यो सहमति

यसअघि पनि तीन पटकसम्म सहमति भएको थियो तर राती सहमति हुने र बिहान भाँडिँदै आएको थियो। यसअघि सोमबार १२ पदाधिकारी बनाउने सहमति भएको थियो भने मंगलबार बिहान उक्त सहमति भाँडिएको थियो। मंगलबार साँझ पनि आठ जना पदाधिकारी राख्ने र कोषाध्यक्षबाहेक सबै निर्वाचित गर्ने सहमति भएको थियो। 

तर सभापति शेरबहादुर देउवाले उक्त सहमति नमान्दा निर्णय हुन सकेन र उक्त सहमति भाँडियो। बिहीबार बिहान आएको १३ पदाधिकारीको प्रस्ताव पनि निकै लामो र रस्साकस्सीपछि सहमति भएको थियो। यो प्रस्तावमा देउवा सहमत देखिँदैन थिए। त्यस कारण प्रस्ताव आएको २४ घण्टामा मात्र यो निर्णय भएको हो। यो निर्णयप्रति सभापति देउवा समूह सन्तुष्ट छैन। सभापति देउवाले उपसभापति र महामन्त्रीमध्ये एक जना मनोनीत गर्न चाहन्थे। यसै कारण बिहीबार साँझ सहमतिका लागि निकै अप्ठ्यारो अवस्था आएको थियो। 

यो अवस्था आएपछि गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई अनिर्णयको बन्दी बनाउनबाट जोगाउने योजना बनाए। उनीहरूले देउवा समूहबाट सुरेन्द्र पाण्डे, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट नवीन्द्रराज जोशी, नेता सिटौला समूहबाट थापा र प्रवक्ता शर्माको टोली बनाए। उक्त टोलीले पार्टीमा विधानमस्यौदामाथि देखिएको असहमति हटाउनका लागि मध्यमार्गी बाटो तय गर्ने निर्णय गर्‍यो। त्यहीअनुसार उनीहरूले नेतालाई मिल्न चेतावनी पनि दिए। नमिले युवा नेताहरू आफैँ मस्यौदालाई अन्तिम टुंगो लागाउने चेतावनी दिए। उनीहरूले शीर्ष नेतालाई भने, ‘तपाईंहरूको नाटकले लाज लाग्ने भइसक्यो, अब सहमति गर्नुहुन्छ भने गर्नुहोस्, होइन भने हामी अघि बढ्छौँ।’

बिहीबार दिनभर महासमिति बैठक नबस्दा महासमिति सदस्यहरूले पनि युवा नेतालाई अघि बढ्न भन्दै दबाब दिइरहेका थिए। युवालाई पार्टीमा हस्तक्षेप गर्नुपर्ने दबाब बढेपछि उनीहरूले नेतृत्वमाथि पनि दबाब बढाएका थिए। त्यहीअनुसार बिहानै नेताहरू पाण्डे, जोशी, थापा र केसी पार्टी केन्द्रीय कार्यालय पुगे। नेताहरूले बिहानसम्म सहमति नगरे बसेर खाका तयार गरेर पत्रकार सम्मेलनको तयारी गरेका थिए।  

प्रवक्ता शर्माले सुरुमा प्रवक्ताको हैसियतले महासमिति बैठक स्थलमा बनाइएको ‘मिडिया सेन्टरमा’ पत्रकार सम्मेलन गर्ने र त्यसपछि युवा नेताको हैसियतमा लगत्तै छुट्टै ठाउँमा पत्रकार सम्मेलन गर्ने योजना बनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.