|

इलाम : इलाम भन्नबित्तिकै धेरै सम्झना गर्दछन् चियाबारीको। यहाँका थुम्काथुम्का र पाखाहरुमा चियाका बोटले चिटिक्क सिँगारेका छन्। त्यसैले त प्रकृतिको काखमा रमाउनेहरु इलामलाई स्वर्गको एक टुक्राको उपमा दिन्छन्। त्यही सुन्दर चियाबारीमध्ये कन्यामको विशेषता अझ उँचो छ।

सूर्योदय नगरपालिकाको मेची राजमार्ग खण्डमा पर्ने कन्याम जाडो र गर्मी दुवै याममा घुम्न सकिन्छ। तराईमा शीतलहर चलिरहेका बेला यहाँ घमाइलो हुन्छ। त्यस्तै, गर्मीका बेला त झन् शीतलमा रमाउनेहरुको रोजाइको क्षेत्र हो।

यहाँको मौसम छिनछिनमा परिर्वतन भइरहन्छ। यहाँको चियाका बुटाहरु कहिले कुहिरोको अँगालोमा कसिन्छन् त कहिले घामका पारिलो तापलाई स्वागत गर्दछ। हरिया गलैंचा झै लाग्ने चियाबारीको दृश्य हेरे हत्तपत्त धित मर्दैन। यति मात्र होइन, उत्तरतिर आँखैअघि हिमश्रृंखला र दक्षिणतर्फ तराईका फाँट देख्न पाइन्छ।

कन्यामले बाह्रै महिना पर्यटकहरुलाई स्वागत गरिरहेको हुन्छ। शनिवार वा सार्वजनिक बिदाका दिन बिदा मनाउनेहरुको घुइँचो नै लाग्ने गर्दछ। चियाबारीबीचमा पर्ने नागबेली मेची राजमार्ग कम आकर्षक छैन। 

सुन्दर कन्याम युवायुवतीहरुको आकर्षक ‘डेट’ स्थल पनि हो। चियाको कलकलाउँदो मुना झैं मायाका अँकुर पलाउँदै गरेका जोडीहरु पनि यहाँ रमाउने गर्दछन्। फोटो खिच्नेहरुको लागि पनि उत्तिकै आकर्षक स्थलको रुपमा कन्यामलाई लिइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.